पुस २१,
ग्लोबल आवाज
बुटवल । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा बुटवल- ११, देवीनगरमा सञ्चालित २० औं संस्करणको औद्योगिक व्यापार मेलामा बेलायत कोलवर्न टाउन काउन्सिलका मेयर डा. जगन्नाथ शर्मालाई स्वागत गरिएको छ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर परिवार सहित नेपाल आएका शर्मालाई सोमबार मेलामा स्वागत गरिएको हो ।
श्रीमति लक्ष्मी शर्मा, छोरीहरु डा. प्रतिक्षा र प्रतिभा सहित आएका मेयर शर्मालाई मेलामा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल लगायत पदाधिकारी सदस्यहरु, पूर्व अध्यक्षहरुले स्वागत गरे । शर्मालाई बुटवलको ऐतिहासिक जितगढी किल्लाको आकृतिको मायाँको चिनो समेत प्रदान गरिएको थियो । नेपालको पर्वत बिहारी गाउँपालिकामा जन्मिएका मेयर शर्मा २० वर्षदेखि बेलायतमा छन् । उनी यस अगाडी बेलायतको उक्त शहरमा उपमेयर हुँदै मेयर भएका हुन् । नेपाल आएका मेयर शर्माले परिवार सहित लुम्बिनी लगायतका बुद्धँंग सम्बन्धित स्थानहरुको स्थलगत अवलोकन गरि बुटवल आएका थिए । त्यस अवसरमा उनले आफू बेलायत फर्केर बेलायती नागरिकलाई नेपालको भ्रमणका लागि प्रोत्साहन गर्ने बताए । त्यस्तै सोमबार नै बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले पनि मेलाको स्थलगत अवलोकन गरेका छन् । मेलाको प्रवद्र्धकको रुपमा रहेको बुटवल उपमहानगरपालिका मेयरले मेलाको स्थलगत अवलोकन गरि मेलाको बारेमा जानकारी लिएका थिए । त्यसबाहेक मेलामा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले संस्थागत अवलोकन गरेका थिए । मेलामा सोमबार पनि अवलोकन कर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।
यहि पुसको ९ गतेदेखि सुरु भएको मेलाको १३ औं दिन सोमबार भ्वाईस अफ बुटवलका प्रतिस्पर्धी कलाकारहरुको प्रस्तुती, दोहोरी प्रतियोगिता, लोक तथा दोहोरी गायक पशुपति शर्मा, ईन्द्र जिसी, पुस्कल शर्मा, अमृता लामिछाने, कला लम्साल, बसन्त लम्साल, रबिन लामिछाने, नीता पुन, हास्यकलाकार पुर्खे बा लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो भने भोली मंगलबार लोक तथा दोहोरी गायक रामजी पौडेल, ओम ज्ञवाली, नारायण विपी परियार, शिलु भट्टराई, रेनु राना मगर र दोहोरी गीत प्रतियोगिता तथा भ्वाईस अफ बुटवलको फाईनल प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया