आज मातातिर्थ औंशी अर्थात आमाको मुख हेर्ने दिन, आमालाई स्मरण गर्ने दिन । आज सामाजिक संजालहरु रंगिएका छन्, आमालाई कोशेली किन्नको लागि पसल र मिठाई पसलमा केहि चहलपहल पनि थपिएको छ । छोराछोरी र नानि नातिनीहरू भेट्न जादा आमाहरु केहि खुशी देखिएका छन् । सामाजिक संजालमा आमाका तस्विरहरु छन्, आमाका गुणगान छन् । हरेक वर्ष आमाको मुख हेर्ने औंशी जति विस्तारित र चहलपहलपूर्ण बन्दैछ, उति नै पाका आमाहरुको एकांकीपन र दुःख बढिरहेको छ । सामाजिक संजालबाट आमालाई सम्झने र माया देखाउने पुस्ताहरु बढिरहँदा पाका आमाहरु आफ्नै घरमा, समुदायमा एक्लिदै गएका छन् । यो क्रम आउँदा दिनहरुमा अझ बढ्ने लक्षण प्रष्ट देखिएका छन् ।
वृद्धावस्था मानव जीवनको महत्वपुर्ण कालखण्ड हो । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका अनुसार ६५ वर्ष भन्दा माथिल्लो उमेरलाई वृद्धावस्था भनिन्छ । यस अनुसार अहिले विश्वको कूल जनसंख्याको करिब ९ प्रतिशत हिस्सा ६५ वर्ष माथिको जनसंख्याले ओगटेको छ । नेपालमा ६० वर्ष माथिको जनसंख्यालाई वृद्ध जनसंख्या मान्ने गरिएको छ । दशौँ जनगणना २०५८ अनुसार नेपालको जनसंख्याको ६.५ प्रतिशत वृद्ध जनसंख्या रहेकोमा वि.स. २०६८ मा ८.१३ र अहिले यो संख्या १०.२१ प्रतिशत पुगेको छ । विश्वको औसतको तुलनामा नेपालमा बृद्ध जनसंख्या धेरै कम देखिएपनि पछिल्ला वर्षहरुमा यो संख्या बढ्दै गएको छ । वि.सं २०१८ यताका सबै जनगणनाका तथ्यांकहरु केलाउँदा नेपालको वार्षिक जनसंख्या बृद्धिदर भन्दा वृद्ध जनसंख्याको बृद्धिदर सधै उच्च रहेको देखिन्छ ।
भौतिक सेवा सुविधामा भएको बृद्धि, स्वास्थ्य सेवा र सुविधाको उपलब्धतामा सुधार जस्ता कारणले गर्दा बाँच्ने सरदर आयुमा बृद्धि भै बृद्ध जनसंख्या समेत बृद्धि भैरहेको छ । अहिले वार्षिक रुपमा करिब ५५ हजार मानिसहरु बृद्धावस्थामा प्रवेश गर्ने गर्दछन् । घट्दो प्रजननदर र युवाहरुको बिदेश पलायन जस्ता प्रक्रियाले गर्दा नेपालको जनसंख्यामा वृद्धहरुको अनुपात निरन्तर बढिरहेको छ । एकातर्फ नेपालमा बृद्ध जनसंख्या बढिरहेको छ भने अर्कोतर्फ बृद्धहरु धेरै किसिमका समस्यामा परिरहेका छन् । शाब्दिक रूपमा बृद्धहरुलाई बूढाबूढी भन्न छोडेर जेष्ठ नागरिक भन्न थालिएको छ तर यो शाब्दिक सुधार बाहेक उनीहरुको अवस्थामा सुधार आउन सकेको छैन ।
पछिल्लो समयमा नेपालका जेष्ठ नागरिक अर्थात हजुरआमा हजुरबा पुस्ता एक्लिदै गएको छ, त्यसको सबैभन्दा नराम्रो असर जेष्ठ महिलाहरुमा देखिएको छ । नेपालको कूल महिला जनसंख्याको ११.२९ प्रतिशत जनसंख्या ६० वर्ष माथिका महिलाहरुको छ ।
