ताजा अपडेट »

बेहाल भैरहवा : देशकै उच्च तापमान, गर्मी थप बढ्ने पूर्वानुमान महाशाखाको विश्लेषण

मंगलबार, ०५ बैशाख २०८०

भैरहवा । बैशाखको पहिलो साता नै भैरहवा तथा यस आसपासको तापमान ४२ डिग्री पुग्दा यहाँको जनजीवन प्रभावित बनेको छ । बैशाखमै तापक्रम बढ्दै जाँदा तराईमा गर्मी बढ्दो रहेको छ । मंगलबार नेपालमै सबै भन्दा बढी गर्मी भैरहवामा मापन भएको छ । मौषम पूर्वानुमान महाशाखाले प्रकाशित गरेको बुलेटिन अनुसार मंगलबार दिउसो भैरहवाको अधिकतम तापमान ४१ दशमलव ७ डिग्री मापन गरिएको छ । यस्तै नेपालगञ्जको ४० दशमलव ५ र सिमराको ३९ दशमलव ९ डिग्री मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन वर्षा हुने सम्भावना कम रहेकोले अधिकतम तापक्रमले निगरानी, सर्तकता वा चेतावनीको सीमा पार गर्ने सम्भावना रहेको जनाएको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकाले गर्दा गर्मीका कारण हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । गर्मीका कारण भैरहवा तथा यस आसपासका स्थानियहरुको दैनिकी प्रभावित बनेको छ । बजारहरु सुनसान देखिन थालेका छन । मानिस मात्र नभई चराचुरुङ्गी र अन्य जनावरहरु समेत पानी एवम शितल खोज्न थालेका छन । भैरहवाको पारो चढ्दै जादा दैनिक रुपमा गरि खाने वर्गलाई समस्या पर्न थालेको छ ।

चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ ।

भिम अस्पताल भैरहवामा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवश्थामा दैनिक १ सय ५० देखि २ सय सम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण दैनिक ४ सय सम्मको बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी डा। आरिफ हुसेनले बताए । उनले अधिकांश झाडा पाखाला, वान्ता र भाईरल खोकीका बिरामीहरु अस्पताल आउने गरेको बताए ।

अहिले अत्याधिक गर्मीका कारण बच्चाहरुको मुख सुक्ने, पानीको कमि हुने लगायतको समस्या देखिएको कारण उनिहरुलाई झोलिलो पदार्थ खान दिन हुुसेनले सुझाव दिएका छन् । हुसेनले बालबालिका मात्र नभई अन्यलाई पनि दिउसोको समयमा घाममा नहिन्न र अतिआवश्यक कामले हिन्न परेमा छाता प्रयोग गर्ने, लाम बाहुले लुगा लगाउन, प्रशस्त झोल पदार्थ खान आग्रह गरेका छन् ।