भैरहवा । रुपन्देहीका उद्योगी एवम ब्यवसायीले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह आवश्यक रहेको बताएका छन् । शुक्रबार भैरहवामा सम्पन्न भएको सिद्धार्थ उद्योग बाणिज्य संघको ६४ औं साधारण सभामा बोल्ने वक्ताहरुले बैंक तथा वित्तीय संस्थाको आधार दर नघट्दासम्म व्याजदर कम नहुने भएकाले अर्थतन्त्र जोगाउनका लागि तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताएका हुन् । यसको साथै व्याजदर घटाउने उपाय सरकार र राष्ट्र बैंक दुबैले पहिल्याउनु पर्ने उनिहरुले माग अघि सारेका छन् ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष भिष्म न्यौपाने “सर्वज्ञ” ले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले बैंकहरूको औसत व्याजदर अन्तर शून्य दशमलव ४० प्रतिशत बिन्दुले घटाएको भएपनि सो व्यवस्थाले ब्याज बढ्नबाट रोक्ने भएपनि व्याजदर नघट्ने देखिएको जिकिर गरे । “संभावना बोकेको क्षेत्रमा राज्यको उचित लगानी हुन नसकेको हामीले महशुस गरेका छौं, कृषि प्रधान देशको रूपमा परिचित नेपालले कृषिमा आत्म निर्भरता देखाउन नसक्नु दुःखद हो ।” न्यौपानेले भने “केही दशक पहिले कृषि उपज वस्तुको निर्यात गर्ने हाम्रो देश आफैमा परनिर्भरता रहनु लज्जास्पद विषय हो ।”
कृषिमा हुनुपर्ने आधुनिकीकरण र यान्त्रिकिकरणका साथै कृषिमा व्यवसायीकरण हुनु आवश्यक रहेको उनले औल्याए । कृषि र पर्यटन जस्ता क्षेत्रमा भएका असंख्य व्यवसायिक सम्भावनाहरुलाई पहिचान गर्न नसक्दा सिर्जना भएको बेरोजगारको स्थितिले श्रम पलायन भयावह स्थितिमा पुगेको न्यौपानेको भनाई थियो । उद्योग बाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले मुलुकको अर्थतन्त्र संकट उन्मुख हुदै गएको जिकिर गरे ।
“सरकारी राजश्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्थामा पुगेको छ, ६ वर्षयताकै उच्च मुल्यवृद्धि हुँदा वास्तविक मुल्यवृद्धि दोहोरो अंकमा उक्लेको छ ।” शर्माले भने “तरलता, संकट र उच्च व्याजदरले दैनिक उपभोग्य सामानहरूको बिक्री १८ प्रतिशतमा संकुचित हुनु सिमेन्ट, फलामे छड लगायतका उद्योगहरू औसत ३० प्रतिशत क्षमतामा मात्र चलिरहेको एक अध्ययनले देखाएको छ भने कतिपय बन्द समेत भैरहेका छन ।”
आर्थिक चलायमान नहुँदा र बजार संकुचित हुँदा चालू आर्थिक वर्षको तीन महिनामा राजस्व १९ प्रतिशतले घटेर संकलित राजस्व भन्दा चालु खर्च १७ अर्व ले वढि भएको शर्माले बताए । वर्षको अन्त्यसम्म यसैगरि खर्च बढिरहने तर राजस्व संकलन नहुने हो भने आन्तरिक वा बाह्य ऋण लिएर सरकारी कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आउने शर्माको दावी छ । अवश्था यस्तै रहे यसको असर निजि क्षेत्रलाई पर्ने शर्माले बताए ।
