ताजा अपडेट »

रुपन्देही प्रहरी कार्यालय अगाडी नै प्रहरीको छापको दुरुपयोग

सोमबार, ०४ बैशाख २०८०

भैरहवा । रुपन्देही प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप सहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय अगाडी स्टेशनरी पसल गरेर प्रहरीकै छाप दुरुपयोग गरेको आरोपमा रुपन्देही प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षिय भान बहादुर अधिकारीलाई नियन्त्रणमा लिएको छ ।

उनले प्रहरीको बदनाम हुने गरि झुठ्ठा विवरण दिएर प्रहरी बिरुद्ध समाचार पनि प्रकाशन गराएको प्रहरीको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालका अनुसार तीन महिना यता सामान्य प्रकृतिका निवेदनहरु प्रहरीको नागरिक कक्षबाटै निशुल्क रुपमा लेखिने ब्यवस्था गरिएको थियो । यसैको रिसिवी साधेर अभियुक्त अधिकारीले प्रहरीको बदनाम गराएको अर्यालको भनाई छ । “अभियुक्त प्रहरी कार्यालय अगाडी बसेर लेखापढी समेत गर्दै आएका थिए, प्रहरीले आफै सेवाग्राहीको निवेदन लेखिदिन थाले पनि अधिकारीको रोजगारी खोसिएको थियो ।” अर्यालले भने “ यसैको रिसिवी साध्न पूर्व प्रहरी समेत रहेका उनले काठमाण्डौंका अनलाईनमा समाचार प्रकाशन गराएका थिए ।”

सञ्चार माध्यममा समाचार आए पछि प्रहरीले सो समाचार बारे अनुसन्धान सुरु गरेको थियो । उल्लेखित सेवाग्राहीहरुलाई बुझ्दा आफुहरुले त्यस्तो कुनै प्रकारको रकम नदिएको बताए पछि थप अनुसन्धानमा अभियुक्त अधिकारीको संलग्नता देखिएको डिएसपी अर्यालको भनाई छ ।
भान बहादुर अधिकारीको पसलमा छापा मार्दा प्रहरीले जिल्ला प्रहरी कार्यालयको छाप पनि फेला पारेको छ । प्रहरी प्रवक्ता अर्यालका अनुसार सरकारी अभियु्क्त अधिकारीले प्रहरी अधिकृतहरुको नक्कली हस्ताक्षर गरि प्रहरीको पत्र आफै तयार गर्ने गरेका थिए । “उनले के कति कागजात तयार गरेका छन यस बारेमा अनुसन्धान गरिरहेका छौं ।” प्रहरी प्रवक्ता अर्यालले भने । उनलाई प्रहरीले सरकारी छाप किर्ते सम्बन्धि मुद्दामा अदालतमा पेश गरेको छ । रुपन्देही जिल्ला अदालतले थप अनुसन्धानको लागि प्रहरीलाई ७ दिनको म्याद दिएको छ ।