महोत्तरी । महोत्तरीको बर्दिबास पशुपतिनगरका किसुन्देव महतो आफ्नो घर नजिकैको इनार सुकेपछि खानेपानी लिन दैनिक एक किलोमिटर ओहोरदोहोर गर्दछन् । इनारकै भरमा खेतीपातीसमेत गर्दै आएका महतोले हिजोआज तरकारी मात्र हैन पानीकै अभावले अन्य खेतीपाती समेत गर्न पाएका छैनन् ।
पानीको समस्या समाधान नगरेपछि उनी जनप्रतिनिधिप्रति आक्रोशित छन् । ‘पानी खुवाउने विषयलाई नै एजेण्डा बनाएर चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल पनि एक वर्ष हुन लागिसक्यो । तर, खानेपानीको व्यवस्था गर्ने योजनासमेत उनीहरूले भुले,’ महतोले गुनासो गरे । किसुनदेव महतोको जस्तै पशुपतिनगरका यतिबेला धेरै स्थानीयहरूलाइ पानी कता पाइन्छ भन्ने चिन्ता थपिँदै गएको छ । झण्डै ६ हजार जनसंख्या भएको पशुपतिनगरमा १५० को हाराहारीमा इनार छन् ।तर, लामो समयसम्म खडेरी पर्दा आधाभन्दा बढी इनारहरू सुकिसकेका छन् । बाँकी रहेका इनारहरू पनि धमाधम सुकिरहेको स्थानीयहरू बताउँछन । पानीको चरम समस्या बढिरहँदा पनि स्थानिय सरकारले खासै ध्यान नदिएको उनीहरूको गुनासो छ । ‘निर्वाचनमा जनप्रतिनिधिहरूले जनाएको प्रतिबद्धता सबै भुले जस्ले गर्दा नेताहरूप्रतिको अविश्वास बढ्दै गएको छ,’ स्थानीय राममुरत महतोले भने ।
खानेपानीको मुख्य आधार मानिएको इनारहरू नै धमाधम सुक्न थालेपछि विकल्पहरूको विषयमा खोजी नहुँदा स्थानीयहरू आतिन थालेका छन् । नेपाली कांग्रेसबाट बागी बनेर स्वतन्त्रको नाममा जितेकी उपमेयर यसै वडाकी हुन् भने वडा अध्यक्षमा लोसपावाट घुरन महतोले जितेका हुन् ।
साविकको वडा न.४ राख्याल टोलमा एउटा इनारको मुहान छ । जहाँबाट वरपरका बस्तीका लागि पाइपलाइन बिछ्याएर पानी ल्याउन सक्ने आधारहरू भए पनि सरोकारवाला निकायको बेवास्ताले समस्या थप बन्दै गएको राममुरतले बताए ।बजरङ्ग जल उपभोक्ता समितिले सञ्चालन गरेको पशुपतिनगरकै झोक्ले टोलमा अन्य इनारको तुलनामा पानी कम सुक्ने गर्छ । अहिले यहाँका स्थानीयहरूले यहीँ पानी उपभोग गरिरहेका छन् । अन्य ठाउँका स्थानियहरू यहाँ आइपुग्न ३ किलोमिटरसम्म हिड्नुपर्ने हुन्छ । पशुपतिनगरमा माघदेखि इनार सुक्न थालेपछि धेरैजसो किसानहरूलाई सिँचाइको झन् ठूलो समस्या बन्दै गएको देवकुमार सिंह बताउँछन् ।
सिँचाइको समस्या बन्दै गएपछि किसान खेतीबाट पलायन हुनुपर्ने अवस्था सिर्जना बन्दै गएको छ । साविकको वडा न.४ मा रहेको इनारबाट पाइपलाइन बिछ्याएर वितरण गर्ने भनिएको योजना १० बर्ष बितिसक्यो । यो वडामा रहेका चारवटा बोरिङलाई चलाउन सकिएमा पनि केहीहदसम्म पानीको समस्या समाधान हुने स्थानीय बताउँछन् ।
देवकुमार सिंहका अनुसार पूर्व नगरप्रमुख बिदुर कार्कीले घर–घरमा पानी पुर्याउने उद्देश्यले २८ लाख विनियोजित गरेका थिए । ‘तर कहाँ, कसरी काम भयो भन्ने समेत थाहा पाउन सकिएन,’ उनले भने । पशुपतिनगरमा पानी नसुक्ने इनार ब्रह्माथानको इनार बनेको छ । वरपरका स्थानीयले दुःख गरेर भए पनि यही इनारलाइ प्रयोग गरिरहेको जलेश्वरी महतो बताउँछिन ।
प्रतिक्रिया