ताजा अपडेट »

बल्ढेङ्गढी पुगेपछि..

शनिबार, २५ चैत्र २०७९

पाल्पाको सुदूरपश्चिम भनेर चिनिने रैनादेवी छहरा गाउँपालिकाको बल्ढेङ्गढी प्राकृतिक सुन्दरता, ऐतिहसिक एवम् पुरातात्विक महत्व बोकेको ठाउँ हो । बल्ढेङ्गढीमा रहेको बलिहाङ्ग राजाको भग्नावशेष दरवार, त्यहाँ रहेको मन्दिर अनि सोही स्थानबाट देखिने सुन्दर हिमाल, पहाड र तराइका फाँटहरुले मनै लोभ्याउने गर्छन् । हिउँदका बेला तुँवालो नलाग्दा सोही स्थानबाट लुम्बिनीलाई नाङ्गो आँखाले देख्न सकिने कुरा स्थानीय सामाजिक अभियन्ता भबिन्द्र रायमाझीले बताएका थिए ।

रैनादेवी छहरा गाउँपालिकाको वडा नं. ७ मा पर्ने बल्ढेङ्गढीमा विभिन्न टोलबस्तीहरु छन् । सुकादमार, जोगदमार, गहते, लौधापानी, चिदीपानी, काउले, धारापानी, ढाव, बल्ढेङ्, मौलाडाँडा लगायतका बस्तीहरुले गाउँलाई परिचित गराएका छन् । विशेष गरेर खड्का, रायमाझी, मगर, कुमाल र दलित जातिहरुको बसोबास रहेका यी स्थानहरुमा कृषि, पशुपालन नै आयस्रोतका मुख्य बाटा रहेछन् ।

गाउँमा कच्ची बाटाहरु पुगेका छन् । विद्यालयहरु छन् । स्वास्थ्य चौकी,हुलाक सेवा छ । थोरबहुत पानीको सुविधता पुगेको छ । सिंचाइको अभाव देखिन्छ । पशुपालन त छ तर अव्यवस्थित । दालचिनी खेती भएपनि बजार पुग्न र उचित मूल्य पाउन सकेको छैन । अम्रिसो खासै देखिएन । सिंचाइको अभावले बारीका पाटाहरु उराठ देखिन्थे । हिउँदोमा धूलो र वर्षामा हिलो हुने कच्ची बाटोले तराइका सालझण्डी र रामापुर जोडेपनि गाउँबाट सहर पठाउने उत्पादन छैनन् । धान, कोदो राम्रै उत्पादन हुने यी गाउँहरुमा नगदेबालीका रुपमा रहेको तरकारीले व्यवसायिक हुन नसकेका रहेछन् । बजारबाट जाने चाउचाउ, कोकाकोलाहरुले गाउँमा साम्राज्य जमाएकै छन् । भुटेका मकै,मोही गाउँलेहरुले बिर्सिने हुन् कि भन्ने डर स्थानीय अगुवा कुलबहादुर खड्काको मनमा ताजै छ ।

आरु, नास्पाति, कटहर, केरा र सुन्तला खेती हुने बोटहरु देखेर थाहा भयो । केराका थामहरुलाई टेको लगाएको देख्दा अचम्म लाग्यो । ससाना खोल्साहरु हिउँदमा सुख्खा थिए तर वर्षामा उर्लेर आउने भएकै कारण काठका ससाना साँघु वा फड्केहरु भेटिन्थे । साँघुका पटराहरु पानीले कुहिएका थिए । हिड्दा पनि मनै काँप्ने खाले थिए कतैकतै ।

बारीका डिलहरुमा बार्दलीवाला सुन्दर घरहरु भेटिन्थे । कहिंकतै घरमा भोटे ताल्चा ठोकेका देखिन्थे । गाउँमा बिजुली पुग्यो । बाटो पुग्यो तर सेवा भोग गर्नेहरु गाउँबाट बसाइँ सरेकै कारण ढोकाहरुमा भोटे ताल्चा ठोकिएको हुनुपर्छ । गाउँमा आम्दानीका बाटाहरु सारै साँघुरो रहेछ । कमाइ खाने बाटो धेरै देखिएन । देश,परदेश जानेहरु केही रहेछन् । नेपालमै सरकारी जागिर खानेहरु औंलामा गन्न सकिने रहेछन् । गाउँमा ससाना कुटे पसलहरु छन् ।

