ताजा अपडेट »

पाल्पा तिनाउका पर्यटकीय गन्तव्य

विहीबार, १८ फागुन २०७९

लुम्बिनी प्रदेशभित्र पर्ने पाल्पा जिल्लामा १० वटा स्थानीय तहहरु छन् । पाल्पा जिल्ला सदरमुकाम तानसेनबाट दक्षिण–पश्चिममा रहेको तिनाउ गाउँपालिका प्राकृतिक छटाले मनोरम तथा साधन, स्रोतले सम्पन्न गाउँपालिका हो । प्रागैतिहासिक क्षेत्र रामापिथेकसदेखि ऐतिहासिक महत्व बोकेको नुवाकोट यसै गाउँपालिकाभित्र समाहित छन् । त्यसैगरी सिद्धपुरुष भर्तृहरिको तपोभूमि सिद्धबाबा महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य बन्दै छ ।

समुद्री सतहदेखि करीव एक हजार सात सय मीटर उचाइँमा रहेको जन्तीलुङ्गबाट उत्तरतिरका हिमश्रृङ्खलादेखि तराईका मनमोहक फाँटहरु नाङ्गा आँखाले देख्न सकिन्छन् । तिनाउ सरकारको आर्थिक सहयोगमा उक्त गाउँमा होमस्टे (घरबास कार्यक्रम) सञ्चालनमा रहेको छ । गाउँपालिकाद्वारा निर्मित एउटा सानो तर सुन्दर पार्कले पर्यटकहरुलाई लोभ्याउन थालेका छन् । लालीगुराँस फुल्ने उक्त क्षेत्रमा गाउँलेहरुले कृषि,पशुपालनमा आफूहरुलाई सक्रिय बनाएका छन् ।

सिद्धार्थ लोकमार्गको बुटवल तानसेन खण्डको डुम्रे बजारदेखि १२ किलोमीटर पश्चिम कच्चीबाटो पार गरेर मस्यामहुँदै त्यहाँ पुग्न सकिन्छ । मगरजातिको घनाबस्ती रहेको उक्त पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्न थालेको छ । जन्तीलुङ्ग मगर भाषामा राखिएको नाउँ हो । जन्तीजस्तै लहर लागेका ढुंगाहरु देखिने उक्त स्थानलाई जन्तीलुङ्ग भनिएको रहेछ ।

२०६५ सालमा सामुदायिक वन समन्वय समिति,दोभान एकीकृत पर्यटन विकास समिति,साविक दोभान गाविस लगायतका सरकारी एवम् गैर सरकारी संघसंस्थाले पहिलो पटक तिनाउको सुकेतालमा ग्रामीण पर्यटन महोत्सव आयोजना गरेका थिए । दुई दिनसम्म सञ्चालित उक्त महोत्सवमा करिव नौ हजार आन्तरिक पर्यटकहरु सुकेतालमा पुगेका थिए । दोस्रो महोत्सव २०६७ मा सम्पन्न हुँदा सुकेतालमा होमस्टेको सुरुआत् गरिएको थियो । पाहुना घर,तालमा आकर्षक मन्दिर,मन्दिरमा डुँगा,मन्दिर वरिपरि फूट ट्रेल र तालको विस्तारले तिनाउको पर्यटनमा सुकेतालको उपस्थिति अतुलनीय देखिन्छ । चौथो पटकसम्म भएको सुकेताल महोत्सव पाँचौ पटकको पर्खाइमा छ ।

त्यसैगरी तिनाउ वडा नं.४ को लगाडमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री (तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री) लिला गिरीले ग्रामीण होमस्टेको उद्घाटन गरेका थिए । लगाढको सांस्कृतिक सम्पदाको संरक्षण,सत्यवती दर्शन र घुम्न आउनेहरुलाई सहज बसाइँ र गाउँमा आम्दानीको बाटो फराकिलो बनाउन होमस्टे खोलिएको थियो । स्थानीयहरुले आफ्नो सीप, क्षमता र कला प्रदर्शन गर्दै पर्यटकहरुलाई आफ्नो होमस्टेतिर आकर्षित गराइ राखेका छन् । हिउँदमा त ठिकै हो वर्षामा पुलको अभावले पर्यटकहरुलाई उक्त होमस्टेसम्म पुग्न कठिनाइ देखिन्छ । दालचिनीका कारण नामी सत्यवती गाउँको बयान शब्दमा लेखेर सिद्धिदैन ।

सत्यवती बजै र बाजेको मन्दिरले यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा उल्लेखनीय मद्दत गरेको छ । मन्दिरको आम्दानीले स्थानीय क्षेत्रको विकासमा सहयोग गरेको छ । धेरै श्रद्धालु, भक्तजनहरुको मन्दिर दर्शनले स्थानीयहरुको आम्दानीमा सक्दो सहयोग मिलेको पाइन्छ । सोही लगाढ गाउँको पारिपट्टि अर्थात् पश्चिमतिर मरामकोट गाउँ छ । मराङ् च कोटबाट मरामकोट हुन पुगेको स्थानीय समाजसेवी पूर्णबहादुर खाम्चा मगरले बताएका थिए । मगर भाषामा मराङ च को अर्थ सुन्दर भन्ने लाग्दो रहेछ । सुन्दर कोट नै आजको मरामकोट रहेछ । करीव ६५ घरहरु रहेको उक्त गाउँमा यतिबेला स्थानीय तिनाउ सरकारको सहयोगमा यू डाँडामा प्रतीक्षालय बनाइएको छ । गुफामा घण्टी र त्रिशूलको सुन्दरता झल्किन्छ ।

अग्लो ठाउँ, मनोरम स्थल, त्यहाँबाट देखिने भूदृश्यहरुले पर्यटकका मनै लोभिन्छन् । गाउँलेहरुले पाँच घरमा होमस्टे सुरु गरेका छन् । स्थानीय परिकार र लोकसंस्कृतिको स्वाद लिन पाइने उक्त स्थलको बयान गरी साध्य छैन । त्यहाँ पुग्न माथिल्लो जोरधाराबाट पश्चिमतिरको पक्की कतै कच्ची बाटोहुँदै करिव ५ किलोमीटरको दूरी यात्रा गर्नुपर्छ । गाउँमा भूमिशाला आधारभूत विद्यालय छ । खेतीकिसानी र पशुपालनमा राम्रो सहभागिता छ स्थानीयहरुको । मगरजातिकोमात्र बसोबासले गाउँको एकतामा बलियोपना देख्न सकिन्छ । त्यस्तै पाताल गाउँमा रहेको गुफालाई पर्यटक आकर्षित गर्ने माध्यम बनाउन सकिन्छ ।

नुवाकोट, ऐतिहासिक युद्धभूमि हो । अंग्रेजहरुलाई हराउन नेपालीहरुले युद्ध लडेको उक्त भूमि नेपालीहरुको वीरगाथा गाउने स्थल हो । त्यहाँ पुरानो छोटी भन्सार छ । रानी कुवा छ । काठेगढी छ । तोपहान क्षेत्र छ । पुरानो किल्ला छ । भ्यू पोइन्ट छ । रात्रिकालीन समयमा नुवाकोटबाट बुटवलतिर हेर्दा तिनाउ नदीको समीपमा रहेको बुटवलको सुन्दरता विछट्टै राम्रो देखिन्छ । होटल,लज र रिसोर्टहरु धमाधम खुल्दैछन् । विदाका दिनहरुमा नुवाकोटमा खुट्टा राख्ने ठाउँ पाइन्न । सिद्धार्थ केवलकार प्रालिले निकट भविष्यमै केवलकारका माध्यमबाट पर्यटकहरुलाई बुटवलदेखि नुवाकोट पुराउने तयारी गरिरहेको छ । त्यसो हुन सकेमा तिनाउको पर्यटन प्रवर्द्धनमा सोचेभन्दा बढी प्रगति हुने छ ।

तिनाउमा खासगरी ऐतिहासिक,पुरातात्विक, धार्मिक, पर्यापर्यटनको सम्भव देखिन्छ । त्यतिमात्र होइन यस क्षेत्रमा रहेका तिलोत्तमा मावि र दोभान माविमा सञ्चालित प्राविधिक शिक्षाले शैक्षिक पर्यटनको विकास सम्भव देखिन्छ । वसन्तपुरमा पुग्न थालेको केवलकार, त्यहाँ बन्ने काख्यादेवीको मन्दिरले आन्तरिक एवम् बाह्य पर्यटकलाई तिनाउमा तान्नेछ ।

सिद्धसरोवर(भूतखोलाको झरना) यतिबेला सिद्धार्थ लोकमार्ग भइ यात्रा गर्ने सबैलाई आफूतिर तान्ने पर्यटकीय गन्तव्य बन्दैछ । उक्त सरोवर, त्यहाँ निर्मित आकासेपुल, कलात्मक भरेङहरुले पर्यटकहरु अतिनै लोभिएका छन् । दैनिक सयदेखि पाँचसय जनासम्म पर्यटकहरुको आगमनले आम्दानी बढाएको छ । शौचालय,स्नानगृह र चमेनागृह बनाउन सकिने हो भने थप आम्दानी र रोजगारी बढ्ने देखिन्छ ।

