बुटवल । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले मुलुकको समग्र विकासका लागि महिला नेतृत्व आवश्यक रहेको बताएका छन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन सके मुलुकको बिकास सम्भव रहेको उनले बताए ।
मानव अधिकारको क्षेत्रमा काम गर्ने लुम्बिनी प्रदेशका करिब ४० वटा विभिन्न संघ संस्थाको संयुक्त आयोजनामा रुपन्देहीको तिलोत्तमामा शुरु भएको दिगो बिकासका लागि महिला नेतृत्व विषयक दुई दिने महिला मञ्च २०८० लाई आईतबार सम्बोधन गर्दै गिरीले सो कुरा बताएका हुन् । पूर्व मुख्यमन्त्री गिरीले प्राकृतिक रुपमा महिलाहरु अझै धेरै जोखिममा रहेको बताउँदै सन्तान उत्पादन गर्ने क्षमता महिलाहरुमा मात्रै भएको र त्यो भार पुरुषले झेल्नु नपर्ने भएकाले यो बिषयमा राज्यले विशेष नीति, कानुन निर्माण गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
महिलाहरुको प्रयास र आन्दोलन निरन्तर रुपमा अगाडि बढीरहनु पर्ने उनले बताए । मुख्यमन्त्री गिरीले तिनै तहका सरकारले रोजगारी सिर्जना गर्ने गरि अबको योजना बनाउन आवश्यक रहेको बताउँदै महिलाहरुले दिएको योगदानको राज्यले कदर गर्नुपर्ने बताए । उनले सबैको समान स्तरको उन्नति गर्नका लागि राजनितिक परिबर्तन गरेको बताउँदै विशेष गरि महिलाका मुद्दामा लुम्बिनी प्रदेशमा कानुन निर्माणमा जोड दिने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका संस्थापक अध्यक्ष महिला अधिकारकर्मी डा. रेणु अधिकारीले असमान शक्ती सम्बन्धका बारेमा खुलेर छलफल गर्न आवश्यक रहेको बताइन ।
'न्याय, समानता र पर्यावरणीय अधिकारमा सुनिश्चितता : सामाजिक रुपान्तरण सहितको दिगो विकासको निश्चितता' भन्ने मुख्य नारा तय गरिएको कार्यक्रममा बोल्दै अधिकारीले महिलाहरुको समान सहभागिता र महिला नेतृत्व अबको आवश्यकता रहेको बताइन ।अधिकारीले पाएका महिला अधिकार पनि कार्यान्वयन हुन नसकेको बताइन ।
कार्यक्रममा बोल्दै यौनिक तथा लैंगिक अल्पसंख्यक, ओरेक नेपालका केन्द्रीय सल्लाहकार भुमिका श्रेष्ठले महिला र पुरुष मात्रै भनिरहँदा अल्पसंख्यक समुदायका समस्या र मुद्दा ओझेलमा पर्ने गरेको बताइन । श्रेष्ठले सबै नागरिकलाई उत्तिकै सम्मान सहितको अधिकार स्थापित हुनुपर्ने बताइन । राष्ट्रिय अपाङ्ग महासंघका संघीय सदस्य अपाङ्गता अधिकारकर्मी साबित्रा घिमिरले अपाङ्गता भएका महिला बालबालिकाहरुका समस्या अझै सम्बोधन हुन नसकेको बताइन । "बिभिन्न प्रकारका अपाङ्गता भएका नागरिकहरु छन्, उनीहरु आफै हिंसा प्रतिकार गर्न सक्दैनन्, आफ्नो अधिकार के हो ? भन्ने समेत जानकारी पाउनबाट बञ्चित छन् ।"-घिमिरेले भनिन् ।
किशोरी अधिकार मञ्च रुपन्देहीका कोषाध्यक्ष सालिनी मिश्राले किशोरीहरुले नेतृत्व बिकासका विषयमा अग्रसर हुन थालेको बताइन। बिभिन्न हानिकारक सामाजिक मुल्य मान्यतालाई चिर्दै समृद्ध समाज निर्माण हातेमालो गर्ने प्रतिबद्धता ब्यक्त गरिन । दुई दिनसम्म चल्ने महिला मञ्चमा बिभिन्न ३ विषयमा छलफल हुने छ । आइतबार “शरिर मेरो, नियन्त्रण कसैको”-विषयक शिर्षकमा प्यानलिष्ट छलफलमा सहभागी हुँदै जनप्रतिनिधि इन्द्रा गहतराजले महिलाहरु आफ्ना आधारभूत अधिकारबाट समेत बञ्चित हुनुपरेको बताए । मिनाक्षी न्यौपानेले सहजीकरण गरेको छलफलमा मानवशास्त्री तथा अध्येता रामचन्द्र श्रेष्ठ, घोराई उपमहानगरपालिकाका उप प्रमुख हुमा कुमारी डिसी, अधिकारकर्मी रुकैया खातुन, किशोरी शालिनी मिश्रा लगायत सहभागी थिए ।
सोमबार संक्रमणकालिन न्याय र चुनौती र रुपान्तरित नेतृत्वका सवालहरु विषयमा छलफल हुनेछ । कार्यक्रममा लुम्बिनी प्रदेशका महिला प्रदेश सभा सदस्य, प्रदेशका १२ वटै जिल्लाका १०९ स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, अधिकारकर्मी, किशोरी सुरक्षा निकायका प्रतिनिधि र बिभिन्न संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको कार्यक्रमले लुम्बिनी घोषणा पत्र २०८० निर्माण गर्नेछ ।
प्रतिक्रिया