भैरहवा । भारतीय सीमा जोडिएको रुपन्देही जिल्ला भारतबाट बिभिन्न अवैध सामाग्रीको निकासीको रुपमा कुख्यात रहेको छ । करिब ५९ किलोमिटर खुल्ला सीमाको कारण पनि जिल्लामा तस्करीले प्रश्रय पाएको छ । सीमामा नेपाल प्रहरी र शसस्त्र प्रहरीका बिभिन्न युनिटहरु रहे पनि चोरी तस्करी नियन्त्रणमा आउन सकिरहेको हुदैन । सुरक्षा निकायमा सीमावर्ती बिभिन्न युनिटहरुकै मिलेमतोमा तस्करी हुदै आएको छ ।
यसैको कारण प्रहरीमा रुपन्देही जिल्ला आकर्षणको जिल्लाको रुपमा रहने गरेको छ । अतिरिक्त आय राम्रै हुने गरेको कारण रुपन्देहीमा प्रहरीका अधिकृत आउन हानथाप नै हुने गरेको छ । तर यसको अपवादको रुपमा देखिएका छन रुपन्देही प्रहरी प्रमुख भरत बहादुर विश्वकर्मा । आए देखि नै भारतबाट हुने अवैध कारोबार विश्वकर्मा निर्मम देखिएका छन् । तस्करी प्रति उनको निर्ममता प्रहरीको पछिल्लो केही कार्यवाहीले पनि स्पष्ट पारेको छ ।
पहिलो खेपमै कुल १४ लाख ५८ हजार रुपैया बराबरको अवैध कपडा, खाद्यान्न बरामद गरि विश्वकर्माले प्रहरी एक्सनमा गएको सन्देश दिए । यो क्रममा प्रहरीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ बेलबाबा पथ बस्ने दिनेश पोख्रेलको घरमा रहेको अवैध गोदाम नै फेला पारेको थियो । त्यहा भन्सार छली चोरी पैठारी गरी राखेको तन्ना १ सय २० पिस, टिसर्ट २ सय ७६ पिस, हाप पाईन्ट १ सय ९६ पिस, बनारसी साडी १ सय ७६ पिस, सामान्य साडी १ सय १० पिस र सिफनको बण्डल ९५ रोल गरि ८ लाख ५४ हजार मूल्य वरावरको सामान वरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता श्यामू अर्यालले जानकारी दिए ।
यस्तै मर्चवारी गाउँपालिका वाड नम्बर ७ श्रीरामपुरका महादेव पाल र शिवनाथ भन्ने सुर्यनाथ पालको घरमा भारत बाट भन्सार छली चोरी पैठारी गरी घरमा लुकाई छिपाई राखेको ५० किलोको ३ लाख १२ हजार वरावरका एक सय बोरा चामल बरामद गरिएको थियो । कोटईमाई गाउँपालिका वडा नम्बर ३ नौडिहवामा चोरी पैठारी भई वेवारिसे अवस्थामा रहेको ५० किलोको ७७ बोरा चामल र २३ बोरा गहुँ अन्दाजी मुल्य २ लाख ९२ हजार वरावरको सामान वरामद गरेको थियो ।
एसपी विश्वकर्माको एक्सन जिल्ला प्रहरी मूख्यालयमा मात्र नभई यस मातहतका प्रहरी युनिटहरुमा पनि देखिन थालेको छ । फागुन १८ गते ईलाका प्रहरी कार्यालय धकधई रुपन्देहीबाट खटिएको प्रहरी टोलीले ओमसतिया गाउँपालिका वडा नम्बर ५ सिसनियाबाट भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याउदै गरेको सर्ट २ सय ४८ थान, पाईन्ट १ सय ६० थान, हाफ कट्टु १ सय २९ थान र गेम कट्टु १ सय ७२ थान गरी करिब २ लाख ६८ हजार बराबरको कपडाहरु बेवारिसे अवस्थामा फेला पारेको प्रहरी प्रवक्ता अर्यालले जनाए । यस्तै ईलाका प्रहरी कार्यालय मझगावाले पनि फागुन १८ मै कपडा, चिनि लगायत २ लाख १० हजार बराबरको बिभिन्न अवैध सामाग्री फेला पारेको अर्यालको भनाई छ ।
एसपी भरत बहादुर विश्वकर्मा आफै पनि फिल्डमा हिडेको कारण रुपन्देहीमा नतिजा देखिएको छ । विश्वकर्मा कहिले मर्निङ्ग वाक गर्दै सीमावर्ती चौकी पुग्ने गरेका छन भने कहिले चौकीलाई जानकारी नै नदिई राती राती पुग्ने गरेका छन् । यसले तस्करहरुमा भागाभाग भएकै छ, प्रहरीहरु पनि सतर्क भएका छन् । तस्करहरु अहिले रुपन्देही छोडेर नवलपरासी तथा कपिलवस्तुका बिभिन्न नाकाहरु तस्करीको लागि प्रयोग गर्न थालेका छन् ।
पूर्वि नवलपरासीका मूल निवासी एसपी विश्वकर्मा तराईको सीमावर्ती क्षेत्रबाट हुने कारोबार प्रति निर्मम बनेका छन् । यस्तो कारोबारमा शन्य शहनशीलता अपनाउने उनको भनाई छ । रुपन्देहीका सञ्चारकर्मिहरुसंगको अन्तरक्रिया कार्यक्रममा उनले अवैध कारोबारहरु प्रति कुनै सम्झौता नगर्ने संकेत दिएका थिए । जुन उनको कार्यशैलीको कारण अहिले स्पष्ट भएको छ । “प्रहरीको काम समाजमा शान्ती सुरक्षाको प्रत्याभूति दिलाउने हो, अपराध भई हाले त्यसको सफल अनुसन्धान गर्ने हो ।” बिश्वकर्माले भने “त्यो त नियमित कामको रुपमा रहेकै छ, सीमाबाट हुने बिभिन्न अवैध कारोबार पनि हुन दिन्न ।”
विश्वकर्माले प्रहरीको कुनै पनि कर्मचारी यस्तो अवैध काममा संलग्न रहेको भेटिए स्पटमै कार्यवाही गर्ने चेतावनी दिए । यस्तो अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको मात्र प्रयास प्रयाप्त नभएको हुदा उनले जनस्तरबाट नै सहयोगको अपिल गरे । “भारतबाट ल्याईएको अवैध सामाग्रीहरुको भण्डारण तपाईकै घर छेउ हुन सक्छ, यस्तो छ भने प्रहरीलाई जानकारी दिएर सहयोग गरिदिनु होला ।” उनले भने
प्रतिक्रिया