पुस २७,
ग्लोबल आवाज
बुटवल । पर्या–पर्यटनको विकासका लागि रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. १ मा रहेको सिमसार क्षेत्र दानापुर (गजेडी) तालमा ११ औं दानापुर ताल महोत्सवको आयोजना हुने भएको छ । तालको प्रचार प्रसार र पर्यटन प्रवर्द्धनका लागि विगत वर्षमा भन्दा वृहत स्तरमा ताल महोत्सवको आयोजना गर्न लागिएको आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए । समयमाई सामुदायिक बन उपभोक्ता समूहको आयोजनामा यही माघ १५ गतेदेखि २६ सम्म सञ्चालन हुने महोत्सवको तयारी शुरु भएको बनका अध्यक्ष मिन बहादुर थापाले जानकारी दिए ।
प्रदेश- ५ कै नमुना पर्यटकिय स्थल दानापुर तालको विकास र प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित महोत्सवमा विभिन्न जिल्लाबाट एक सय ५० स्टल सहभागी हुने छन् । महोत्सवभित्र स्थानीय आदिवासी जनजातिका खानाका परिकार, कला संस्कृति, कृषि लगायतका स्टल रहनेछन् । महोत्सव सञ्चालन गर्नको लागि कञ्चन गाउँपालिका र स्थानीयको साथ सहयोग रहने कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरिनारायण थारुले बताए । महोत्सवमा भलिबल प्रतियोगिता, डान्सिङ आइडल, महाबिर पुन लगायत वैज्ञानिक र उनीहरुका आविस्कार, राष्ट्रिय खेलाडीहरु, ८४ ब्यञ्जन खानाका परिकार, तालमा डुङ्गा शयर, राष्टिज्ञय र स्थानीय कलाकारको प्रस्तुति आकर्षणको रुपमा रहने महोत्सव संयोजक श्रीराम तिमिल्सिनाको भनाई छ । तालमा पाइने माछाका परिकार सहित खाना पकाउने र खाना खाने प्रतिस्प्रर्धा समेत महोत्सवमा राखिएको उनले बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जीसीले दानापुर ताल कञ्चन गाउंपालिकाको आर्थिक विकास र समृद्धिको लागि महत्वपूर्ण सम्पदा भएकाले पर्यटकीय पुर्वाधार थपेर विकास गर्नुपर्ने सुझाव दिए । महोत्सव सफल बनाउन व्यापक प्रचार प्रसार गरिने र विगत वर्ष भन्दा दोब्बर बढी दर्शक उतार्ने लक्ष्य रहेको प्रचार प्रसार संयोजक दिनेश घिमरेले बताए । पत्रकार सम्मेलनमा विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले समेत ताल महोत्सव सफल बनाउनु सबैको दायित्व भएको धारणा राखे । कुनै समय गाईवस्तु र चराचुरुङ्गीलाई पानी खुवाउन संरक्षण गरिएको रूपन्देहीको दानापुरस्थित सानो पोखरी अहिले ‘फेवा ताल’ बन्दैछ । काँडे लहरा अनि अजम्बरीले ढाकिएको झाडीको बिचमा रहेको त्यो बेलाको सानो पोखरी अहिले १९.५ हेक्टर क्षेत्रफलमा विस्तार भई पर्यटक लोभ्याउने गन्तव्य बनेको छ । कञ्चन गाउँपालिका–१ मा रहेको यो ताललाई स्थानीयवासीले २०३८ सालदेखि संरक्षण शुरुवात गरेतापनि प्रचार प्रसार र प्रवद्र्धनको अभावमा लामो समयदेखि ओझेलमा रह्यो ।
