३३ घरधूरी सबै मगरजातिको । रेश्मी, गाहा, सारु, रास्कोटी, सूर्यवंशी, राना, बगाले थरका मगरहरुका एकीकृत बस्ती । साविक सत्यवती गाविस, वडा नं. २ मा पर्ने रोकाह गाउँ । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ८ मा पर्छ अहिले उक्त गाउँ । विशेषगरी यहाँका बासिन्दाहरु अर्घाखाँचीको मैदानबाट आएका रहेछन् ।
घरहरु धेरै फुसका थिए । काठका पोलहरुमा विजुलीका तारहरु टाँगिएका भेटिन्थे । लिफ्टििङ्ग खानेपानी तर महंगो । सिंचाइको सुविधा रहेनछ । विकट बस्ती । बाटो त पुग्यो पुरै कच्ची । हिउँदमा धूलो,वर्खामा पूरै हिलो । नाली छैन बाटोमा । चुरे क्षेत्रको गाउँ, माटोमात्र कमलो छैन, मान्छेका मन पनि उस्तै कमलो ।
घरमा मकैका झोत्ताहरु झुण्डिएका छन् । कपडाहरु हेङ्गरविहीन छन् । बारिका पाटाहरुमा मकै छरिएका छन् । गोठमा गाईबस्तुहरु छन । खोरमा बाख्राहरु । युवाहरु गाउँमै छन् पाखोबारी जोत्दै अनिकाल टार्दै । जग्गाहरु करिव ९० प्रतिशत सुकुम्बासी । जंगलकाबीचमा उनीहरुको रमाइलो बस्ती, रोकाह गाउँ । मिहिनेती मगरहरु । चारैतिर दालचिनीका बोटहरु । हामी चैत्रतिर पुग्दा राता पालुवाहरुले दालचिनीको रुपै परिवर्तन ।
गाउँबाट अलिपर राजापानी आधारभूत विद्यालय छ । गाउँका केटाकेटीहरु कक्षा आठसम्म त्यही पढ्छन् । त्यसपछि कि मधेश कि डेढ, दुईघण्टाको पैदल हिडेर सत्यवती माध्यमिक विद्यालयमा पढ्न जानुपर्छ । गाउँमै स्कूल नभएकै कारण पढाईमा केही समस्या छ । दालचिनी बेचेर गाउँलेहरुले घरधन्दा चलाएका छन् । छोराछोरीलाई स्कूल पढाएका छन् । ओखती उपचार गरेका छन् । नूनतेल धानेका छन् । लत्ताकपडा किनेकै छन् ।
सिफारिस लिन वडा कार्यालय रहेको स्थान बुढीदमार पुग्न केउरा छेडा हुँदै पैदल हिड्दा पनि कस्सिएर करिव डेढघण्टा लाग्छ । गाउँपालिका कार्यालय जान त छहरा पुग्दा त दिनै बित्छ । नमिलेको भूगोल, पिछडिएको ठाउँ, अशिक्षित बसोबासी रहेकै कारणले गाउँको विकास कम भएको हुन सक्छ । ग्राभेटीमाध्यमबाट पानी खुवाउन सकिने मुहानहरु पनि छन् तर गाउँलेहरुले लिफ्टिङ्ग खानेपानीले गाउँलेहरुलाई विद्युत महसुलले ढाडै सेकेको छ ।
हामीसँगै रैनादैवी छहरा गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष रेमबहादुर रानासँगै थिए । उनले गाउँको विकासका लागि आफ्नो हरदम प्रयास रहेको बताए । सकेसम्म गाउँमै स्वास्थ्य एकाई, बालविकास केन्द्र, सिंचाइ र बाटोको स्तरोन्नतिका साथै साझा भवन बनाउन पहल गर्ने बताएका थिए । गाउँलेहरुले आफ्नो दुःख देख्ने कोही नभएको बताउँदै थिए । गाउँका अगुवा टीकाराम सूर्यवंशीले गाउँको विकासका लागि बाटोको स्तरोन्नति पहिलो भएको बताएका थिए । गाउँको उत्पादन सहरसम्म पुराउन बाटो गतिलो नहुँदा आफूहरु मर्कामा रहेको बताए । गाउँमा अदुवा, लुसन, तामा, प्याज, तरुल,पिंडालु उत्पादन हुन्छन् तर बेच्न लैजाने बेलामा समस्या भएको बताउँदै थिए ।
सात बहिनी छोरी र एक छोराका बाबु टीकारामले अशिक्षा र परिवार नियोजन सेवाको अभावकै कारण आफूले धेरै सन्तान जन्माउन बाध्य भएको बताए । २०४४ सालमा कक्षा पाँच उत्तीर्ण गरेका टीकारामका सातैजना छोरीहरुले प्लस टु पढेका छन् भन्े छोरो यादवले यसै वर्ष आठ कक्षा उत्तीर्ण गरेको छ । नजिक विद्यालय अभावका कारण पाल्पा सदरमुकाम तानसेन पढाउने योजना बनाएका छन् । आर्थिक अभावलाई झेल्दै उनले छोराछोरीलाई पढाउँदै आएका छन् ।
