ताजा अपडेट »

'गलत'लाई गलत र 'सही'लाई सहीभनेर मिडिया उभिनुपर्छ : केसी

शुक्रबार, २४ चैत्र २०७९

बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकचन्त्रका लागि मिडियाले निर्भिक भएर कलम चलाउन आग्रह गरेका छन् । ‘गलतलाई गलत र सहीलाई सही भनेर मिडिया उभिनुस्’–केसीले भने लोकतन्त्रको स्थापना र यसको रक्षामा मिडियाको ठूलो भूमिका छ । प्रगतिशील पत्रकार संघ, नेपालको शुक्रबारदेखि बुटवलमा सुरु प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष केसीले मिडियालाई निस्पक्ष र निडर बन्नका लागि सुझाव दिएका हुन् ।

सो अवसरमा बोल्दै अध्यक्ष केसीले ठूला राजनीतिक दलहरुले शक्ति राष्ट्रहरुको एजेण्डा स्वीकार गरेर संघीयता ल्याउँदा मुलुक चरम आर्थिक संकटमा फसेको उल्लेख गरे । दिनप्रतिदिन रोजगारका लागि विदेशीने युवाहरुको एयरपोर्टमा भिड लाग्ने गरेको उदाहरण प्रस्तु गर्दै केसीले गाउँ रिक्तीएर थोत्रो घर र वृद्ध–वृद्धा मात्रै मुलुकमा रहने स्थितीको सिर्जना भएको बताए । संघीयताले देश देश ध्वस्त हुने अवस्थामा पुगेको बताउँदै उनले त्यो कुराको महशुस दलका नेताहरुलाई पनि भैसकेको उल्लेख गरे ।

राष्ट्रिय जनमोर्चा अहिले पनि संघीयता खारेज हुनुपर्छ भन्ने अडानमा कायम रहेको बताउँदे केसीले वर्तमान सरकारसँग ३ वटा मुख्य विषयमा असहमती रहेको उल्लेख गरे । संघीता, संक्रमणकालिन न्यायलाई टुङ्गो लगाउन सरकारले अघि बढाएको प्रक्रिया तथा अंगिकृत नागरिकका सन्तानले वंशजको नागरिकता पाउने कुरामा जनमोर्चाको असहमती रहेको उल्लेख गरे ।

मुलुकमा राजनीतिक अराजकता पैदा भएको उल्लेख गर्दै केसीले लोकतन्त्र र गणतन्त्रका लागि लडेका दलहरुले नै पुनः गणतन्त्रलाई धरापमा पार्ने खेलमा लागेको आरोप लगाए । लोकतन्त्रलाई बचाउन नसे मुलुक अध्यारो बाटोमा लाग्ने बताउँदे उनले यसको रक्षाका लागि राजनीतिक दलसँगै नेपाली जनताको पनि कर्तव्य भएको उल्लेख गरे ।

बुटवलस्थित होटल मेरिगोल्डमा जारी संघको प्रतम सम्मेलनले विधान र घोषणा पत्र पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन गर्ने प्रगतिशील पत्रकार संघ, नेपालका संयोजक श्यामलाल पोखरेलले जानकारी दिए । ‘प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितको रक्षाका लागि जनपक्षीय पत्रकारिता’ भन्ने नाराका साथ आयोजित सम्मेलनमा देशभरबाट करिब १५० प्रतिनिधिको सहभागिता रहेको छ ।