कस्तो अचम्म ! विहान सातवजे खाना खाइसकिएको हुन्छ गाउँभरि नै । खाना खाइवरि सबै आ–आफ्ना कामतिर दौडिन्छन् गाउँलेहरु । यो चलन रैनादेवी छहराको वडा नं. ७ गहते गाउँको हो । गहते गाउँमा तीन दर्जन घरबस्तीहरु छन् । सोमध्ये गाउँमा ३१ घरधूरी खड्काहरु छन् । दुई घर कार्की र तीन घर मगरजातिको छ । परापूर्वकालदेखि नै यो गाउँमा दलितहरु नबस्ने चलनका बारेमा स्थानीय अगुवा कुलबहादुर खड्काले ऐतिहासिक कुरा बताउँदै थिए । खड्काका अनुसार गाउँमा सिंहको मन्दिर भएको र सोही मन्दिरका कारण दलित जातिहरु गाउँमा नबस्ने र बसी हालेमा उनीहरुको क्षति हुने जनश्रुति सुनाए ।
गाउँमा पशुपालन र खेतीपातीलाई जोड दिइएको रहेछ । बास्मति धानको खेती गरिदो रहेछ । भान्सामा पकाउँदा बाहिर बसाउने उक्त जातको भातसँग घ्यू मिसाएर खाँदाको वर्णन कसरी गरुँ र म ? दुई छाक खाना खाँदा त मैलै आफ्नो घरको भातै पो भुलेछु । गाउँलेहरुले बास्मतिको चामल तीन सय पचास रुपैयाँ पाथीमा बेच्दा रहेछन् । बटौली बजारमा घ्यू बेचेर नूनदेखि सुनसम्म किन्दा रहेछन् ।
तरकारी गतिलै फल्दोरहेछ । सिंचाईको अभावका कारण बारीका पाटाहरु काकाकूल देखिन्थे । तैपनि हामी चैत्र महिनामा जाँदा हिउँदे सिमीको तरकारी आलुसँग मिसाएर खाँदा स्वादै ट्वाक्क । रातोमाटो । लसुन राम्रो फल्दै थियो । बेसार, अदुवा निकै फल्दोरहेछ । बारीका कान्लाहरुमा डालेघाँस देखिन्थे ।
गाउँका पुराना मान्छे हुन् लालबहादुर खड्का । उनी २००७ साले हुन् । बल्ढेङ्गढीको सिम्लेमा जन्मिएका उनी, अझैपनि तन्दुरुस्त छन् । यो उमेरमा पनि उनी गहतेबाट ठूलाखेतसम्म करिव पाँच किलोमीटरको दूरी ४५ मिनेटमा पार गर्छन् । दैनिक । अहिले उनको नाममा ४० रोपनी जग्गाजमीन छ । १५÷१६ वटा गाईहरु छन् । दुई हल गोरु छ । यसपालि पनि आफैले हलो जोते अनि जहान सरस्वतीलाई मकै छर्न लगाइन् । २०२५ सालमा विहे गरेका उनले यतिबेला चार छोरी र पाँच छोराका अभिभावकत्व लिएका छन् । गाई दुहुन्छन् । मोही पार्छन् । हलो जोत्छन् । दैनिकरुपमा जाँदा आउँदा उकालो ओरालो गर्छन् ।
तीन वर्षअघि उनलाई उच्चरक्तचापले झण्डै प्यारालाइसिस नबनाएको रहेछ । दुई तीन दिन उपचार गरेपछि पुनः तन्दुरुस्त भए । अहिले शारीरिक अभ्यासका कारण शरीर खाइलाग्दो छ । दूध, घ्यू स्याम्म पार्छन् । ब्लडप्रेशरको ओखती खान्छन् । बोली उस्तै टाठो छ । सन्तानको अभाव छैन । पीर कान्छो छोरोले विहे गरेन भन्ने बाहेक अरु केही छैन । हृष्टपुष्टकी बुढीमाउ लालबहादुरका साथमै छिन् । चिन्ता छैन ।
२०४७ सालमा आफ्नी आमाले मृत्युवरण गरेपछि आमाको नाममा लालबहादुरले लसुन, प्याज र मासु च्याट्टै छाडेका रहेछन् । यी वस्तुहरु छोड्नुका कारण एउटै रहेछ–घाटमा आमाको टाउको आगोले पोल्दैगर्दा पड्केर उछिट्टिएको गिदी देखेपछि ।
दिनभर गाईबस्तु चराउने, हलो जोत्ने र साँझ आठवजे खाना खाइवरि सुत्ने अनि विहान भालेको डाँकोसँगै चारबजे उठ्ने उनको दैनिकी रहेछ । त्यसैले त लालबहादुर बा तन्तुरुस्त, सक्रिय र क्रियाशील छन् । सकुञ्जेल यही कर्म गर्ने उनको अठोट छ ।
प्रतिक्रिया