ताजा अपडेट »

शैक्षिक सामग्री खरिदको लागि पसल नतोक्न सिद्धार्थनगरको निर्देशन

मंगलबार, ०५ बैशाख २०८०

भैरहवा । विद्यालयहरुले पसल तोकेरै शैक्षिक सामग्री खरिद गर्न निर्देशन दिन थालेपछि सिद्धार्थनगर नगर पालिकाले त्यसमा हस्तक्षेप गरेको छ । यस विषयमा अभिभावकहरुको गुनासो बढ्दै गएपछि नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका विद्यालयहरुको नाममा निर्देशन नै जारी गरेको छ । सिद्धार्थनगर नगरपालिकाको कार्यालयले नगर क्षेत्रमा रहेको संस्थागत विद्यालयहरुलाई चर्को शुल्क नअसुल्न र पसल तोकेर शैक्षिक साम्रगी खरिद गर्नका लागि अभिभावकलाई बाध्य नबनाउन निर्देशन दिएको छ ।

“नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयहरुले आफु खुशी शैक्षिक शुल्क बढाउने र विद्यालयले तोकेको पसलमा शैक्षिक सामग्री खरिद गर्न अभिभावकलाई बाध्य बनाउने गरेको अभिभावकको उजुरी नगरपालिकालाई प्राप्त भएको छ ।” नगर प्रमुख ईश्तियाक अहमद खाँनले भने “पहिलो पटक सचेत गराउन पत्र पठाएर त्यसो नगर्न निर्देशन दिएका छौ ।” नगरपालिकाले बिद्यालयहरुलाई पठाएको पत्रमा शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ संसोधन सहित र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ तथा संस्थागत विद्यालय मापदण्ड तथा संचालन निर्देशिका २०६९ को प्रावधान विपरितका काम नगर्न निर्देशन दिएको छ ।

विगत देखि नै विद्यालयहरुले आफु खुशी शैक्षिक शुल्क बढाउने र कमिसनको लोभमा पसल नै तोकेर अभिभावकहरुलाई पाठ्यपुस्तक, विद्यालय पोशाक, झोला लगायतका शैक्षिक साम्रगी खरिद गर्न बाध्य बनाउँदै आएका छन् । “विद्यालयहरुले पसल नै तोकेर अभिभावकलाई शैक्षिक सामग्री त्यहीबाट खरिद गर्न बाध्य बनाउनु ठिक होइन” शिक्षा समितीका संयोजक समेत रहेका खानले भने, ‘शैक्षिक सामग्रीको विवरण उपलब्ध गराएर अभिभावकहरुलाई चाहेको पसलबाट सामग्री खरिद गर्न दिनुपर्छ, यो अभिभावकको स्वतन्त्रताको विषय हो, यसमा अंकुश लगाउन पाइदैन ।’

उनले थपे – ‘विद्यालयहरुले आफुखुशी शैक्षिक शुल्क समेत बढाउने गरेको गुनासो प्राप्त भएको छ र हामीले विद्यालयहरुलाई आफुखुशी शैक्षिक शुल्कवृद्धि नगर्न समेत निर्देशन दिइसकेका छौँ ।’
उनले पहिलो पटकलाई सचेत गराउदै पत्रद्वारा निर्देशन दिए पनि अनुगमनको क्रममा वा अनुगमनको क्रममा निर्देशनको उल्लंघन भए÷गरेको पाइएमा ऐन, नियमावली तथा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाइने बताए ।