कृष्णबहादुर गाहा मगरको गाउँ पाल्पा रैनादेवी छहराको वडा नं. ८ मा पर्ने सत्यतवतीमा छ । २०४६ सालमा बहुदल आएपछि उनी नेपाली काङ्ग्रेसमा समाहित भएर राजनीतिमा होमिए । पछि उनलाई एमालेतिर मन जाग्यो । २०४९ सालमा नेकपा एमालेको तर्फबाट सत्यवती गाविसको अध्यक्षमा उम्मेदवार बने । नेकपा एमालेतिर उनलाई आकर्षित गराउने नेताहरु कुलप्रसाद नेपाल, मीनप्रसाद गैरे लगायतका थिए ।
खोई ! उनको मनका के जाग्यो ? जातीय राजनीतिबाट समाजका अनेक विभेदहरु मुक्त हुन्छ भनेर जातीय राजनीतिमा होमिए । उनीसँगै गाउँका धेरै मगरसाथीहरु उतै लागे । केहीसमय सत्यवतीमा नेकपा एमाले भनेर चिनिने र देखिने नेता, कार्यकर्ताहरु खासै भएनन् । पार्टीको नाम रह्यो, नेता र कार्यकर्ता खासै रहेनन् ।
२०५१ मा देशमा मध्यावधि निर्वाचन हुने भो । नेपाली काङ्ग्रेसको एकमनाको सरकार ढालेर गिरिजाप्रसाद कोइरालाले उक्त निर्वाचन गराउन भूमिका खेलेका थिए । सोही अवसरमा पाल्पाको तीन नम्बर क्षेत्रमा नेकपा एमालेको तर्फबाट विष्णुप्रसाद पौडेलले उम्मेदवारी दिने चर्चा चल्यो । सोही अवसर पारेर कृष्णबहादुर गाहा मगरले आफ्ना सबै साथीहरुलाई समेटेर नेकपा एमालेमा समाहित हुने र विष्णुप्रसाद पौडेललाई विजयी बनाउने योजना बनाए । विष्णुप्रसाद पौडेलको समुपस्थितिमा उनीहरु सबै नेकपा एमालेमा समाहित भए । गाउँ, गाउँमा नेकपा एमालेको प्रचार प्रसारमा लागे । विष्णुप्रसाद पौडेललाई उक्त क्षेत्रबाट विजयी बनाएर खुसी साट्ने अवसर प्राप्त गरेको कृष्णबहादुर गाहाले बताए ।
कृष्णबहादुर गाहा मगर यतिबेला ६४ वर्षका भए । उनको जन्म भारतको लखनऊमा भएको थियो । उनका बाबा नीरबहादुर भारतीय आर्मी थिए । चार छोरी र एक छोराका पिता कृष्णबहादुर गाहा मगर यतिबेला राजनीतिमा सक्रिय नै छन् । उनी २०३८ देखि ४० सम्म भारतमा नै रोजगारीका लागि गएका थिए । २०३५ सालमा विहे गरेका कृष्णले आमाको माया केवल आठ वर्षसम्ममात्र पाएका थिए । कृष्णको छोरोले १२ पास गरेर भारतको मद्रासमा विगत १० वर्षदेखि काम गर्दै आइरहेको छ ।
गाउँले राजनीतिक झगडाका कारण उनलाई कार्तिक पूर्णिमाको रातमा सत्यवतीको भीरबाट गुल्टाइएको रहेछ । करिव दुई सय मीटर तल खस्दा उनका दाँत भाँचियो । ओठ काटियो । रगताम्य भएका रहेछन् उनी । स्थानीय नेता पदम कार्कीको संयोजन र स्थानीयहरुको सहयोगमा उनलाई तानसेन सरकारी अस्पतालमा उपचार गरिएको रहेछ । करिव १५ दिनको उपचारपछि बाँचेर उनी आफ्नै गाउँघर फर्किएका थिए । सो कुरा बताइरहँदा कृष्णबहादुर भावुक देखिए । गाउँमा हुने राजनीतिक झैंभगडा,खिचातानी र तानवका कारण आफूलाई कहिलेकाँही किन राजनीतिमा लागिएछ जस्तो लाग्दो रहेछ कृष्णलाई । तैपनि आफ्नो राजनीतिक आस्थाका कारण पार्टीप्रतिको स्नेह र जिम्मेवारी कम्ति नभएको कृष्णले सुनाए ।
केन्द्रमा नेताहरु एकआपसमा मिल्ने तर गाउँघरमा पार्टीका कारण झैंझगडा हुने चलनले आफू दुखित् रहेको बताउने कृष्णले राजनीतिमा बहस,छलफल हुनुपर्नेमा हातहालाहालको स्थिति आउनुको कारण राजनीतिक सुझबुझ नहुनु नै ठान्दछन् ।
राजनीतिमा स्थायित्व नभएकै कारण देशमा सोचेजस्तो विकास हुन नसकेकको तर्क राख्ने कृष्णबहादुर सत्यवतीमा पार्टीको हस्तीका रुपमा चिचिन्छन् । गाईबाख्रा पालन गरेर जीविकोपार्जन गर्दै आइरहेका उनलाई उच्च रक्तचाप छ । घुँडा दुख्ने समस्या छ । कुनैकुराको अम्मल नभएका कृष्णलाई राजनीतिको अम्मलले भने सताइरहेको छ ।
गाउँमा कुटेपसल चलाएका छन् । सामाजिक क्षेत्रमा क्रियाशील छन् । राजनीतिमा हुरुक्कै हुन्छन् । द्वन्द्वकालमा तत्कालीन माओवादीहरुसँग चन्दाका विषयमा मुकाबिला गरेर अघि बढेका कृष्णले भन्दैथिए–चन्दा भनेको स्वच्छिक कुरो हो । जवरजस्ती मागेर हुँदैन । बरु खान,बस्न दिइयो तर चन्दा भने दिइएन । कृष्णले गाउँमा विजुली,पानी, स्कूल, स्वास्थ्यकेन्द्र आएपनि सहरको सुविधाहरु गाउँमा आउन अझ्ै धेरै समय लाग्ने बताउँदै थिए ।
कृष्णका कथाहरु धेरै छन् । भीरबाट गुल्टाइएरपनि मरेर बाँचेको, द्वन्द्वकालीन समयमा माओवादीहरुसँग जुधेर अघि बढेको, भारतमा बस्दाका तीतापीरा कुराहरु र जीवनसंघर्षका कहरपूर्ण कथाहरु मनमा साँचेर बसेका कृष्णका कुरा सुनिरहँदा मनमा अनेक तर्कनाहरु खेल्छन् । कहिले मन उद्देलित हुन्छ । कहिलेकाँही मन शान्त हुन्छ । कृष्णका कथा सुन्न लायक छन् ।
प्रतिक्रिया