समयमाई सामुदायिक वन उपभोक्ता समूहको गठनपछि संरक्षणले गति लिन थाल्यो र २०६८ सालमा राष्ट्रिय ताल संरक्षण समितिले दिएको ४ लाख बजेटबाट ताल वरिपरी बाटो बनाएपछि भौतिक निर्माणको क्रमले तीव्रता पाएको छ । ताल परिसरमा दर्जनौं पिकनिकस्थल निर्माण गरिएको छ भने खुल्ला स्थानमा झन्डै ५० समूहमा पिकनिक खान मिल्ने गरी स्थान व्यवस्थापन गरिएको छ । तालमा आन्तरिक र वाह्य पर्यटकको आगमन बढ्न थालेपछि तालको १० वर्षे गुरुयोजना निर्माण गरिएको छ । सिमसार क्षेत्रमा समेत सूचीकृत ताललाई नमूना पर्यटकीय स्थल बनाउन एक अर्ब रुपैयां लागतको गुरुयोजना निर्माण भएको छ । गुरुयोजनासंगै तालको क्षेत्रफल विस्तार गरी २२ हेक्टर पु¥याउने लक्ष्य छ । तालसहित ९२.०२ हेक्टर क्षेत्रफलमा फैलिएको समयमाई सामुदायिक वन उपभोक्ता समूहको गुरुयोजना अनुसार तालको सौन्दर्यता र आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढाएर पोखराको फेवा ताल जस्तै बनाउने लक्ष्य रहेको वनका अध्यक्ष मिनबहादुर थापाले बताए ।
गुरुयोजनामा दानापुर तालको पर्यटकीय आकर्षणलाई बढाउन दानापुर ताल परिसरमा करिब १० करोड लागतमा ६० मिटर अग्लो १५ तले भ्यू टावर बनाइने भएको छ । यस्तै भ्यू टावरको छेउमा करिब ६ करोड लागतमा दुई वटा स्वीमिङ पूल सहित सुविधासम्पन्न वाटर पार्क पनि बन्ने भएको छ । यस्तै तालको बीचमा आइल्यान्ड जलभूमि निर्माण गरिने छ । भ्यू टावरको पुर्वतर्फ करिब एक हजार क्षमताको ध्यान÷योगा केन्द्र (मेडिटेसन सेन्टर) र उत्तर–पुर्वतर्फ चिडियाखाना बनाउने योजना रहेको सामुदायिक वनका अध्यक्ष मिनबहादुर थापाले बताए । ताल प्रवेशका लागि काठको बनावटमा आकर्षक प्रवेशद्वार, बोटानिकल गार्डेन, सेमिनार हल, खेल मैदान, संग्रहालय, भ्यू टावरको उत्तरतर्फ लभ पार्क पनि बन्ने छ । यस्तै खुल्ला प्रस्तर कला मुर्तिकला कार्यशाला स्थल समेत बनाइने छ ।
यस्तै दुईसय चार पाङ्ग्रे र एक हजार दुई पाङग्रे सवारी साधन राख्न मिल्ने गरी पार्किङ स्थल बनाइने छ । ताल वार पार गर्न र पिकनिक स्थल जान आकाशे पुल पनि बनाइने छ । तालको वरिपरी हरियाली वातावरणलाई यथावत राख्न वृक्षारोपण, पर्यटक तथा स्थानीयका लागि मर्निङ वाक र जगिङ गर्न मिल्ने गरी ताल वरिपरी अपांगमैत्री फुट ट्रेक निर्माणलाई गुरुयोजनाले समेटेको छ । तालको वरिपरिको लम्बाई करिब ५ किलोटिर रहेको छ । तालको बाहिर र भित्र दुबैतर्फ फुट ट्रेक बनाइने अध्यक्ष थापाले बताए । ताललाई आकर्षक बनाउन पुरै तालको वरिपरि फक्स लाइट जडान गर्ने योजना पनि छ । तालमा बाहिरको पानी र अन्य फोहोर पदार्थ मिसिन नदिन ताल वरिपरि नाली निर्माण गरिने पनि गुरुयोजनामा समेटिएको छ । स्थानीयको आय आर्जन बढाउन स्थानीयकै लगानीमा ताल नजिकका बस्तीमा होम स्टे सञ्चालन पनि गरिने गुरुयोजनामा राखिएको छ ।
