ताजा अपडेट »

सम्झनामा सिरुबारी

शुक्रबार, २२ बैशाख २०८०

स्याङ्जाको म्हाँजु भञ्ज्याङ्ग पुग्दा दिउँसोको तीन बज्दै थियो । हामी त्यहाँ पुग्न स्याङ्जाको नाउडाँडाबाट उत्तरपश्चिम हान्निएका थियौं । आँधिखोला गाउँपालिकाको वडा नं. १ मा पर्ने उक्त ठाउँमा नयाँ बनेको पार्क र स्वागत गेटको उद्घाटन कार्यक्रम रहेछ । प्रमुख अतिथि, अतिथिहरुका साथ स्थानीय युवा क्लव र महिला समूहको सार्थक सहभागितामा कार्यक्रम भव्यरुपले चलिरहेकै थियो । स्थानीय महिला समूहका दिदीबहिनीहरुले मादल बजाउँदै प्रमुख अतिथि र अतिथिहरुलाई प्रशंसा गर्दै गीत गाइरहेका थिए ।

बैसाखको १५ गते शुक्रवार । चिसो सिरेटोले आफ्नै नाक र कान आफ्नै होइन कि भन्ने संकेत गराइ रहेको थियो । स्थानीय दिदीबहिनीहरुको कार्यक्रममा कलाकार बेनु थापा,मणि,उनका जहान बिना मज्जाले नाँचे । सीता,शुभद्रा, भिष्मराज लगायतका साथीहरुले दमदार नृत्य गरे । चिसो सिरेटोसँगै नाँच्दा उनीहरुका जिउ ताते होलान् ।

गाउँमा पुराना सामग्रीहरु संकलन गरी राखिएको सानो संग्रहालय छ । गुम्बा छ । ग्रामीण पर्यटनका अग्रज क्या.रुद्रमानको अर्धकदको शालिक छ । जिउँदो इतिहास बोकेको र होमस्टेको पाठशाला हो सिरुबारी ।

आँधिखोला गाउँपालिका र नेपाल पर्यटन बोर्ड,काठमाडौंको संयुक्त प्रयासमा २५ लाखको खर्चमा म्हाँजु भञ्ज्याङ्ग पर्यटकीय पैदल मार्ग तथा पार्क निर्माण कार्य सम्पन्न भएको अवसरमा उक्त स्थानमा भव्य कार्यक्रम भएको रहेछ । केहीछिनको बसाइपछि हामीहरु पञ्चमूल गाउँमा रहेको सिरुबारी ग्रामीण पर्यटनको केन्द्र एवम् होमस्टे गाउँ पुग्यौं ।

हामीलाई स्थानीय साथीहरुले पञ्चेबाजा बजाएर एवम् फूलमाला लगाएर भव्य स्वागत गरे । त्यो स्वागतसँग गाउँको गुम्बामा लगेर खाजा( मकै,आलुको अचार र रातो चिया) खुवाए । हाम्रो मन फुरुङ्ग भो । पञ्चेबाजाको स्वागतसँगै हाम्रा साथी आँधिखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेल नाँचे । हजारको नोटले बाजा बजाउने कालाकारको टोपीमा सिउरिने अवसर पायो । त्यो नोट सिउराउने उनै विश्व थिए ।

No description available.

नेपालकै पहिलो ग्रामीण पर्यटनको केन्द्र सिरुबारी पुग्दा धेरै साथीहरु खुसी भएका देखिन्थे । गलामा फूलका माला,भव्य स्वागत र नृत्यले साथीहरुलाई मज्जा नै आएको थियो । मभने उक्त गाउँमा पहिले दुईपटक पुगिसकेको कारण गाउँका बारेमा धेरै थाहा पाइसकेको थिएँ । तेस्रोपटक गाउँमा पुग्दा धेरै नयाँ कुराभन्दा पनि पुराना यादहरुले सताइरह्यो । २०५२/०५३ मा बुटवलमा सिएमए पढेका हामी साथीहरुको दोस्रो पुनर्मिलन कार्यक्रम र केही नयाँ विषयमा छmलफल गर्ने हेतूले हामीहरु त्यहाँ पुगेका थियौं । हामीलाई फूलमाला र बाजालेमात्र होइन हावाहुरी अनि पानीले समेत भव्य स्वागत गरेको थियो ।

होमस्टेको नियम अनुसार हामीहरु ८ जनाका दरले फरक फरक घरमा बाँडियौं । हाम्रो समूहमा ईश्वरबहादुर राना,इश्वरी पाण्डेय, दिनानाथ, महेश, मदन पुन, बेनु थापा, म र सवारी चालक समेत परियो । होमस्टे नं. २९ मा माया गुरुङको घरमा हामीले अड्डा जमायौं । पानी परेकै कारण जाडो थियो । एक हजार ६ सय १० मीटर उचाइँमा रहेको सिरुबारीमा अरुबेला के कसो हुन्थ्यो थाहा भएन तर त्यो रात हामीले सिरक ओढेर सुत्न बाध्य भयौं ।

No description available.