ती उल्लेखित गाउँहरुमा संस्कार र सभ्यता भने जिउँदै रहेछ । सानाले ठूलालाई ढोग गर्ने चलन खुबै प्रशंसनी लाग्यो । यो सम्माननीय संस्कार, सभ्यताले नेपालीपनलाई झल्काउँदछ । गाउँमा केही गाउँलेहरुले विदेशबाट फर्केपछि ब्रोईलर कुखुरा,बंगुरपालन गर्न थालेका रहेछन् । उनीहरुलाई वर्षामा दाना ल्याउन गारो रहेछ । ती उत्पादित बस्तुहरु बेच्न फेरि सहर नै ताक्नुपर्ने बाध्यकारी अवस्था रहेछ । गाउँका केही युवाहरुले कृषिलाई आधुनिकीकरणसँग जोड्न खोजेका रहेछन् तर आर्थिक एवम् प्राविधिक ज्ञानका अभावले त्यसो हुन सकेको रहेनछ ।

गाउँमा चारैतिर कच्ची बाटाहरु खनिएका छन् । स्तरोन्नतिका अभावले दुर्घटना बढेका रहेछन् । बाटोमा नाली र ग्राभेल हुन सकेमा गाउँलेहरुले वर्षामा समेत सहरका मुख देख्न सक्थे होलान् । वर्षमा करोड बढी गाउँपालिकाबाट वजेट आएपनि सो बजेट अपुग रहेको अनि भौगोलिक कठिनाइका कारण सोचेजस्तो विकास र उन्नति सम्भव नभएको सोही वडाकी सदस्य एवम् कार्यपालिका सदस्य सुकमाया विकले बताइन् ।

गाउँलेहरुले विभिन्न पर्वहरु मनाउँदै आएका छन् । कूलपूजा र देवाली मनाउने चलन भने भव्य हुँदोरहेछ । गाउँमा आउने इष्टमित्रहरु र पाहुनाहरुलाई गरिने स्वागत एवम् सत्कार राम्रो लाग्यो । हार्दिकतापूर्ण व्यवहार,मिठो बोली र मैत्रीपूर्ण व्यवहार नै गाउँको परिचय रहेछ ।

गाउँमा व्यवस्थित पशुपालन सम्भव छ । आधुनिक कृषिले फड्को मार्न सक्छ । आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई बल्ढेङ्गढीसम्म पुराउन सकेमा पर्यटकहरुलाई खाजा,खाना खुवाउने होटल चल्न सक्छ । उनीहरुलाई गाउँमै बसाल्न सकेमा होमस्टेहरु चल्न सक्छन् । पर्यटकहरुलाई देखाउने सांस्कृतिक कार्यक्रमबाट गाउँको लोपोन्मुख संस्कृतिको संरक्षण सम्भव हुन सक्छ । गाउँलेहरुले आर्थिक लाभ लिन सक्छन् । स्थानीय उत्पादनका रुपमा रहेका कोदोबाट बनेका रोटी,ढिंडो र रक्सी पर्यटकहरुलाई खुवाएर आम्दानी गर्न सकिन्छ । लोकल कुखुरा,साग, घ्यूबाट समेत पैसा कमाउन सकिन्छ । गाउँलेहरुलाई गरिखाने बनाउन सकिन्छ । त्यसो भएमा बसाइँ सर्नेहरुको संख्यामा कमी ल्याउन सकिन्छ । गाउँको एकतापूर्ण भावना दरिलो हुनेछ । गाउँमा पुगेका विकासका साधनहरु भोग गर्न सक्नेछन् । सुन्दर गाउँको सुन्दरता जोगाउन सकिने छ ।

गाउँमा रहेको मुख्य धार्मिक,पर्यटकीय एवम् ऐतिहासिक स्थलहरुमा पर्यटकहरुलाई डुलाउन र घुमाउन सक्ने स्थानीय युवाहरुलाई टूर गाइड बनाउन सकिएमा रोजगारको ढोका उघ्रिने थियो । त्यसका लागि स्थानीय अगुवाहरु,सामाजिक अभियन्ता,राजनीतिक कार्यकर्ता, स्थानीय जानप्रतिनिधिहरु र पर्यटनसँ सरोकार राख्नेहरुसँग छलफल,अन्तक्र्रिया गरी र एक ढिक्का भएर सबै अघि बढेमा बल्ढेङ्गढी सुनको कचौरा हुने छ ।