बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ४ को आर्दशनगर क्षेत्रमा खानेपानीको गर्मीयामसँगै पीउने पानीको हाहाकार भएको छ । गर्मीको समयमा खानेपानीको अभाव हुँदा आर्दशनगर क्षेत्रका २ सय ५० बढी घर परिवार समस्यामा परेका छन् ।
घरघरमा खानेपानीका धारा भएपनि प्रयाप्त मात्रामा खानेपानी नआउंदा समस्या झेल्नु परेको स्वर्गद्वारी टोल विकास संस्थाका अध्यक्ष पुरन श्रेष्ठले गुनासो गरे । एक, दुई दिन बिराएर धारामा पानी आएपनि प्रयाप्त नहुँदा खानेपानीको हाकार भएको स्थानीय नारायण नागिलाले बताए ।
बुटवल खानेपानी संस्थान र बुटवल उपमहानगरपालिकालाई खानेपानीको विषयमा पटक–पटक जानकारी गराएपनि कुनै सुनुवाई नभएको खानेपानीका उपभोक्ताको गुनासो छ । ‘पानीको सारै हाकार भएपछि बुटवल उपमहानगरपालिकाले एक दिन ट्याङ्कीबाट पानी वितरण गरेको थियो ।’–एक उपभोक्ताले भने ।
गर्मीको समयमा खानेपानीको अभावसँगै आर्थिक रुपले सम्पन्न परिवारले मिनरलवाटर किनेर खाए पनि अन्यले भने समस्या झेल्नु परेको छ । आर्थिक अवस्था कमजोर भएकाहरुले बजारका अन्य ठाउँमा भएका वोरिङ खोजेर जर्किन र बोत्तलमा पानी बोक्नु पर्ने बाध्यता छ । मुख्य सडकको पूर्वतर्फको वस्तीमा नै खानेपानी अभाव छ । लामो समयसम्म पनि खानेपानीको अभाव हुँदा पनि खानेपानी संस्थान जिम्मेवार बन्न नसकेको नागरिकको गुनासो छ ।
घरघरमा खानेपानीका धारा छन् । उपभोक्ताले नियमित खानेपाीको चर्को शुल्क पनि तिरेका छन्, तर पानी खान पाएका छैनन् । खानेपानीको विल तिरेपनि समयमा सफा र स्वच्छ खानेपानी खान नपाउने बुटवलवासीको पुरानै रोग हो । पछिल्लो समयमा बुटवलमा खानेपानीको समस्या हल हुँदै गएपनि आर्दशनगर क्षेत्रमा भने खानेपानीको हाकार कायमै छ ।
खानेपानी समस्या बारे बुझ्नका लागि पटक–पटक प्रयास गर्दा पनि बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टसँग सम्पर्क हुन सकेन । हाल बुटवलमा तिनाउ खोला र विभिन्न २२ वटा भूमिगत पानीका स्रोतबाट खानेपानी संस्थान र विभिन्न उपभोक्ता समितिमार्फत साढे दुई करोड लिटर पानी वितरण हुने गरेको संस्थानले बताउने गरेको छ । माग भने ३ करोड ४० लाख लिटरको छ। अहिले दैनिक एक करोड लिटर खानेपानी अभाव छ।
तीव्र सहरीकरणसँगै जनसंख्या बढ्दै जाँदा बुटवलमा वर्षेनी १५ लाख लिटरभन्दा बढी खानेपानीको माग थपिदै जाने अधिकारीहरू बताउँछन्। सुख्खायाममा त मागको आधामात्रै खानेपानी आपूर्ति भइरहेको छ।
प्रतिक्रिया