ताजा अपडेट »

नेकपा स्थापनाको अवसर पारी नुवाकोटमा ‘विकाससँग एमाले’ कार्यक्रम

शनिबार, ०९ बैशाख २०८०

पाल्पा । तिनाउको नुवाकोटमा नेकपा स्थापना दिवसको ७५ औं वर्षगाँठको अवसरमा नेकपा एमाले वडा नम्बर २ कमिटीले ‘विकाससँग एमाले’ विषयक छलफल कार्यक्रम शनिवार सम्पन्न गरेको छ । नेकपा एमाले पाल्पा जिल्ला कमिटी सचिवालय सदस्य दलबहादुर गुरुङले प्रागैतिहासिक एवम् पुरातात्त्विक क्षेत्र नुवाकोटको समग्र विकासका लागि एमाले अग्रसर रहेको बताए ।

पर्यटकीय क्षेत्रका रुपमा विकासोन्मुख रहेको नुवाकोटलाई सुन्दर,हराभरा र प्रसिद्ध गराउन आफ्नो पार्टी कटिबद्ध रहेको गुरुङले जनाए । वडा नम्बर २ का अध्यक्ष यादवप्रसाद अर्यालले नुवाकोटको विकासलाई तिनाउ गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको बताए । स्थानीय संघसंस्था र वडापालिका मिलेर नुवाकोटलाई गौरवमय स्थल बनाउन आफूहरु निरन्तर गतिशील रहने बताए ।

छलफल कार्यक्रममा नेकपा एमाले पाल्पा जिल्ला कमिटी सदस्य झपिन्द्र रायमाझी,तिनाउ गाउँ कमिटी उपसचिव लक्ष्मण कुमाल,वडा नं। २ वडा कमिटीका अध्यक्ष रामबहादुर थापा,टोल कमिटीका अध्यक्ष दिनेश थापाले पार्टीलाई विकाससँग जोडेर अघि बढ्नु पर्ने , स्थानीय समस्याहरुलाई पार्टीले ध्यान दिनुपर्ने,पालिकाले नुवाकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्दै स्थानीयहरुलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने बताए ।

पार्टी स्थापना दिवसको अवसरमा स्थानीय पार्टी,नेता र कार्यकर्ताहरुका बीच घनिष्ट सम्बन्ध स्थापनामा सहयोगी रहेको सहभागीहरुले बताए ।