भुटेको मकैं, भटमास, काँक्रा धित मरुञ्जेल खायौं । मन पार्ने साथीहरुले हल्का कोदोको तेल सेवन गरे । ८ नबज्दै खाना खाइयो । पर्यटन गाउँमा पुगेरपनि खानासँगै ब्रोइलर कुखुराले छाडेन । आलु,अचारसँग खाना खाइयो । गएको दुई महिना अघि ग्रामीण पर्यटन एवम् होमस्टेको रजतवर्ष मनाएको यो गाउँमा स्थानीय उत्पादनमात्र होइन गाउँलेहरु सहरिया र परदेशी हुने संस्कारले अझै छाडेको रहेनछ । युवाहरु सहर र परदेशमा अनि गाउँले बाबाआमाले होमस्टे धान्नुपर्ने दिन आएपछि समग्रमा हाम्रो देशको प्रतिविम्व यही देखियो । ८६ वर्षका चन्द्रबहादुर गुरुङले सालेजो गीत गाउँदा उनको गीतलाई छोपिदिने युवाहरु नहुँदा संस्कृति पुस्तानान्तरण हुने कुनै संकेत देखिएन ।

उर्मिला बैनी,आफैले कार्यक्रम सञ्चालन गरेकी थिइन् । आफैले नृत्य गरेकी छिन् । यो परिवेशले के संकेत गरिरहेको छ मैले लेख्न पर्ने छैन । झन्न ती बैनीहरु गाउँमा छन् र गाउँको होमस्टेले सुखको थोरै मएपनि सास फेरेको छ । डेक बजाएर भएपनि नृत्य गर्ने अवसर जुरेको छ । गाउँका दिदीबहिनीहरुले लोकसंस्कृति, जातीय संस्कृतिलाई जोगाउने संकल्प त गरेका छन् तर गाउँमा नभएका चेलीबेटीबाट सम्भव भएन । अनि छिमेकी फरक जातिका दिदीबहिनीहरुलाई साथ लिनुपरेको कुरा ढाँट्नै पर्दैन ।

साथी विश्वले कविता सुनाए । अर्जुन र जगन्नाथले भिडियो खिचे । नृत्य गर्न कोही छुटेनन् । मैले भने ताली बजाएर सांस्कृतिक कार्यक्रमलाई सहयोग गरें । केही क्षण दोहोरी गीतमा हानाहान भयो । रमाइलोलाई बीटमार्दै हामीहरु होमस्टेतिर सुत्न गयौं । गाउँमा पुराना सामग्रीहरु संकलन गरी राखिएको सानो संग्रहालय छ । गुम्बा छ । ग्रामीण पर्यटनका अग्रज क्या.रुद्रमानको अर्धकदको शालिक छ । जिउँदो इतिहास बोकेको र होमस्टेको पाठशाला हो सिरुबारी । विगत २५ वर्षदेखि अनेकौं प्रयास भएका छन् । गाउँमा पक्की बाटो पुग्दैछ । विजुली छ र सोलारको समेत उचित प्रवन्ध छ । सीसी क्यामेरा जडान छ । इन्टरनेट सेवा सुविधा छ । पाहुनालाई स्वागत र नृत्य कार्यक्रम गर्नका लागि गुम्बाका अघि फराकिलो आगन छ ।

No description available.

