ताजा अपडेट »

उपमेयर रनिङ्ग कप खुल्ला महिला भलिबल प्रतियोगिता सुरु

सोमबार, २८ पुस २०७६

पुस २८,

ग्लोबल आवाज

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सोमबारदेखि प्रथम उपमेयर रनिङ्ग कप खुल्ला महिला भलिबल प्रतियोगिता सुरु भएको छ । तिलोत्तमा–८ मणिग्राममा अवस्थित कुँवरवर्ती इङ्गलिस बोर्डिङ स्कूलमा सुरू भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

तिलोत्तमामा नगरपालिकाको आयोजना तथा मणिमुकुन्द भलिबल क्लब र कुँवरवर्ती स्कूलको सहयोग रहेको प्रतियोगिताको तिलोत्तमा नगरपालिकाकी उपमेयर जागेश्वरी चौधरीले उद्घाटन गरिन् ।सो अवसरमा बोल्दै चौधरीले महिलाको विकासका लागि खेल क्षेत्रबाट पनि अगाडि बढाउनु पर्नेमा जोड दिदैँ महिलाहरुका लागि खेलकूद विकासका लागि फोरम तयार पार्न नगरले बजेट व्यवस्था गरेको बताइन । विभिन्न जिल्लाका महिला खेलाडीहरुको सहभागिता रहेको प्रतियोगितामा उपाधि विजेताले नगद २५ हजार सहित रनिङ्ग शिल्ड र मेडल प्राप्त गर्ने छन् ।

यसैगरी प्रतियोगितामा दोस्रो र तेस्रो हुने समुहले क्रमशः १५ हजार र १० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा सान्तोना स्थान हासिल गर्न समुहले समेत नगद ५ हजार प्राप्त गर्ने छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । आजको उद्घाटनको पहिलो खेलमा न्यु होराइजन उच्च मावि र मणिमुकुन्द कलेज बीच प्रतिस्पर्धा हुने छ ।