ताजा अपडेट »

बसाइँसराइले वस्ती रित्तिदा विद्यालय संकटमा

बुधबार, १३ बैशाख २०८०

शान्तिपुर । पहाड वस्तिबाट तराईमा बसाइँसराइ तीब्र हुँदैजादा गुल्मीका गाउँका सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संकट परिरहेको सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकामा आयोजित शैक्षिक अन्तक्रिया कार्यक्रममा सहभागीहरुले गाउँका सामुदायिक विद्यालयका विविध समस्या प्रस्तुत गरेका थिए ।

हर्राचौर क्षेत्रमा सामुदायिक विद्यालयका शिक्षकहरुले बसाइँसराइको कारण वस्तिहरु खाली हुँदै गएकोले विद्यालयमा विद्यार्थी संख्या निरन्तर घटिरहेकोले विद्यालयको शैक्षिक र भौतिक विकासमा समस्या भएको गुनासो गरे । स्कुल आउने विद्यार्थीहरुको संख्या नै घटिरहेकोले सामुदायिक स्कूलमा विद्यार्थी कम देखिएको भएपनि पालिकाले शिक्षकको कारण विद्यार्थी घटेकोले स्कुल मर्ज गर्ने कुरा उठाएर शिक्षक र समुदायलाई तर्साउने गरेको बताए ।

"स्कूलमा विद्यार्थी आकर्षण गर्न भौतिक सुधार आवस्यक छ, यसको लागि पालिकाले सहयोग गर्नुपर्छ । तर पालिकाले भने विद्यार्थी संख्या कम भएकोले लगानी नगर्ने भन्छन् " हर्राचौर माविका प्रधानाध्यापक चिरञ्जीवी तिवारिले गुनासो गरे । कार्यक्रममा सहभागी अभिभावकहरुले भने सामुदायिक स्कूलले गुणस्तरीय शिक्षा नदिएका कारण शिक्षा प्राप्तिका लागि नै मानिसहरु बसाइँसराइ गरेको भन्दै शिक्षक र पालिकाका जनप्रतिनिधिको आलोचना गरे । " पालिकाले शिक्षक र विद्यालयको निगरानी नगर्ने, शिक्षकहरुले आफ्ना सन्तानलाई निजि स्कूलमा पढाउने भएपछि अभिभावकले सामुदायिक स्कूललाई कसरी विस्वास गरेर स्कुल पठाउने ?" स्थानीय अगुवा राम बहादुर खत्रीले प्रश्न गरे ।

शिक्षकले आफैलाई विस्वास नगरेर निजि स्कूलमा आफ्ना सन्तान पढाउदा अरुले पनि सामुदायिक विद्यालयलाई विस्वास गर्न नसकेको अधिकांश अभिभावकहरूले बताए । कालिका मानवज्ञान माबिका प्रधानाध्यापक दिनेश थापाले न्यून जन्मदर तथा बसाइँसराइको कारण ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटेकोले विद्यार्थी कम भए भनेर चिन्ता गर्नुभन्दा विद्यालयको सेवा क्षेत्रमा भएका बालबालिकालाई विद्यालयमा आकर्षित गर्नको लागि विद्यालयमा पुगेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने कुरामा शिक्षक, विद्यालय प्रशासन र स्थानीय सरकारले ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

हर्राचौर माबिले आयोजना गरेको उक्त अन्तर्कृयामा बोल्दै युवराज कंडेलले शिक्षक- विद्यार्थी - अभिभावक विचको निरन्तर सम्बाद र सहकार्यले मात्र विद्यालयप्रती समुदायको आत्मियता विकास गर्न सम्भव हुने र शिक्षा सुधारमा शिक्षकको भुमिका मुख्य हुने कुरामा जोड दिए ।

बुधबार हर्राचौर्मा आयोजित शैक्षिक अन्तर्कृया कार्यक्रममा चन्द्रकोट गाउँपालिका वार्ड नम्बर ३ का सामुदायिक विद्यालयका शिक्षक, जनप्रतिनिधि र अभिभावकहरुको सहभागिता थियो ।