बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा पाँचौ शुद्धोधन कप खुल्ला नकाउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। २० टिम सहभागी प्रतियोगिता चैत ३ गते समापन हुने छ ।
प्रतियोगिताको विजेताले ३५ हजार ५ सय नगद राशीसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । द्वितीय हुने टिमले २० हजार ५ सय नगद राशीसहित ट्रफी मेडल प्रमाणपत्र प्राप्त गर्ने र सेमिफाइनलिस्ट अन्य २ समूहले ५/५ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक शुद्धोधन-५ खेलकूद समितीका अध्यक्ष तथा खेल संयोजक देवबहादुर बुढाथोकीले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले खेलको माध्यमबाट गाउँपालिका तथा रुपन्देही जिल्लालाई नै पहिचान दिलाउन महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले शुद्धोधनमा भएको भलिबलले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सक्ने बताए । यस्तै वडा नम्बर ५ का अध्यक्ष चन्द्रभान चौधरीले मानपकडीलाई भलिबलको हब गराउनुपर्नेमा जोड दिए ।
मानबहादुर बुढाथोकीको स्वागतमा आयोजित कार्यक्रममा वडा नम्बर६ का अध्यक्ष उपेन्द्र साहनी लगायतले बोल्दै प्रतियोगिता सफलताको शुभकामना व्यक्त गरे । धुर्व बस्यालको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया