ताजा अपडेट »

बुटवलमा चैत्र २४ देखि प्रदेशस्तरीय खुला तेक्वान्दो, पहिलो पटक पिएसएस प्रविधिको प्रयोग

शनिबार, १८ चैत्र २०७९

बुटवल । बुटवल तेक्वान्दो ब्ल्याक बेल्ट कमिटीको आयोजनामा दोस्रो प्रदेशस्तरीय मेयर कप खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । यही चैत २४ गतेदखि २ दिन आयोजना हुने प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने छन् । लुम्बिनी प्रदेशभित्र छरिएर रहेका युवा तेक्वान्दो खेलाडीहरुको प्रतिभाको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा बुटवललाई चिनाउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजन गर्न लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रतियोगितामा क्योरुगी विधातर्फ १४ स्वर्ण, १४ रजत र २८ काश्य, पुम्से विधातर्फ, १६ स्वर्ण, १६ रजत र १६ कास्य गरी कुल १०४ पदकको लागि प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक मदन थापा मगरले जानकारी दिए ।

यो प्रतियोगितामा यस क्षेत्रमै पहिलो पटक पिएसएस(पावर सेन्सर सिस्टम) प्रविधिको प्रयोग गरिने आयोजकले जनाएको छ । यो प्रविधिको प्रयोगले खेलाडीका हात, खुट्टा, टाउको लगायतका अङ्गहरुमा सेन्सर जडान गरिन्छ भने उक्त सेन्सरको माध्यमबाट खेलाडीले टस गरेका आधारमा नम्बर प्राप्त हुन्छ । साथै यो प्रविधिको प्रयोग गरेपछि खेलाडीले पावर हिट गर्न पर्नेहुँदा चोटपटक लाग्ने सम्भावना पनि कम हुन्छ भने मुल्याङ्कनमा समेत निस्पक्ष र सहज हुन्छ ।

यसअघि बुटवल तेक्वान्दो कमिटीले २०७८ मा प्रथम जिल्लास्तरीय तथा दोस्रो मेयरकप खुल्ला तेक्वान्दो प्रतियोगिता २९७८ गरेको थियो भने त्यसअघि राष्ट्रिय मेयरकप प्रतियोगिता पनि सम्पन्न गरेको थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ४२ हजार ७५० रुपियाँ बजेट अनुमान गरिएको संस्थाका अध्यक्ष नविनकुमार रानाले बताए । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको पनि उनले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट २ खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै हालै सम्पन्न नवौं राष्ट्रिय खेलकूदमा २ कास्य पदक बिजेता तेक्वान्दो खेलाडीहरुलाई नगद तथा सम्मानपत्रले सम्मान गरिने पनि रानाले बताए ।