बैंक तथा वित्तिय संस्थाद्वारा कर्जाको व्याजदरमा मनोमानी तवरले वृद्धि गर्दै आएकोमा यसलाई नियन्त्रण गर्न पनि ब्यवसायीहरुले माग अघि सारेका छन् । सबैको चासोको रुपमा रहेको राष्ट्रको दोस्रो अन्तराष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो र निरन्तर संचालन र कम्तिमा राष्ट्रिय ध्वजावाहक विमानहरुबाट यथाशीघ्र अन्तराष्ट्रिय गन्तब्यहरुका उडानका लागि पहल गर्न उनिहरुले आग्रह गरेका छन् ।
कार्यक्रममा बोल्दै उद्योग बाािणज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकहरुले बचतमा ब्याजदर बढाएकै कारणले अहिलेको अवश्था आएको जिकिर गरे । “हामीले पटक पटक बचतमा ब्यजदर नबढाउन माग अघि सारेका हौं, तर हाम्रो मागको सुनुवाई कतैबाट भएन ।” ढकालले भने “बचतमा दिने ब्याज बढे पछि बैंकको लागत बढ्न गई अहिले सबै क्षेत्र समस्यामा परेको अवस्था रहेको छ ।”
बाणिज्य बैंकको सञ्चालक समेत रहेका ढकालले अहिले बैंकको ब्याज नतिर्ने भन्ने सन्देश जनस्तरमै गएको बताउदै उनले निजि क्षेत्र यसमा नलाग्न आग्रह गरे । उनले कोभिडको कारण देखिएको तरलता अभाव क्रमशः सुधार हुदै गएकोले अब तुलनात्मक रुपमा यो भन्दा खराब अवश्था नआउने तर्क गरे । उनले ब्यवसायीहरुलाई संयमित भएर अगाडी बढ्न आग्रह गरे ।
संघका अध्यक्ष भिष्म न्यौपानेको अध्यक्षता, महासचिव बिजय पाण्डेको सञ्चालन एवम वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठको धन्यवाद मन्तब्यमा सम्पन्न भएको साधारण सभाको उद्घाटन सत्रमा संघमा १५ बर्ष भन्दा बढी समय देखि निरन्तर सेवा प्रदान गर्दैै आएका कर्मचारी बरिष्ठ लेखापाल रुपम गुभाजू र बरिष्ठ कार्यालय सहायक तुलसा घिमिरे लाई सम्मान गरिएको थियो ।
यस्तै तेस्रो मुलुक तर्फ निर्यात गर्ने संघको सदस्य फर्म श्री यसोधा प्mुडस, रुपन्देही भारत तर्फ निर्यात गर्ने संघका सदस्य फर्म श्री जगदम्बा स्पिनीङ मिल्स प्रालि पनि सम्मान गरिएको थियो । संघमा आवद्ध पुराना एवं निरन्तर सदस्य फर्म हरु मध्ये वाणिज्य तर्फ अरुण इन्टरप्राइजेज, उद्योगतर्फ श्रेष्ठ इन्टरप्राईजेज र कर्पोरेट तर्फ दुर्गा मोर्डन दाल मिललाई पनि सम्मान गरिएको थियो ।
यस्तै भैरहवालाई कर्मथलो बनाई उद्योग वाणिज्य संघका गतिविधिहरु एवं आर्थिक क्षेत्रका विषय वस्तुमा कलम चलाएको भन्दै सिद्धार्थ उद्योग वाणिज्य पत्रकार सम्मान अन्तर्गत कसौधन रामनारायण धर्मादेवी अक्षयकोषबाट गौतमबुद्ध दैनिकका सम्पादक कुलमणी ज्ञवालीलाई नगद सहित पुरस्कृत गरिएको थियो । रुद्र विलास तुलाचन सम्मान सामाजिक रुपमा निरन्तर लागेकी रुपमा हिराचनलाई प्रदान गरिएको थियो ।
गत बर्षको एसईई परिक्षामा सिद्धार्थनगर क्षेत्रका विद्यालयहरुबाट सर्बोत्कृष्ट अकं ३ दशमलव ७५ जीपिए ल्याउने रुपन्देही लिलाराम उच्च माविका छात्रा एलिना शर्मालाई मनरुपमा आचार्य छात्रवृति सम्मान, खेलकुदको क्षेत्रमा उत्कृष्ट प्रर्दशन गर्दै सिद्धार्थनगर ,रुपन्देहीलाई देश विदेशमा परिचित गराउने सगुन श्रेष्ठज्यूलाई संघमा स्थापित पवनकुमार सेठिया अक्षयकोष सम्मान प्रदान गरिएको थियो । यस्तै खेलाडीहरु आशुतोष बराल, अभिषेक बराललाई पनि सम्मानित गरिएको थियो ।
प्रतिक्रिया