ताजा अपडेट »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा किन देखियो उदासिनता ?

शनिबार, २५ चैत्र २०७९

भैरहवा । मुलककै दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा यसै बर्षको जेठ २ गते गौतम बुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल उद्घाटन हुदै गर्दा सबै भन्दा बढी यहाँ ब्यवसायी हौसिएका थिए । बिमानस्थल निर्माणसंगै यस क्षेत्रमा होटल, ट्राभल लगायतका पर्यटन ब्यवसायले फड्को मार्ने यहाँका ब्यवसायीको अपेक्षा थियो । सोही बमोजिम नीजि क्षेत्रले यहाँ ठूलो लगानी गरेका थिए । तर सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै ब्यवसायीहरुलाई बिमानस्थलले निराश बनाएको छ । आफ्नै आँगनमा रहेको अन्तर्राष्ट्रिय बिमानस्थल नियमित सञ्चालनमा आउन नसक्दा उनिहरुलाई आन्दोलित बनाएको छ ।

बिमानस्थल सञ्चालन हुन नसक्दा नीजि क्षेत्रको अरबौको लगानी डुब्ने खतरामा रहेको ब्यवसायीहरुको भनाई छ । राज्यबाटै विमानस्थल सञ्चालनमा उदासिनता देखाइएको भन्दै उनीहरुले प्रश्न उठाउन थालेका छन् । यसर्थ यहाबाट नेपालका हवाई सेवा प्रदायक कम्पनीहरुले सेवा दिई बिमानस्थललाई नियमित रुपमा सञ्चालनको लागि स्थानीयहरुले अपिल गरेका छन् । कतैबाट सुनुवाई नभएपछि चेम्बर अफ कमर्शको अगुवाईमा यहाँका २ दर्जन बढी संघ संस्थाहरुले शुक्रबार दिउसो करिब २ घण्टा अन्तर्राष्ट्रिय बिमानस्थल अगाडि प्रदर्शन गरेका छन् । मुलुकको ४० अर्ब लगानी भई सञ्चालनमा आएको विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि सरकारले चासो नदिएको ब्यवसायीहरुको आरोप रहेको छ ।

विमानस्थललाई केन्द्रित गरी अर्बौ रुपैयाँ लगानी गरेका पर्यटन व्यावसायीहरुको लगानी डुब्ने स्थितीमा रहेको भन्दै भैरहवा, रुपन्देही, लुम्बिनी प्रदेश मात्रै नभई समग्र देशको विकासका लागि पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउनु पर्ने चेम्बर अफ कमर्श रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउछन् । विरोध नगरे केही नहुने परिपाटी नेपालमा बसेकाले आन्तरिक उडानमात्रै गर्दै आएको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु थप नभए आन्तरिक उडान पनि ठप्प पार्न बाध्य हुने अध्यक्ष ज्ञवालीले चेतावनी दिए । “एउटा जजीरा मात्र सञ्चालनको लागि बिमानस्थल सञ्चालनमा ल्याएका हो भने यो हामीलाई मान्य छैन ।” आक्रोशित हुदै ज्ञवालीले भने “यस्तै रहे र हाम्रो माग सुनुवाई नभए भोलीका दिनमा आन्तरिक उडान पनि हुन दिदैनौ ।”

अन्तर्राष्ट्रिय बिमानस्थलबाट अहिले जजीरा एयरले मात्र न्यारोबडी बिमान मार्फत सातामा ३ उडान गर्दै आएको छ । नेपालकै हिमालय एयरलाईन्सले केही दिन क्वालालम्पुर–भैरहवा चार्टड उडान गरे पनि अहिले पूर्ण रुपमा रोकेको छ । बिमानस्थल निर्माणपछि यहाँका निजि क्षेत्र निकै उत्साही देखिएका थिए । जसको फलस्वरुप यहा अरबौको लगानीमा होटल तथा पर्यटन संग सम्बन्धित अन्य पूर्वाधारहरु निर्माण गरिएका छन् । बिमानस्थल सञ्चालनमा आएको अन्यौलतका कारण यहाँका नीजि क्षेत्र पनि निराश छन् । बिमानस्थल सञ्चालनसँग जोडिएको सुविधाहरु यहाँ नहुँदा पनि हवाई कम्पनीहरुले उडानमा चासो दिएका छैनन् । भैरहवामा श्रम कार्यालय खुले पनि यसमा सहयोग गर्ने मेनपावर, भिसा सेन्टर, स्वास्थ्य परीक्षण लगायतका सुविधा नहुँदा यात्रुहरु काठमाण्डौंबाट नै उडान भर्न रुचाउने गरेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालनमा सरकारनै उदासिन रहेको यहाँका स्थानीयबासीहरुको ठम्याई रहेको छ । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका स्थानीय ठाकुर कुमार श्रेष्ठले सरकारले नै भैरहवाबाट उडान गर्न नचाहेको आरोप लगाए । “यौ चैत्र मसान्तको समय भनेको त हामीले बैंकको ब्याज र किस्ता कसरी बुझाउने भनेर सोच्नु पर्ने समय हो, तर सरकारी रवैयाको कारण अन्तर्राष्ट्रिय बिमानस्थल अगाडि धर्ना बस्नु परिरहेको छ ।”, ठाकुरले भने

यस्तै सिद्धार्थनगर नगर पालिकाका प्रमुख ईस्तियाक अहमद खाँनले बिमानस्थल भैरहवा र रुपन्देहीको मात्र नभई देशको आर्थिक मेरुदण्डको रुपमा रहेको बताए । उनले यहाँ स्थानीयहरुको पनि उत्तिकै लगाव रहेको बताए । “भोलीको सुन्दर भविष्यको लागि भन्दै हामीले सयौ बिगहा जग्गा बिमानस्थल निर्माणको लागि दिएका छौ ”–खाँनले भने “तर सरकारको उदासिनताकै कारण आन्दोलित हुनु परिरहेको छ, यस्तै रहे आन्तरिक उडान पनि रोक्नेछौं ।”

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले भैरहवाको बिमानस्थल नयाँ भएको कारण अहिले नै आत्तिनु पर्ने अवस्था नरहेको बताउँछन् । “हामी पहिचान बनाउँदै छौं, बिस्तारै हामीलाई विश्वकै हवाई निकायले चिन्दै गईरहेको छ ।” उनले भने “स्थानीयहरुको चासो राम्रो भए पनि यस्तो अवस्थामा बिमानस्थलको छवि खराब हुने क्रियाकलाप गर्नुहुँदैन ।”
उनले नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली बिमान कम्पनीहरुलाई भैरहवा ल्याउने प्रयास भईरहेको बताए । यसका लागि नेपाल वायुसेवा निगमले काम पनि अगाडि बढाई सकेको र करिब ७० प्रतिशत काम सकिएको उनको भनाई छ । गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल पूर्ण रुपमा सञ्चालनको लागि तयार रहेको उनको भनाई छ ।

करिब ८ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा ३ किलोमिटरको रनवे रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरण हुन सक्ने यहाँ ४ वटा न्यारोबडी र १ वटा वाईडबडी गरि ५ वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ्ग गर्न सकिन्छ ।
भैरहवा बिमानस्थलमा हाल अन्तर्राष्ट्रिय वायु सेवाहरुलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, संचार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो बर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ । यसैगरि नेपाल वायु सेवा निगमले लिने ग्राउण्ड हैण्डलिङ सेवा शुल्कमा कार्तिक १५ गतेदेखि लागु हुने गरि ५० प्रतिशत छुट दिईरहेको छ ।