ताजा अपडेट »

बुटवलमा नयाँ वर्षसँगै ग्राहकका लागि प्रतिष्ठित कम्पनीहरुको साझा पसल ‘नेपाली जुत्ताघर’

शुक्रबार, ०१ बैशाख २०८०

बुटवल । नयाँ वर्ष २०८० को शुभारम्भसँगै बुटवलमा प्रतिष्ठित कम्पनपनीहरुका उत्पादन एकै ठाउँमा पाउनेगरी ‘नेपाली जुत्ता घर बुटवल’ को शुभारम्भ भएको छ । बुटवलको मिलनचोकमा अवस्थित डेल्टा मार्टको भुई तल्लामा आजदेखि जुत्ताघर शुभारम्भ भएको हो ।

जुत्ता घरको लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले उद्घाटन गरे । सो अवसरमा बोल्दै पन्थीले नेपाली सामग्रीको उपभोगलाई वृद्धि गरी वैदेशिक व्यापार घाटा कम गर्न सकिने उल्लेख गरे । वार्षिक अरबौंको आर्थिक घाटालाई कम गर्नका लागि नेपाली उद्योग तथा उत्पादनलाई प्रोहोत्साहन गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि सरकार मात्रै नभई उपभोक्ता पनि सचेन हुनुपर्ने उल्लेख गरे । सो अवसरमा बोल्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय, नेपाल फुटवेयर म्यानुफ्याक्चरर एसोसिएशनका अध्यक्ष नानीराज घिमिरे लगायतले स्वदेशी बस्तुको प्रयोगमा जोड दिए ।

नेपाली जुत्ता घर बुटवलका अध्यक्ष होमनाथ उपाध्यायले खुला सीमाना तथा उत्पादनको पाइरेसी प्रमुख समस्याका रुपमा चुनौती बनेको गुनासो गरे । नेपालका जुत्ता उद्योगहरुमा ३५ अर्ब बढी लगानी रहेको तथा ती उद्योगहरुमा ६५ हजार बढीले रोजगार प्राप्त गरिरहेको उनले बताए ।

नेपालका प्रमुख जुत्ता उद्योगहरु एकआसपमा प्रतिस्पर्धा नगरी सहकार्यको थालनीमा अगाडि बढाउँदै उनीहरुले सामूहिक बजार व्यवस्थापनको रणनीति अनुसार जुत्ता घर सञ्चालनमा ल्याएका हुन् ।

पहिलो अभ्यासका रुपमा नेपाली उत्पादनलाई उपभोक्ता बीच सहज ढंगले पुर्‍याउन ९ यस्ता उद्योगले बुटवलमा एकै छानामुनि नेपाली जुत्ता घर संचालनमा ल्याएका हुन् । स्वदेशी फुटवेयर उत्पादनका बारे उपभोक्ताहरुलाई एकै ठाउँबाट अवलोकन र जानकारी गराउने, स्वदेशी उत्पादनको प्रवर्द्धन र कम्पनीका आफ्नै रिटेल आउटलेट मार्फत उपभोक्ता लाई जानकारी गराउँदै बाहिरी बजार समेत विस्तार गर्ने उद्देश्यकासाथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बताए ।

उनी रन सुजका प्रबन्धक हुन् । जुत्ता उत्पादनमा लामो अनुभव संगालेका न्यौपानेले भने– सबैतिर प्रतिस्पर्धा छ, तर हामी सहकार्यका लागि तयार भएर एकै छानामुनि बस्न तयार भएका हौं, यसको एउटै उद्देश्य हो, केही समययता खस्कन थालेको नेपाली जुत्ताको उपभोक्ता सचेतना बढाउने नै हो । न्यौपानेले विदेशी जुत्ता चप्पल, छालाका वस्तुहरुको आयातलाई प्रतिस्थापन गरी नेपाली उत्पादनको प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको उल्लेख गरे ।

जुत्ता घरमा स्कूल सुज, क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी वेयर लगाएतका जुत्ता चप्पलहरु उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट मार्फत ५ हजार बढी मोडलका उत्पादनहरु उपलब्ध रहेको जुत्ता घरका सञ्चालक चोलाप्रसाद पाठकले जानकारी दिए । सोही अवसरमा १ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरु समेत नयाँ वर्षको अवसरमा उपलब्ध गराईएको साथै शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने पाठकले बताए ।

जुत्ता घरभित्र हाल पवित्र शुज इण्डष्ट्रिज प्रालिको शुल्यान्ड, रन शु इण्डष्ट्रिज प्रालिको रन शुज, बेस फुटवेयर इण्डष्ट्रिज प्रालिको बि एफ डियर हिल, लालिगुरास फुटवेयरको कस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुज इण्डष्ट्रिज प्रालि को बल्याक हर्स, स्मार्ट शुज इण्डष्ट्रिजको स्मार्ट, रोयल शुज इण्डष्ट्रिजको रोयल तथा एक्सन शुज इण्डष्ट्रिजको टुरिष्ट तथा शिखर शुज ईण्डष्ट्रिजको शिखरब्राण्डका उत्पादनहरु उपलब्ध रहेका छन् ।

नेपालका उत्पादनबारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सञ्चालक उत्तम देवकोटाले बताए । बुटवलमा सञ्चालनमा ल्याइएको जुत्ताघर सफल भएमा देशका अन्य शहरमा पनि शाखा विस्तार गर्ने लक्ष्यमा रहेको उनले बताए ।

नेपालमा हाल १५ सय फुटवेयर उद्योगहरु रहेका छन् जसमा अधिकांश घरेलु तथा साना उद्योगका रुपमा रहेको नेपाल फुटवेयर संघका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी गराए । यसबाहेक घरेलुरुपमा उत्पादन गर्ने साना पसलहरु यसमा समावेश भएका छैनन् । यस क्षेत्रमा ४० अर्ब बढी लगानी हुनुका साथै हजारौंले प्रत्येक्ष रोजगार प्राप्त गरिरहेको उनले बताए ।

फुटवेयर संघका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले बिगतमा ७० देखि ७५ प्रतिशतसम्म नेपाली उत्पादनले थेगेको जुत्ताको बजार अहिले केही कम भएको छ । देशभरको अनौपचारिक तथ्यांकलाई आधार मान्दा अहिले करिब ६० प्रतिशत हाराहारीमा नेपाली उत्पादनले थेगेको र अब यसलाई क्रमशः बढाउनुपर्ने बताए ।

जुत्ताघर शुभारम्भको अवसरमा शुक्रबार रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ । नेपाल स्वयं सेवी रक्तदाता समाजको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा सय यूनिट बढी रगत संकलन भएको संघका अध्यक्ष कृष्ण चौहानले जानकारी दिए ।