आमा बिनाको संसार त हामीले परिकल्पना गर्न पनि सक्दैनौ । सायद तपाँई हामी सबैलाई आमाको त्यो वात्सल्यमा रमाउँदा जस्तो खुशी र सुखको अनुभूति अरु कुनै बेला हुँदैन । आमा त्यो ब्यक्ति हो, जसले छोराछोरीको दुःख सुखमा काँध थापेर सँगै रुन र सँगै हास्न सक्छिन् । ‘आमा’ले मात्रै सक्छिन ‘बा’हरु सक्षम छैनन् भन्न खोजेको चाही पटक्कै होईन । ‘बा’हरुमा पनि आफ्नै महत्वपूर्ण जिम्मेवारी माया, स्नेह छ नै तर आमाकोभन्दा अलि भिन्न छ । एउटा सन्तान गर्भमा आईसकेपछि नै त्यो सन्तानको मायामा आमा कल्पनाको संसारमा चुर्लुम्म डुबिसकेकी हुन्छिन् । पेटमा बच्चा छ भन्ने मात्रै थाहा पाएपछि उसको हरबखत हेरचाहमा उनको ध्यान जान थाल्छ । बच्चा राम्रो हुन्छ, आफ्नो सन्तान राम्रोसँग विकसीत हुन्छ भन्ने थाहा पाए आमा जुनसुकै मुल्य चुकाउन पछि पर्दिनन्, जसले आफ्नो भोक, निन्द्रा, समय, जीवनको कुनै प्रवाह गर्दिनन् तिनै माया र स्नेहकी प्रतिमूर्ति हुन् आमा ।
आमाका लागि जति शब्दमा उतारेपनि कमि हुन्छ । आमाका लागी त शब्दको सागर नै उर्लिन्छ यो मनमा । कति ब्यक्तm गरेका हुन्छन् सन्तानले कतिब्यक्त गर्न सकिरहेका हुँदैनन् । हिजोका जमानामा सामाजिक संजाल थिएन । माया ब्यक्त गर्ने माध्यया भनेको जम्मा आमासँगको भेट र आमाको वात्सल्य नै थियो । तर आज–भोलीको समय नै फेरिएको छ । आमाका लागि सन्तानको माया दर्शाउने अनेकन प्रविधि छन् । कतिपय बेला यस्ता माध्ययले राम्रै गरेका छन् । कतिपय बेला माया दर्शाउने भित्ता बनेका छन् । घरमा आफ्ना आमा बाबाको रेखदेख नगर्नेहरुले सञ्जालमा देखाएका माया सहानुभुति, कर्तब्य एकादेशको कहानी बनेका पनि उदाहरण छन् । पहिले पहिले आमाका नामामा कापिका पानामा लेखेर संग्रहित गरेका माया रुपि शब्दका छालहरु आजभोलि देश विदेशमा तपाँई सम्पूर्णको माझमा साझा गर्न पाएका छौ । हामी यो युगतर्फ प्रवेश गरेका छौं । आफ्ना छोराछोरीले लेखेका कुरा आमा बुवालाई सुनाउन पाएका छौं । देखाउन पाएका छौं । यो मानेमा पनि हामी भाग्यमानी छौं । समय बित्दै गयो, बालबच्चाबाट समय किशोर अवस्थामा प्रवेश गर्दै थियो, दिन आफ्नै ढल्किरहेका रैछन् हामी कसैलाई पत्तो हुँदो रैनछ । बाल्यकालमा आमाहरुका कहाली लाग्दा कथाहरु सुनेर हुर्किएकी म । आमाका कहानी सुन्दा लाथ्यो यस्तो पनि जीन्दगी हुन्छ ? के हरेक आमाहरुका यस्तै कहानी हुन्छन् होलार ? एकाध बाहेक मेरी आमाका जस्तै सबैका आमाका यस्तै कहानी होलान् । सुखका, दुःखका, बाध्यताका, समस्याका, मायाका, माया नपाएका, कति ब्यक्तm गरिएका, कति कठिनाईका, कति भोगाईका, कति भोगाईएका यस्तै यस्तै अनेक–अनेक…।
करिब २ घण्टाको उकालो र ओरालो गरि पढ्ने स्कूल । गोठभरिका गाई भैँसी । खेतीपाति । घाँस, दाउरा, मेलापात गरेर सबै काम सकिएसी अन्तिममा मात्रै पढाईका लागि केही समय बाँकी रहथ्यो । मेशिनले झै काम गरेर आप्mना पाखुरा खियाएर पढेको बाल्यकाल । सन्तानको काखले उछ्छार नपाएकी मेरी आमाका संघर्ष देखेर छक्क परिरहेकी हुन्थे म । आमा भनेको यस्तै हुनुपर्छ । सबैलाई माया गर्ने । आफूले खाएपनि हुने नखाए पनि हुने । सन्तान अघाए आमा त्यसै अघाउने । हैन कस्तो ब्रम्हाण्डकी प्रतिमूर्ति हुन आमा यही प्रश्न बारम्बार मनमा आईरहन्थ्यो । सात सन्तानको वरिपरि अहिले पनि मेरी आमा घर भित्रबाहिर गरिरहनु भएको छ । एक सन्तान गुमाउनु भो । बेला–बेला भन्नुहुन्छ, सानैमा स्वर्गमा गई । उसले पनि सुख पाई मैले पनि सुख पाए । पाउन मात्रै त के हुन्थ्यो र कसरी हुर्काउला भन्ने चिन्ताले आमाले जन्मिएको ७ दिनमा भगवानको प्यारी भएकी छोरीलाई स्वर्गमा बसेकी छौ होला भन्नुहुन्छ ।
