ताजा अपडेट »

पाल्पाको तिनाउमा महिलाहरुका लागि व्यवस्थापन तालिम

आइतबार, २४ बैशाख २०८०

तिनाउ । पाल्पाको तिनाउमा महिला समन्वय समिति, तिनाउ–२ संयोजन र व्यवस्थापनमा समूह सञ्चालन र व्यवस्थापनका लागि क्षमता अभिवृद्धि तालिम आईतबारदेखि दोभानमा सुरु भएको छ । तलिममा समूह सञ्चालनका आधार, समूह व्यवस्थापनका पक्ष, क्षमता, यसलाई अभिवृद्धि गर्ने तरिका र अभ्यासका सन्दर्भमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका छन् ।

त्यसैगरी सामाजिक उत्प्रेरक राजेश श्रेष्ठले समूहको योजना तर्जुमा गर्ने विधि, योजना निर्माणका आवश्यकता र विषयवस्तुका साथै योजना कार्यान्वयनका विविध पक्षका सन्दर्भमा प्रशिक्षण दिएका थिए । तालिममा तिनाउ गाउँपालिका वडा नं २ भित्र रहेका १७ वटा महिला समूहका ३० जना महिला नेतृत्वको सार्थक सहभागिता रहेको उक्त तालिमलाई आर्थिक सहयोग भने तिनाउ गाउँपालिकाले गरेको छ । भोलि सोमवारसम्म चल्ने उक्त तालिममा समूहको सुशासन, समूहलाई उद्यमशीलतातर्फ उन्मुख गराउने विधि एवम् समूह सशक्तीकरणका विषयमा प्रशिक्षण दिईने उक्त वडाकी महिला सदस्य भवानी न्यौपानेले बताईन् ।

तालिमको समापन सोमवार तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गर्ने समन्वय समितिकी अध्यक्ष हरिकला कुमालले जानकारी गराईन् ।