बृद्धहरुको सेवा गरेमा पुण्य प्राप्त हुन्छ र बृद्ध बा आमाको सेवा गर्नु छोरानातीको मुख्य कर्तव्य हो भन्ने सामाजिक मान्यता क्रमशः मक्किदै गएको छ । बा आमाले आफ्नो सम्पूर्ण सामर्थ्य खर्चेर छोराछोरीलाई हुर्काउने बढाउने र अवसरको लागि शहर र विदेश पठाउने कामलाई प्राथमिकता दिएसंगै वृद्धहरू एक्लिदै गएका छन् । छोराछोरीहरु शहर र विदेशमा बस्ने अनि वृद्धहरू एक्लै गाउँमा बस्ने गरेका दृश्यहरु अचेल सामान्य लाग्न थालेका छन् । केहि बृद्ध आमाबाबुहरुले परिवारको सामिप्यता र सुख-दुःखमा साथ नपाएपनि छोराछोरीबाट आर्थिक सहयोग पाउने गरेकोले एकांकी नै भएपनि सामान्य जीवन ज्यून पाएका छन् तर धेरै वृद्ध आमाबाबुहरुले छोराछोरीहरुबाट माया, सामिप्यता र सहयोग पाउने त कुरै छाडौं, परिवारका सदस्यहरूबाटै तिरस्कृत भएकोले कष्टपूर्ण जीवन व्यतित गरिरहेका छन् ।
पछिल्लो समयमा नेपालका जेष्ठ नागरिक अर्थात हजुरआमा हजुरबा पुस्ता एक्लिदै गएको छ, त्यसको सबैभन्दा नराम्रो असर जेष्ठ महिलाहरुमा देखिएको छ । नेपालको कूल महिला जनसंख्याको ११.२९ प्रतिशत जनसंख्या ६० वर्ष माथिका महिलाहरुको छ । शहरी क्षेत्रमा एकल परिवारको अवधारणाले गर्दा हजुरआमा पुस्ताको जनसंख्या ओरालो लागिरहेको छ भने ग्रामिण र पहाडी क्षेत्रमा पाका पुस्ताका महिलाको अनुपात बढिरहेको छ । लुम्बिनी प्रदेशमा ६० वर्ष माथिका महिलाको जनसंख्या ९.४४ प्रतिशत भएपनि पहाडी जिल्लामा यस्ता महिलाको जनसंख्या राष्ट्रिय औषत भन्दा माथि देखिन्छ ।
२०७८ को जनगणना अनुसार ६० वर्ष माथिका महिलाको जनसंख्या गुल्मीमा १४.३३ प्रतिशत, अर्घाखाचीमा १३.२३ प्रतिशत र पाल्पामा १२.६९ प्प्रतिशत, रुकुममा १०.२४ प्रतिशत रहेको छ । ५० वर्षको उमेरलाई हजुरआमा बन्ने उमेर मान्ने हो भने गुल्मी, पाल्पा, अर्घाखाची र प्युठानमा यो उमेर समुहका महिलाहरुको जनसंख्या २३ प्रतिशत भन्दा बढी देखिन्छ । बसाईसराईको उच्च चाप भएको तराईका जिल्लामा ६० वर्ष माथिका महिलाको जनसंख्या ८.५ प्रतिशत भन्दा कम रहेको देखिन्छ ।
जिल्लाको जनसंख्यामा हजुरआमा उमेरका महिलाको जनसंख्या बढ्दै जानु जनसांख्यिक असन्तुलनको लक्षण मात्र नभएर महिलाहरुमा कार्यभार थपिदै गएको सूचक पनि हो । सक्षम सन्तानहरु शहर र तराईतिर गएपछि परिवारको जिम्मेवारी, पशुपालन, खेतीपाती जस्ता जिम्मेवारी महिलामा परेको छ र वयस्क जनशक्ति कम भएपछी पाका महिलाहरुले नै ति कामहरु गर्नु परेको छ । २०७८ को जनगणना अनुसार गुल्मी, पाल्पा र अर्घाखाचीका कूल महिला मध्ये एकल (विधवा, सम्बन्ध विच्छेद वा छुट्टिएर बसेका) महिलाको संख्या १० प्रतिशत भन्दा माथि छ । यस्ता महिलाले घरायसी काममा पुरुष सदस्यको कमै सहयोग पाउने गर्छन । यसले गर्दा पनि महिलाहरु वृद्धावस्थामा समेत निरन्तर काममा जोतिन परिरहेको छ ।
लुम्बिनी प्रदेशका हजुरआमा पुस्ताका महिलाहरुले आफ्नो वयस्क अवस्थामा धेरै असुरक्षित र गह्रौ काम गरेको, धेरै बच्चा जन्माएको कारणले प्रजनन र अन्य स्वास्थ्य समस्याहरु रहेको विभिन्न स्वास्थ्य शिविरमा आएका रोगी महिलाको संख्याले पनि पुष्टि गर्छ । यस्ता महिलाहरुलाई उपचार गराउन लैजाने सदस्य समेत परिवारमा पाउन मुस्किल हुन थालेको छ. यसले गर्दा रोगि शरीर लिएरै पाका आमाहरुले घरधन्दा, मेलापात गर्नु परिरहेको छ । यी सवालहरु महिला आन्दोलनमा चर्चाको विषय बन्दैनन् र आमाको मुख हेरेर सामाजिक संजालमा रमाउनेहरुले सम्झिदैनन् ।
