ताजा अपडेट »

घर घरमा शिक्षा” लागु गर्न अगुवाहरुको शपथ

आइतबार, २४ बैशाख २०८०

भैरहवा । पाठ्क्रममा वर्तमान समय अनुसार समावेशीता र विविधता समावेश गर्न शैक्षिक अगुवाहरुले बिचार राखेका छन् । अहिले पनि मानिसको जात जाति, लिङ्ग एवम अवस्था लगायतका बिषयहरु झल्किने गरि पाठ्यक्रमहरु निर्माण भैरहेको बताउदै उनिहरुले स्थानीय परिवेश अनुसार यसको परिमार्जनको अवश्था औल्याएका छन् । सिद्धार्थनगर नगर पालिका, घर घरमा शिक्षा र राष्ट्रिय मानवअधिकार आयोग नेपालको आयोजनामा आईतबार भैरहवामा सम्पन्न भएको नगर स्तरिय नागरिक सम्मेलनमा बोल्दै वक्ताहरुले पाठ्यक्रम परिमार्जनको कुरा उठाएका हुन् । अक्षर मात्र नभई समयानुसारको डिजिटल, व्यवहारिक र समावेशी शिक्षा प्रदान गर्नका लागि स्थानीय सरोकारवालाको सुझाव संकलन गर्ने उद्देश्य सहित सम्मेलन गरिएको थियो ।

घरघरमा शिक्षा नागरिक सम्मेलनका संस्थापक होमराज आचार्यले सिकाई चुनौतीको बारे जानकारी हुन आवश्यक रहेको बताए । उनले अहिलेको समयमा अक्षर चिनेकालाई मात्र साक्षर नमानिने जिकिर गरे । “स्थानिय तहहरु अहिले आफ्नै पाठ्यक्रम बनाएर अगाडी बढ्नु पर्ने छ, यसको लागि उनिहरुको क्षमता अभिवृद्धि आवश्यक रहेको छ ।” आचार्यले भने “स्थानिय तहहरुले स्थानिय आवश्यकताकै आधारमा पाठ्यक्रम निर्माणको काममा हामीले सहयोग गर्ने हो ।

” उनले वर्तमान समय अनुसार डिजिटल साक्षरता जरुरी रहेको बताए । सिकाई सम्बन्धि चुनौंती रहेको बताउदै उनले शिक्षकलाई सिकाई चुनौंतीबारे तालिम दिन आवश्यक रहेको औल्याए । वर्तमान अवश्थामा पाठ्यक्रमहरुको सामाजिक परिक्षण आवश्यक रहेको र यो सिद्धार्थनगर नगर पालिकाबाट सुरुवात गरिएको आचार्यले बताए । सिद्धार्थनगर नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत नवराज पौडयालले नगरपालिकाले आफ्नै पाठ्यक्रम तयार गर्ने प्रक्रियामा रहेकोले शिखर सम्मेलनले सहयोग पु¥याउने बताए ।

नगरमा रहेका सामुदायिक विद्यालयमा एकदेखि आठ कक्षाका लागि स्थानीय पाठयक्रम तयार गरिसकेको छ । उक्त पाठ्यक्रमलाई समसायिक तुल्याएर पुस्तक छाप्ने तयारी भइरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेलले जानकारी दिए । सम्मेलनमा नगरका नगर प्रमुख ईस्तियाक अहमद खाँन, उप–प्रमुख उमा अधिकारी, १३ वटै वडाका जनप्रतिनिधि, शिक्षाबिद, प्राध्यापक, विभिन्न सामुदायिक तथा निजी विद्यालयका शिक्षक–शिक्षिका, वडामा रहेका बाल क्लबका प्रतिनिधि, सरोकारवाला र स्थानीय सहभागी थिए ।