ताजा अपडेट »

स्वास्थ्यचौकी निर्माणका मजदुरले तीन वर्षदेखि पारिश्रमिक पाएनन्

सोमबार, २७ चैत्र २०७९
1 Shares

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा काम गरेका ज्यालादारी कामदारले तीन वर्ष पुग्न लाग्दा समेत पारिश्रमिक पाएका छैनन् । २०७७ साल असार मसान्तमै सम्पन्न भएको स्वास्थ्यचौकीको भवन निर्माणका क्रममा श्रम र पसिना बगाएका कामदारले हालसम्म ठेकेदार कम्पनी सुबेदी–चम्पेश्वर जेभी, काठ्माडौंबाट पारिश्रमिक नपाएका हुन् । सुवेदी–चम्पेश्वर जेभीका रुपचन्द्र खनाल, कृष्ण आचार्य, आदर्श ढकाल लगायतका ठेकेदारले काम लगाएर पारिश्रमिक दिन आलटाल गरेको कामदारको गुनासो छ । 

सुवेदी–चम्पेश्वर जेभीका प्रतिनिधि गैर–जिम्मेवार बनेकाले हालसम्म नौ लाख २० हजार १५० रुपैयाँ पारिश्रमिक नपाइएको कामदारको अगुवाई गरेका टंकराज राईले बताए । भवन बनेपछि टंकराजको नेतृत्वमा स्थानीय कामदारले भवनमुनि जाली वाल, भवनको कुलेसोमाथि मेसिनरी वाल, नालीपेटी, तार घेराबारा, शौचालयको हज, रंगरोगन लगायतका बाहिरि संरचनाको काम गरेका थिए । तर, श्रम गरेवापतको पारिश्रमिक तथा होटलको खाना खाजा वापतको पैसा हालसम्म भुक्तानी नभएको होटल सञ्चालक भविन्द्र राईले बताए । 

सुरुमा सुवेदी–चम्पेश्वर जेभीले कामदारलाई १५ लाख दिन बाँकी राखेको थियो । संघर्ष समिति बनाएर आवाज उठाउँदै जाँदा क्रमशः नौ लाखमा झारेको हो । घरको दुःख टार्नका लागि दिनरात गरेको श्रमको मूल्या वर्षौंसम्म नपाउँदा कामदार निराश छन् । बाँकी पारिश्रमिक नपाएको आक्रोशमा स्वास्थ्यचौकीमा तालाबन्दीदेखि प्रशासन पुगेर हारगुहार माग्दा पनि माग पुरा नभएपछि कामदार थकित बनेका छन् । हाल ठेकेदारलाई फोन गर्दा नउठाउने, उठाए पनि ‘नचिन्ने’ र ‘थाहा नभएको’ बताउने गरेका छन् । 

ठेकेदारलाई झिकाएर बाँकी पारिश्रमिक दिलाउन माग गर्दै २९ कामदारले २०७७ भदौ ३० गते वडाध्यक्ष तथा स्वास्थ्य समिति समक्ष निवेदन दिएका थिए । ठेकेदारले पारिश्रमिक दिन बेवास्ता गरेपछि कामदारले २०७७ चैत ३ गते हरिबहादुर बुढाथोकीको संयोजकत्वमा संघर्ष समिति गठन गरेको थियो । कामदारको निवेदन परेपछि तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी बिकल श्रेष्ठले आवश्यक कारबाहीका लागि २०७८ बैसाख ९ गते सघन शहरी विकास तथा भवन निर्माण आयोजना समक्ष पत्राचार गरेको थियो ।

    पारिश्रमिक नपाएको आक्रोशमा कामदारले २०७८ असार १४ गते स्वास्थ्यचौकीमा ताला लगाएका थिए । बाँकी भुक्तानी दिलाइदिन माग गर्दै २०७८ असार ९ गते होटल सञ्चालकले पनि ठेकेदार विरुद्ध प्रशासन समक्ष निवेदन दिएका थिए । 

स्थानीय तहलाई हस्तान्तरण नगरी भवन सञ्चालन फिनिसिङ नहुँदै स्वास्थ्यचौकी राजापानीको भवन नगरपालिका र वडा कार्यालयलाई हस्तान्तरण नगर्दै सञ्चालनमा ल्याएको पाइएको राजापानीका वडाध्यक्ष अनिश कार्कीले बताए । भवनको प्रांगण पुःननिर्माण गर्नुपर्ने गरी चर्केर भासिएको छ । प्रांगण चर्किँदा कम्पाउण्ड पनि भासिएको छ । 

भवनको टपमा सोलार प्यालन जडान नगरी राखिएको छ । छतमा राखिएको ट्यांकीमा जम्मा गरिएको पानी अन्यत्र लिक हुँदा स्वाथ्यचौकीभित्रका धारामा पानी नआउने समस्या छ । शौचालयको हज भरिएर फोहोर बाहिर निस्कन थालेको छ ।

ढोका नलाग्ने, लागे पनि चाँबी नलाग्ने, कोठामा बिछ्याइएका मार्वल फुट्ने, कोठाका बत्ती नबल्ने लगायतका समस्याले स्वास्थ्यकर्मी आजित छन् । कमसल काम भएकै कारण वडा तथा नगरपालिकालाई हस्तान्तरण नगर्दै स्वास्थ्यचौकीको भवन सुटुक्क प्रयोगमा ल्याइएको स्थानीय हरिबहादुर बुढाथोकीले बताए ।