नुहाउनका निम्ति चिसो, तातो पानीको प्रवन्ध होमस्टेले नै व्यवस्था गरेको छ । एक रात सुतेको,एक छाक खाएको,विहानको एकप्रहर नास्ता, स्वागत, बाजा र नृत्य हेरेको गरी एकजना पाहुनाले सिरुबारीमा एक हजार चार सय रुपैयाँ नगद बुझाउनुपर्ने नियम रहेछ । विहान ७ वजेतिर टेवलमा अण्डा,कोदोको रोटी,आलु र एक गिलास दूध आइपुग्यो । विहानको खाजा खाइयो । फोटो खिचियो । रमाइलो मानियो ।

देशका धेरै स्थानहरुमा ग्रामीण पर्यटन एवम् होमस्टेको प्रारम्भ भएका छन् । कतिपय स्थानमा रहरले भएका छन् । कतिपय स्थानमा होमस्टे चल्न सकिरहेका छैनन् । भौतिक पुर्वाधार, स्थानीय उत्पादन र सेवा, स्थानीय मौलिक संस्कृतिलाई व्यवस्थित तरिकाले परिचालन गर्न नसक्दा नेपालमा खुलेका धेरै होमस्टेहरुले हावा खाने अवस्था व्यहोरिरहेका बेला सिरुबारी होमस्टेले स्थापनाको रजत महोत्सव मनाइरहँदा हामीहरु खुसी हुनुपर्छ नै ।

स्थानीय पर्यटन बोर्डका संयोजक जितेन्द्र गुरुङको लगाव र मिहिनेतलाई नजरअन्दाज गर्न मिल्दैन । उनको परिश्रमलाई मलजल गर्न थप योजना र कार्यक्रमका साथ स्थानीय सरकार, प्र्रदेश सरकार र केन्द्रीय सरकारले मद्दत पुराउनु पर्नेछ । हामीहरु बैसाख १६ गते विहान गुम्बा अघि विदा हुन जम्मा भयौं । हजुरआमाले हातमा फूल दिदैं फेरि आउन निम्तो दिदै थिइन् । काठमाडौबाट आएका ध्रुव बराल, विमला रायमाझी, सिर्जना खरेल लगायतका साथीहरुसँगै फोटो खिच्ने साथीहरुको लर्को लागेको थियो । रातिको पानीले बाटो चिप्लो भएको कारण भागिरथ, राजकुमार श्रेष्ठ र नारायणको कारलाई केही समस्या पर्छ कि भन्ने डर थियो तर खासै समस्या परेन । म्हाँजु भञ्ज्याङ्गमा केहीबेर फोटो सेसन गरेका थियौं ।

भञ्ज्याङ्ग तलपट्टि आएर ब्लू हेवन होमस्टेमा केहीबेर दोस्रो पुनर्मिलन कार्यक्रममा सहभागी भयौं । करिव एकघण्टा जति परिचयको श्रृङ्ला चलिरह्यो । साथीहरुका प्रगति सुनेर खुसी लाग्यो । आआफ्ना सन्तानका सुखका कुरा सुनाइरहँदा कार्यक्रम थप रमाइलो भयो । पुनर्मिलन कार्यक्रममा मणिले इन्जिनियरिङ्ग पढ्दै गरेका छोरालाई सहभागी गराएका थिए । शुभद्राले स्नातक पढेको छोरालाई साथमा लगेकी थिइन् । प्रतिष्ठान बनाउने बारेमा केही विचारहरु मैले प्रस्तुत गरेको थिएँ । होमस्टे सञ्चालक दाजुले सारगर्वित सन्देशसँगै टीका र खादाले विदाइ गरे हामीलाई । अनि कलाकार बेनु थापाले ढुङ्गामा सिएमए २०५२/०५३ व्याचको लोगो तयार बनाएर हामीलाई हस्तानान्तरण गरे । सो लोगो आँधिखोला गापामा सुरक्षित हुने सपना बुनेका छौं ।

No description available.

साथीहरुले आगामी वर्ष प्युठानको स्वर्गद्वारीमा हुने तेस्रो पुनर्मिलनमा थप छलफल गर्ने मनसाय प्रस्तुत गरेपछि खाना खाइवरी आँघिखोला गाउँपालिका भवनमा पुग्यौं । हाम्रो पुनर्मिलन कार्यक्रमलाई व्यवस्थापन र संयोजन गरिदिने हाम्रा साथी एवम् सोही पालिकाका अध्यक्ष विश्वनाथ पौडेललाई विशेष धन्यवाद र आभार प्रकट गर्दै हामीहरु विदा भयौं । केही साथीहरु पोखरा हुँदै काठमाडौ लागे । हामीहरु भने बुटवलतिर फर्कियौं । २८ वर्ष अघि सिएमए पढेका साथीहरुले गरेको उक्त दोस्रो पुनर्मिलन कार्यक्रम रहर लाग्दो र चीरस्मरणीय रह्यो । सिरुबारीलाई आँखामा सजाएका छौं । कहिले नबिर्सिने कसम खाएका छौं ।