टीकारामका गोठमा तीनवटा ब्याउने भैसीहरु छन् । दुई हल गोरु छन् । ३०÷४० रोपनी कच्ची, पक्की जग्गाहरु छन् । धानबाहेक, कोदो, मकै पनि उत्पादन हुन्छन् । घ्यू बेचेर नून किन्ने पैसा कमाउँछन् गाउँमा करिव सय,डेढ सय मानिसहरु बस्छन् । गाउँमा जातीय एकता छ । भावनात्मक सम्बन्ध प्रगाढ छ । राजनीतिक विचार भने भिन्नभिन्न छन् । एकतामा अनेकता भनेको यही होला सायद ।
सालझण्डी बजारबाट उत्तरतिर ढोरपाटन हुँदै इटिया नपुग्दै दक्षिणउत्तरतिरको कच्ची बाटोबाट मोटर साइकिलमा करिव एक घण्टा यात्रा गरेपछिमात्र रोकाह गाउँ पुग्न सकिन्छ । यो गाउँ पुग्न धरमपानी, राजापानी गाउँ पार गर्नुपर्छ ।
तरेली परेका बारीका पाटाहरु,सुन्दर एवम् मगमगाउने फूलहरुको सुगन्धले गाउँको सुन्दरतालाई थपेको थियो । टीकारामको घरमै सम्साँझ दालचिनीको स्वादमा चिया पिइयो । एकछिन वडाध्यक्षले विकास निर्माणका कुरा गरे । बल्ढेङ्गढीका सामाजिक अभियन्ता झबिन्द्र रायमाझीले गाउँका कुरा गरे । उक्त गाउँपालिकाका नेता रामप्रसाद ज्ञवालीले मिसन ग्रासरुटका कुरा गरे ।
विहानपख हिड्ने बेला, टोपीमाया सूर्यवंशी भाउजूले तीनघान मकै भुटेर बाटो खर्च राखिदिइन् । गाउँलेका स्नेह, उनीका सम्मान र मायालु व्यवहारले रोकाह गाउँमा रोकिने मन थियो तर समयको अभावले रोकिन सकिएन । मैले र रामप्रसादले ज्याकेटको खल्तीमा भाउजुको स्नेही मकैलाई चपाउँदै चपाउँदै उकालो लाग्यौं । झबिन्द्र र मानबहादुर मोटरसाईकिल चढेर डाँडामाथि हामीलाई कुरेर बसिरहे । मन्दिरनिरको गाउँमा टोपबहादुरसँग भेट भइयो । एक दर्जन रुखमै पोकेको केरा खाएर मोटरसाइकिलमा चढी धरमपानीतिर हुँइकियौं ।
ऊनीकुमारी भाउजूले भातसँगै मसिनो टमाटरको अचार खुवाइन् । ट्वाक्क जिभ्रोमा झुण्डिएको उक्त अचारको स्वादको बयान आजसमेत गर्दैछु । हिड्ने बेला भाउजूले एक कराही पिंडालु उसिन् दिएकी थिइन् । बोक्रा फाल्दै उसिनेको पिंडालु नूनमा डोबेर खाँदा स्वादै मिठो !
दुइटा मोेटरसाइकिलमा हामी केउररा छेडाहुँदै बुढीदमार आयौं । धनकुमारी राना दिदीकहाँ पुग्यौं । उनको तीनवटा टनेल हेर्यौं । तरकारी बेचेर जीवन निर्वाह गरेको थाहा पाइयो । उनकी १५ वर्षे पूर्ण अपाङ्ग छोरी भावनालाई भेटेपछि मनमा अनेक कुरा खेले । रामप्रसाद र मानबहादुरलाई छाडेर हामी चहला पुग्यौं । प्रेमबहादुर थापा र राधिका थापाकहाँ पाहुना बन्यौं । ओमबहादुर घर्तिमगर र सावित्रा रानालाई चहलमा भेट्यौं । प्रेम थापा र राधिकाको प्रेमकहानी सुनेर दङ्ग परेका थियौं । उमेरले तीस वर्षका फरक होलान् ।
राधिका मम्मीले हामीलाई कोदोको ढिंडो दूधसँग खुवाइन् । प्रेम बाबाले कुखुराको झोल ढिंडोमा मिसाइ दिए । प्रेम बाबा भने कोदोको तेल खाएर टाठ्ठिएका थिए ।
जीवनमा नयाँ ठाउँहरु घुमेपछि खुसी हुन्छु । गाउँलेका दुःखले कहिलेकाँही भावुक बनाउँछ । अक्षरमा उनीहरुका चित्र कोर्ने प्रयास गर्छु । शब्दमा उनीहरुलाई संगाल्छु । गाउँलेका प्रेमपूर्ण व्यवहार,हार्दिकतापूर्ण बोली र सम्झना योग्य सम्मानलाई मुटुमा बाँधेर राख्न मन लागिरहन्छ ।
प्रतिक्रिया