‘दानापुरलाई पोखराको प्रसिद्ध फेवा ताल जस्तै बनाउने लक्ष्य छ’–अध्यक्ष थापाले भने–‘गाउपालिका, प्रदेश सरकार र संघयि सरकारबाट गुरुयोजना अनुसार पुर्वाधार बनाउन वजेट अभाव हुन नदिने प्रतिवद्धता आएको छ ।’ आउंदो पांच वर्ष्भित्र गुरुयोजना अनुसारका पुर्वाधारका काम पूरा गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । ४३.७८ हेक्टर क्षेत्रलाई पर्या–पर्यटन क्षेत्रको रुपमा निर्धारण गरिएको ताल क्षेत्रमा दुर्लभ वनयजन्तुहरु समेत देख्न पाइन्छ । ताल क्षेत्रमा विरालो, चित्तल, बाघ, ब्वांसो, ढेडु, हरिण, मृग, जरायो, बंदेल, निल गाई, दुम्सी, स्याल, खरायो, जरायो जस्ता वन्य जन्तुको दृश्यावलोकन गर्न पाइन्छ । यो तालमा विभिन्न प्रजातिका हांसहरु, सारस पनि पाइन्छ भने घुमुवा कोकल, सुगा, जुरेली, लाहाचे, वन कुखुरा, निलकण्ठ डाङ्ग्रे, भंगेरा, ढुकुर, काग, लाटोकोसेरो, मैना, चिल, गिद्ध र गरुडलगायतका चराचुङ्गी देख्न पाइन्छ ।
पञ्चायतकालदेखि नै तालको माछा ठेक्का दिने चलन रहेको यो ताल स्थानीय द’र्लभ जातका माछाको बासस्थान पनि हो । भोटी, सिद्रा, खोस्टी, झिङ्गा, पाते सिद्रा, बाम जस्ता दुर्लभ जातका माछा यहां पाइन्छ भने तालमा ग्रास, मांगुर, नैनी, कमन कार्प, रहु विकेट प्रजातिका माछा पालन गरिएको छ । ताल क्षेत्रमा पुरानो मन्दिर समयमाई मन्दिर समेत छ । वनको नामसमेत यही मन्दिरको नामबाट नामाकरण भएको छ । तालको बीचमा बुद्धको मुर्ति समेत राखिएको छ । धार्मिकरुपमा समेत यो क्षेत्र परिचित छ । साथै तालको बिचमा शिवालय मन्दिर निर्माण गरिंदैछ ।
तालको क्षेत्रको भुबनोट पहाडी जिल्लाको जस्तो देखिन्छ ।
उपत्यकामा ताल छ भने त्यसको सरेोफेरोमा पहाडी संरचनाको अनुभुति हुन्छ । कञ्चन गाउंपालिकाको समृद्धिको आधार स्तम्भ दानापुर ताल नै भएकाले यसको पूर्वाधार विकास गर्न चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट डेढ करोड बजेट व्यवस्थापन भएको छ । तालमा माछा पाल्न र डुंगा चलाउन स्थानीयलाई ठेक्का दिइएको छ । त्यसवापत वार्षिक करिब १० लाख रूपैयां आम्दानी हुने गरेको छ । ताल क्षेत्रमा पर्यटकको आकर्षण बढेसंगै अघिल्लो वर्ष राष्ट्रपति चुरे संरक्षण समिति मार्फत नेपाली सेनाले २ करोड खर्चेर उत्तरतर्फको ५ दशमलव ५ हेक्टर सीमसार क्षेत्र सरसफाई गरी फराकिलो बनाएको छ । तालको उत्तर तर्फको भागलाई सिमसार र दक्षिणतर्फको १३ दशमलव ५ हेक्टर क्षेत्रलाई डुंगा शयर (नौका विहार) क्षेत्रको रुपमा विकास गर्ने वनको योजना छ ।
बुद्ध जन्मस्थल लुम्बिनीबाट १७ किलोमिटर उत्तर पश्चिममा र बुटवलदेखि २३ किलोमिटर पश्चिम दक्षिणमा अवस्थित यो तालमा लुम्बिनी आउने पर्यटकलाई ल्याउन टुर प्याकेज योजना पनि बनाउने क्रममा रहेको अध्यक्ष थापा बताउंछन् । हाल वार्षिक तीन लाख बढी आन्तरिक र वाह्य पर्यटक आउने गरेको वनका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद घर्तीमगरले बताए । तालमा हिउंद याममा पानी कम हुने भएकाले कन्चन गाउपालि वडा नं. १ कै पहिला नदीको पानीलाई लिफ्टिङ प्रणालीबाट तालमा ल्याइने उपाध्यक्ष घर्तीले बताए । हाल बनेका करिब ५० वटा पिकनिक सेडलाई तालको उत्तर–पश्चिम सारिने योजना छ ।
प्रतिक्रिया