ताजा अपडेट »

शान्तीको कामनासहित लुम्बिनीमा डेढ लाख पुरस्कारको हाफ म्याराथन, केपी ओलीले उद्घाटन गर्ने

शनिबार, १८ चैत्र २०७९

बुटवल । अन्तर्राष्ट्रिय खेलकूद दिवसको अवसरमा ‘शान्ती र समृद्धीका लािग खेलकूद’ भन्ने मूल नारासहित चैत्र २३ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा डेढ लाख पुरस्कार राशीसहितको पुरुष तथा महिला खुल्ला म्याराथन प्रतियोगिता हुने भएको हो ।

शान्ती भूमि लुम्बिनीमा २१ किलोमिटर लामो हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । लुम्बिनीको मायादेवी मन्दीर, शान्ती दिप लगायतका क्षेत्रलाई बीचमा पारी २१ किलोमिटर परिक्रमा गरिने प्रतियोगिताको विजेताले पुरुषतर्फ १ लाख ५० हजार तथा महिलातर्फ १ लाख ५१ हजार पुरस्कार राशी रहेको उनले बताए । यसैगरी पुरुष तथा महिला दुबैतर्फका द्वितीय, तृतीय, चौथो र पाँचौं स्थानमा आउने धावकहरुले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने आचार्यले जानकारी दिए । यसैगरी छैटौदेखि सातौ नम्बर सम्म आउने धावकहरुले क्रमशः १० हजार र ७ हजार नगद राशी प्राप्त गर्ने छन् भने १० नम्बरसम्म आउने अन्य ३÷३ धावकले जनही ५ हजार नगद राशी प्राप्त गर्ने छन् ।

सबैका लागि खेल भन्ने नारासहित स्थापना भएको मदन भण्डारी स्पार्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा देशका जुनसुकै स्थानका कुनै पनि उमेर समूहका खेलाडीहरुले खुल्ला रुपमा प्रतिस्पर्धा गर्न पाउने कार्यक्रमका संयोजक मोहन बहादुर घलेले जानकारी दिए । म्याराथन प्रतियोगिताका लागि चैत्र २० गतेसम्म दर्ताको अन्तिम मिति रहेको छ भने चैत्र २२ गते मेडिकल परीक्षण हुने छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

दिवसको अवसरमा एकेडेमीले सोही दिन राष्ट्रिय भेलाको समेत आयोजना गरेको छ । भेलामा ७७ वटै जिल्लाका सबै स्थानीय तहबाट प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ । भेलामा विभिन्न खेल विधाका डेमोस्ट्रेसन र विभिन्न कला संस्कृति झल्कने नृत्यु प्रस्तुत गरिने आयोजकले जानकारी दिएको छ । तत्कालिन एमाले महासचिव मदन भण्डारीको स्मृतिमा उनको भावना समेट्ने गरी स्थापाना भएको मदन भण्डारी स्पोर्टस एकेडेमीले ७० बढी जिल्लाका स्थानीय तहहरुमा आफ्नो कमिटी बिस्तार गरेको छ । २०६६ सालमा स्थापना भएको यस संस्थाले विभिन्न अन्तर्राष्ट्रिय, राष्ट्रिय तथा स्थानीय स्तरमा खेलकूद गतिविधी सञ्चालन गर्दै आएको छ ।