सात सन्तान, बा र आमा गरेर हामी ९ जनाको परिवार थियो अहिले त परिवार ठूलो भएको छ तर मेरी आमाको बानी फेरिएको छैन । सबै जनालाई खान बसालेर आफूले अन्तिममा खाने बानी लागेको मेरी आमालाई सायद ९ वर्षमा बिवाह गरि १४ वर्षमा घरगर्न शुरु गरेदेखि नै हो । सबैलाई खाना पस्किएर आफ्नो पालामा खाना पुगेन भन्ने थाहा हुन्छ भनेर कसौडी कोल्टो पारेर सुस्तरी भात पस्किने मेरी आमा । सन्तानको पेट भरिएसी कैयौं रात भोकै सुतेर हामीलाई हुर्काउनुभएकी कति महान मेरी आमा । थालमा राखेको खाना खानै थाल्दा बाहिर कोही पाहुना वा बटुवा आए त्यही खाना खन्याएर खान दिने मेरी आमाको अझै ति अनेकन बानी फेरिएका छैनन् । आमाका तिनै आनीबानी हामीमा सरेका छन् । स्कूलबाट आमा घरमा आउँदा आमा नदेखे डाको छोडेर रुने हामी सन्तान आज डाँडा पारी पुगेका छौ । कति वर्ष । महिना भेट हुन सक्दैनौ र पनि डाको छोडेर रुन सकेका हुदैनौ । समयले सधै सानै कहाँ राख्दो रहेछ र ? दिनहरु बित्दै गए । हेर्दाहेर्दै आफै आमा बन्ने दिन आईपुग्यो । आमाका थुप्रै कथाहरु सुनेकी म आफै आमा बन्दै छु, भन्नेमात्रै थाहा पाउँदा पनि आमा बनिसके जस्तो अनुभूति हुने । छोरी भएर जन्मिएपछि जो कोहीलाई पनि आमा बन्न मन लाग्छ होला (अपबाद र समस्या बाहेक) ।
जब जब पेट ठूलो हुदै जान्छ त्यति–त्यति आमालाई सम्झिन्छु । आमा यस्तो कठिन हुँदा पनि तपाँई त हामी माझ कति सजिलै प्रस्तुत हुनुहन्थ्यो । तपाँईलाई त्यो बेला कति गाह्रो भयो होला, मैले महशुस गर्न पनि सकिन । एक पटक होइन, २ पटक होइन, होइन ८ पटक मरेर सन्तान जन्माएकी मेरी आमा । जति जति प्रसव पिडाले च्याप्थ्यो त्यती आमालाई सम्झिन्थे, आमा तपाँईलाई कति गाह्रो भयो होला भनेर । करिब ३ दिनको अस्पताल बसाँईमा करोडौ पटक आमालाई सम्झिए । आमाका पीडा, अभाव, रोदन, अनि त्यो करुणा सबै सम्झिए । म आमा भए । मैले सन्सार जितेको अनुभूति गरे । एउटी नारी आमा बनेर रगतले लत्पतिएको सन्तानलाई नांगो छातीमा टाँस्दाको स्वर्गीय आनन्द र अनुभूति अरु कुन बेला होला र ? प्रसव पीडालाई एकै क्षणमा भुलेर आफ्नो सन्तानको चुम्बनमा रमाए । फेरि आमालाई सम्झिए अनि चिच्याएर रोए । प्रसवपीडाको घाउ सन्चो नहुँदासम्म आमासँग फोनमा समेत म बोल्न सकिन । आमा हुदाको पीडा सम्झिएर । संघर्ष सम्झिएर । अनि थुप्रै त्यस्ता आमाका कैयौ कैयौ गुणहरु सम्झिए ।
आजसम्म पनि म नथाक्ने कि आफनै सन्तानको मुख हेरेर, कि मेरी आमाको मुख हेरेर । आमाका प्रत्येक अंग अंगको मायामा आज पनि अंगालिन मन लाग्छ । मेरी आमा तपाईको बात्सल्यमा सधैभरि यसैगरि लुटपुटिन पाँउ ।
आमा खै तपाईका ति अमुल्य गुणहरुको भारा कसरी तिर्न सक्छु र ? आज आमाको मुख हेर्ने दिनमा तपाईलाई उपहार दिएर तिर्न सक्छु होलार ? अह पटक्कै निर्त सक्दिन नकी म जस्ता करोडौ करोड सन्तानले आमाको जीवनको त्याग, समर्पण, आमाको मायाको मुल्य कुनैदिन पनि तिर्न सक्दैनौ । त्यसैले आमा त यो धर्तिको सबैभन्दा माथि छन् । हिन्दु धर्ममा पनि आमालाई उच्च स्थानमा राखिएको छ । आमालाई देविको रुपमा पूज्ने गरिन्छ । हरेक सन्तानले आमाप्रति निर्वाह गर्नुपर्ने भूमिका पनि अथाह छ ।
आजको दिनमा मेरी आमासँगै संसारका सम्पूर्ण आमाहरुको सु–स्वास्थ्य अनि दिर्घायुको मंगलमय कामना । कुनै पनि आमाबुवा आफ्ना सन्तानको मायाको अभावमा बाच्न नपरोस् । छोराछोरी र आमाबुवा सबै आ–आफनो कर्तब्य र संस्कारमा बाधिनसक्यौ भने कसैका आमा बुवा सन्तानको मायामा भौतारिन पर्देन, शायद ।
सम्पूर्ण आमाहरुमा आमाको मुखहेर्नै आमा औसीको दिनको शुभकामना ।
प्रतिक्रिया