ताजा अपडेट »

मानव अधिकार तथा शान्ति समाजद्वारा नारी दिवसमा बुटवलमा प्रदर्शन

बुधबार, २४ फागुन २०७९

बुटवल । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा बुटवल ब्लडक बैंक अगाडि प्रदर्शन तथा सैनामैनामा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले ११३ औं नारी दिवसका अवसरमा बुटवलमा प्रदर्शन गरेको छ । दिवसको अवसरमा बुटवल ब्लडक बैंक अगाडि महिला अधिकार मानव अधिकार, व्यवहारमा समानता, अवसरमा समानता लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेको हो । उक्त अवसरमा मानव अधिकार तथा शान्ति समाजका निवर्तमान सभापती गोविन्द खनालले अझै पनि समाजमा महिलामाथि अन्याय र अत्याचार कायमै रहेकाले त्यसका विरुद्ध सचेतनाको जरुरी रहेको बताए । उनले संवैधानिक रुपमा ३३ प्रतिशत अधिकार लेखिएको भएपनि मन्त्रिमण्डल, सरकारी नियुक्तिमा अझै कार्यान्वयन नभएकाले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

नारी दिवसमा गरिएको प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सचिव मिना ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियार, तितेपाती वचत तथा ऋण सहकारीका अध्यक्ष कमला कुँवरले नेपाली समाजमा अझै पनि महिलामाथि विभेद रहेकाले समानताका लागि एकजुटहुनुपर्ने बताए। त्यस्तै कार्यक्रममा शान्ति समाज रुपन्देहीका सभापती कृष्ण भट्टराई, उपसभाति कपिल ज्ञवाली, सहसचिव सिता पौडेलले बोल्दै मानव अधिकार शान्ति समाज समानता र न्यायका लागि सदैव क्रियाशिल रहने बताए ।

समाजले नारी दिवसकै अवसरमा रुपन्देहीको सैनामैनामा निशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।