पाल्पा । नेकपा (एमाले) तिनाउ-६ को मस्याममा मिसन ग्रासरुट अभियानको प्रारम्भ भएको छ । वडा कमिटीको बैठकले चैत्र ९ देखि २० गतेसम्म प्रत्येक टोलटोलसम्म पुग्ने योजना बनाएको छ । उक्त अभियानका प्रमुख अतिथि पार्टी केन्द्रीय कमिटीका सदस्य गणेश खनालले पार्टीको सुदृढीकरण र विस्तारका लागि नेता, कार्यकर्ता टोल-बस्तीमा पुग्ने अभियान नै मिसन ग्रासरुट रहेको बताए ।
उनले पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तक र समर्थकहरुका बीच भेट्ने, पार्टीका नीति, सिद्धान्त, विचार, दृष्टिकोण सम्प्रेषण गर्ने, पार्टीका गतिविधि र गुनासो सुन्ने समेत कार्यक्रम रहेको बताए । कार्यक्रममा प्रदेश कमिटीका सदस्य एवम् तिनाउ गाउँपालिकाका संस्थापक अध्यक्ष ओमबहादुर घर्तिमगरले नयाँ सदस्यता वितरण गर्ने, पुराना सदस्यहरुले नवीकरण गर्ने, कमिटीको पुनर्गठन गर्ने, पार्टीमा प्रवेश गराउने कार्यलाई अभियानले जोड दिएको बताए ।
कार्यक्रममा तिनाउका ईन्चार्ज दलबहादुर गुरुङले पार्टीका गुनासा मात्र राख्ने भन्दापनि पार्टीलाई बलियो बनाएर लैजान र आगामी स्थानीय निर्वाचनमा वडा नम्बर ६ मा एमालेको सूर्य झण्डा फहराउन योजनावद्ध रुपमा लाग्न अनुरोध गरे । सोही क्रममा गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कार्यकर्ताहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा जिल्ला कमिटीकासचिवालय सदस्य गोमा भण्डारी, सदस्य बुद्वबहादुर सूर्यबंशी, खडक गोदार, टेमबहादुर बगाले, सुकदेव पाण्डेय लगायतले पार्टीको मिसन ग्रासरुट अभियान सफल बनाउन सबै लाग्नुपर्ने बताउँदै अभियानले उर्जा थपेको बताए ।
प्रतिक्रिया