युवापुस्तामा विदेश मोह बढेपछी हजुरआमाहरुमा कार्यभार र एक्लोपन बढ्दै गएको छ । छोरा बुहारीहरू बिदेश जाने र स्वदेशमै हुँदा पनि घर बाहिर जागिर÷व्यवसायमा बढी समय विताउने भएकोले शहरी क्षेत्रमा नातिनातिना हुर्काउने र घरको काम गर्ने जिम्मेवारी समेत पाका महिलामा परेको छ । प्रविधिमा अभ्यस्त हुदै गएका नातिनातितिलाई हुर्काउनु र आधुनिक समाजसमा आफुलाई समायोजन गर्दै लैजानु पाका महिलाहरुको लागि चुनौतिपूर्ण काम बनेको छ ।
छोरा बुहारी शहर पसेपछि आमाबालाई शहरमा एडजस्ट गर्न सक्नुहुन्न भन्दै गाउकै घर कुर्न लगाउछन. बिदेशमा गएका र शहरमा बसेकाहरुले सन्तान जन्माएपछि बा वा आमा मध्ये एकाजनालाई आफुसंग बोलाउने र अर्कोलाई गाउँघरमै छोड्ने प्रवृति छ । यसले गर्दा पाका दम्पत्तिहरु समेत छुट्टिएर बस्नुपर्ने बाध्यता छ । वयस्क हुँदा लोग्ने घर बाहिर कमाउन भन्दै जाने र घरको सारा जिम्मेवारी आफैले उठाएका महिलाहरुका सन्तानहरु कमाउन र सुखको खोजीमा शहरतिर जाँदा गाउँमा हजुरआमाहरु एक्लिदै गएका छन् । केटाकेटीलाई गाउँ घुमाउनको लागि दशैँ र ठुला चाडको बहानामा गाउँ पुग्ने र पाका पुस्तासँग रमाउनेहरुले अरु बेलामा गाउँघरमा के कस्तो छ? समस्या के के छन् ? भन्ने कुरा भुलिदिन्छन् । शहरमा हुर्किएका बालबालिकाले हजुरआमाको स्नेह पाउनु र गाउँका हजुरआमाले नातिनातिनाको अनुहार देख्न पाउनको लागि त कि चाडपर्व कि त कोरोना जस्तो महामारी नै आउनुपर्छ ।
जेष्ठ नागरिकलाई सम्मान र हेरचाह गर्नुपर्छ भन्ने मुल्य मान्यतामा ह्रास आएकोले यस्तो प्रवृतिलाई रोक्नको लागि जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ मा . ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने (दफा ३), ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्न (दफा ४) , कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु नहुने ( दफा ४ उपदफा ३) जस्ता प्रावधानहरु राखिएको छ ।
‘मातृदेवो भवः’ भन्ने संस्कार भुल्दै गएपछि पाका पुस्ताले सरकार र कानून गुहार्नुपर्ने अवस्था देखिएको छ । नेपालको संबिधान २०७२ ले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षाको लागी विशेष व्यवस्था गर्ने नीति अंगिकार गरेको छ । संविधानको धारा १६ मा उल्लेखित सम्मानपूर्वक बाच्न पाउने हक र धारा ४३ को सामाजिक सुरक्षाको हक जेष्ठ नागरिकको हकमा बढी आकर्षित छ । संबिधानमा जेष्ठ नागरिकको लागि छुट्टै धाराको समेत व्यवस्था छ । धारा ४१ले जेष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने कुरा उल्लेख हुनाले राज्यलाई जेष्ठ नागरिकप्रति जिम्मेवार बनाउन खोजेको देखिन्छ ।
