भैरहवा । आफ्नो क्षेत्र भित्र रहेका सार्वजनिक जग्गा, मठ–मन्दिर, पोखरीको संरक्षण गर्नु सम्बन्धित पालिकाको दायित्व हो । यसको खोजी तथ्य जाँच र संरक्षणमा स्थानीय तहले अपनत्व लिनु पर्ने हुन्छ । तर पालिकाले नै यसलाई जोगाउनुको सट्टा व्यक्तिगत स्वार्थमा सार्वजनिक सम्पत्ति विक्रि गर्न खोजेपछि स्थानीयले बिरोध गरेका छन् ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष र स्थानीय ठेकेदार मिलेर सार्वजनिक पोखरी उत्खनन् गरेको भन्दै स्थानीयले गाउँपालिकाको कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिका अध्यक्षले सार्वजनिक पोखरीको माटो ब्यक्तिगत स्वार्थको लागि बेचेको धकधईका अगुवाहरुको आरोप रहेको छ । रोहिणी गाउँपालिका–३ अन्तर्गत धकधईमा रहेको सार्वजनिक पोखरीमा माटो उत्खनन् गरिरहेको अवस्थामा स्थानीयहरुले १० वटा टिप्पर, १ लोडर मेशीन र गाउँपालिका अध्यक्षकै ट्रयाक्टर नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । यी सबै मेशीनरीहरु मिलेर उक्त पोखरी १० फिट बढी खनेका छन् । ईलाका प्रहरी कार्यालय धकधईले पनि सो अनुसारको टिप्पर, ट्रयाक्टर र लोडर नियन्त्रणमा लिएको जनाएको छ । सबै गाडीहरु अहिले ईलाका प्रहरी कार्यालयकै हातामा राखिएका छन् ।
स्थानीय अगुवा समेत रहेका नेपाली कांग्रेसका क्षेत्रीय सचिव बैजनाथ सहानीले २ दिनदेखि अवैध रुपमा उत्खनन् गरिहरहेका उक्त गाडीहरुलाई नियन्त्रणमा लिएको जनाए । उनले यसमा गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवकै संलग्नता रहेको दावी गरे । “उत्खनन् गरिरहेका ठेकेदारलाई मैले सम्पर्क गरि बुझेको थिए, उनले गाउँपालिका अध्यक्षको स्विकृतिमा माटो निकाल्ने काम गरिएको बताए ।” सहानीले भने “उनको स्विकृति नभए यसरी उत्खनन् कसरी हुन्छ ।”
गाउँपालिका अध्यक्षले नै निजि स्वार्थमा लागेर माटो बेचेको आरोप लगाउँदै स्थानीयहरुले गाउँ कार्यपालिकाको कार्यालय र वडा नम्बर ३ को कार्यालयमा तालाबन्दी गरेका छन् । निर्वतमान गाउँपालिका अध्यक्ष समेत रहेका स्थानीय सनोज कुमार यादवले गाउँपालिका अध्यक्ष विद्या यादवले सार्वजनिक पोखरीको माटो बेचेको आरोप लगाए । “पोखरी नजिकै १५ शैय्याको अस्पताल निर्माण गर्ने योजना थियो, उनले माटो बेचेर अस्पताल बनाउने हो ?” यादवले भने “कुस्तीको लागि बनाईएको अखडाको माटो समेत उनले बेचेर खाए, यो तालले गाउँपालिका कसरी चल्छ ?”
माटो उत्खनन्को बिषयमा आफुहरुलाई पनि जानकारी नभएको वडा अध्यक्षहरुको भनाई छ । गाउँपालिकाको प्रवक्ता समेत रहेका वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्रीले पोखरीहरु सुन्दरीकरणको लागि कार्यपालिकाको निर्णय भए पनि यसलाई कार्यविधि बनाएर अगाडी बढ्ने सल्लाह भएको बताए । उनले उत्खनन् गरिरहेका पाइएकोले वडा कार्यालयले त्यसलाई रोकेको दावी समेत गरे ।
यता रोहिणी गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले यसलाई राजनैतिक पूर्वाग्रहका साथ हेरिएको गुनासो गरेका छन् । उनले गाउँपालिकाले यस बिषयमा कुनै प्रकारको स्विकृति नदिएको बताए । “मेरो समेत मिलेमतो रहेको आरोपहरु राजनैतिक पूर्वाग्रह राखी लगाईएको हो ।” यादवले भने “नियन्त्रणमा लिईएका सबै गाडीहरुलाई नियम अनुसार जरिवाना गरिनेछ ।”
प्रतिक्रिया