जेष्ठ नागरिकलाई सम्मान र हेरचाह गर्नुपर्छ भन्ने मुल्य मान्यतामा ह्रास आएकोले यस्तो प्रवृतिलाई रोक्नको लागि जेष्ठ नागरिक सम्बन्धि ऐन २०६३ मा . ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने (दफा ३), ज्येष्ठ नागरिकलाई आफ्नो आर्थिक हैसियत तथा इज्जत आमद अनुसार पालनपोषण तथा हेरचाह गर्न (दफा ४) , कसैले ज्येष्ठ नागरिकको इच्छाविपरीत निजलाई परिवारबाट अलग राख्न वा अलग बस्न बाध्य गराउनु नहुने ( दफा ४ उपदफा ३) जस्ता प्रावधानहरु राखिएको छ । त्यस्तै मलुकी देवानी २०७४ को दफा १२२ ले प्रत्येक छोरा छोरीले आमा बाबुलाई एकासगोलमा बसेको वा कानून बमोजिम भिन्न भइसकेको जेसुकै भए तापनि आफ्नो आर्थिक तथा सामाजिक हैसियत अनुसार आवश्यक हेरचाह, स्याहार सम्भार, औषधोपचार वा रेखदेख गर्नुपर्ने व्यवस्था गरेको छ । जेष्ठ महिलाले परिवारका सदस्यहरुको बारेमा कमै गुनासो गर्ने र अरुले पनि पारिवारिक मामिला भनेर वास्ता नगर्ने गर्दा हेरचाह नगर्ने परिवारलाई बाध्य बनाउन सकेको देखिदैन ।
छोराछोरीले आफ्नो आम्दानीको निश्चित हिस्सा बा आमाको खातामा राखिदिनुपर्ने व्यवस्था पनि पालना नहुँदा कतिपय सम्पन्न परिवारका हजुरआमाहरु पनि खान लाउन नपाएर सडकमा भौतारिएको देखिन्छ । स्थानीय सरकार संचालन ऐन र जेष्ठ नागरिक सम्बन्धि ऐन अनुसार स्थानीय निकायहरु जेष्ठ नागरिकहरु प्रति बढी जिम्मेवार हुनुपर्नेमा ति निकायहरुले वृद्ध भत्ता वितरण गर्ने बाहेक अरु कुनै कल्याणकारी काम गरेको पाइन्न । परिवारवाट परित्यक्त र अपहेलित जेष्ठ नागरिकहरुलाई सम्मानजनक ढंगले परिवारमा पुर्नस्थापित गर्ने र वेसाहारा जेष्ठ नागरिकहरुलाई आश्रय दिने र हेरचाह गर्ने सरकारहरुबाट हुन सकेको छैन ।
हामी सामाजिक संजालमा आमाको फोटो राख्दै ‘हेप्पी मदर्स डे’ मा रमाईरहेका छौं । तर हामीलाई योग्य बनाउने हजुरआमाहरु हाम्रो शुभकामना थापेका ‘हेप्पी मदर’ र ‘फादरबाट’ उपेक्षित हुदै गएका छन् । “ आफु कहिल्यै बुढो हुनुपर्दैन” भन्ने सोचले ग्रस्त मानसिकता बोकेर पाका पुस्तालाई हेला गर्दै पाका पुस्ताबाट प्राप्त गर्न सकिने स्याहार, आहार, ज्ञान र सीपबाट वन्चित भैरहेका छौ । पाकापुस्ता समाज निर्माता, पारिवारिक योजक, मार्गदर्शक र संरक्षक हुन् । हाम्रा आमा/मम्मिहरुलाई हेप्पी बनाउनको लागि उहाँहरुले गरेको दुखको स्मरण गर्न सकिएन भने आमाको मुख हेर्नुको लोकाचार गर्नुको अर्थ छैन । दुख विसाउने चौपारी, अलमलमा बाटो देखाउने ध्रुवतारा, बिरामी हँुदा जडिबुटी खोज्न हिड्ने बैद्य अनि आफु भोकै बसेर पनि शहरमा रहेका नातिनातिनाले खान पाएनन् भनेर चिन्ता गर्ने देवीलाई सम्मान नगरी, स्मरण नगरी परिवार हेप्पी हुन् कदापि सक्दैन ।
सबै हजुरआमाहरुलाई सम्मान गरौ, स्मरण गरौ, खुशी राख्ने प्रयास गरौ ।
(तिलोत्तमा –८, रुपन्देही)
प्रतिक्रिया