वसन्तपुरबाट नुवाकोटसम्म डाँडैडाँडा जीपलाईन, छरछरेको झरना नजिकै बञ्जीजम्प र पाटनदेखि डोलमा प्याराग्लाइडिङ्गको यात्राले तिनाउको पर्यटनलाई धूरी चढाउने छ । अझै चिडियाखोलादेखि डुम्रेहुँदै मुक्तिनाथसम्मको पहाड, चट्टानहरुलाई आधार मानेर खुल्ला प्राकृतिक संग्रहालय बनाउने केही पर्यटन बैज्ञानिकहरुले अभ्यास थालेका छन् । यहाँ रहेका केही सामुदायिक वनहरुले आफ्नो आम्दानीलाई पर्यटकीय क्षेत्रको विकासका लागि लगानी गरेका छन् ।

तिनाउ २ को ढापखोला सामुदायिक वनले वनप्रतिको निर्भरतालाई घटाउँदै वनबाहेक अन्य कुराबाट समेत आम्दानी बढाउन सकिने अभ्यास थालेका छन् । त्यसका लागि उनीहरुले आफ्नो वन क्षेत्रमा रहेको रानी झरना (क्वीन फल्स)लाई व्यवस्थित गराउँदैछन् । झरनासम्म पुग्ने काठे भरेङ, सुन्दर काठेपुल, मन्दिर, मुख्य प्रवेशद्वार बनाएका छन् । भारतीय पर्यटकहरुको रुचीस्थल बन्दै गएको यो झरनामा आन्तरिक पर्यटकहरुको पनि घूइँचो लाग्न थालेको छ । त्यहाँ आउने पर्यटकहरुलाई हरियाली गाउँ, हाँपुर र महापुरसम्म पुराउन सकिएमा उत्तम हुनेछ ।

यहाँ आउनेहरुलाई घुमाउने टूर गाईड, बस्नका लागि होमस्टे, खाजाका लागि चमेनागृह निर्माण गर्न सकिएमा स्थानीयहरुले मनग्य आम्दानी गर्ने छन् । तर, यहाँ वर्खामास पुग्नका लागि बाटोको कठिनाई छ । त्यसका निम्ति स्थानीय सरकार, वडापालिका, स्थानीय सामुदायिक वन एवम् गाउँलेहरुको सामुहिक एकता र हातेमालो जरुरी देखिन्छ ।

यतिबेला तिनाउ हेड वक्र्स नजिकै रहेको रामपिथेकस पार्कमा भारतीय पर्यटकहरुको घनिभूत उपस्थिति देखिन्छ । सिद्धबाबा मन्दिरको सहयोगमा पुलपारि शौचालय, खानेपानी,चमेनागृहको व्यवस्थापन गरिएको छ । पहिले नै प्रदेश सरकारको सहयोगमा बनेको पुल र फूट ट्रेलका कारण समेत पर्यटकहरुका लस्कर उल्लेखनीय देखिन्छन् । धेरै पहिले दोभान एकीकृत पर्यटन विकास समितिको संयोजन र विभिन्न स्थानीय संघसंस्थाहरुको सहयोगमा रामपिथेकस नमूना पार्क बनाइएको थियो । साँघुरो भूगोलका कारण विशाल भौतिक संरचना निर्माणमा समस्या देखिन्छ । पार्किङ्गको अभावले पर्यटकलाई सकस भएको छ । तिनाउ हाइड्रो प्रोजेक्टको त्यो ड्याम क्षेत्रमा अस्थायी खालको संरचना बनाएर डुँगा चलाउन सकिने हो भने काइदामात्र होइन फाइदै फाइदा हुने थियो ।

पर्यटनका अनेक आयाम हुने गर्दछन् । त्यसको खोज, अध्ययन र अनुसन्धानहरुले पर्यटनमा फड्को मार्न सकिन्छ । त्यसको उदाहरणस्वरुप दोभानको बोटेगाउँमा रहेको कृषिले पर्यटकहरुलाई तान्न सक्छ । लग्घुवाको आलु र झिनुवाले पर्यटकलाई आफूतिर खिच्न सक्छ । बेरुवाको दालचिनी, पर्यटकलाई उपहार दिन सकिन्छ । पाटनको काँक्राले पाहुनाका मुखै रसाइदिन सक्छ । झ्याङ्गलाको कृषि स्मार्ट भिलेजले पर्यटकलाई होमस्टेमा बसाल्न आत्तुर देखिन्छ । त्यहाँको न्वागी महोत्सवले दुनियाँलाई रमाईलो दिन सक्छ । मात्र प्रचारको अभाव छ । पर्यटनमा तीनवटा प चाहिन्छ । पहिलो प भनेको पहिचान । पर्यटकीय गन्तव्यका पहिचान जरुरी देखिन्छ । दोस्रो प भनेको प्रसिद्धि हो अर्थात् पहिचान गरिएका गन्तव्यको महत्व के हो ? गरिमा र महिमा के छन् ? के कारणले उक्त स्थानमा पर्यटक आउने ? अर्थात् खास प्रसिद्धि के हो ? त्यसको उजागर गर्नुपर्छ । तेस्रो प भनेको प्रचारप्रसार नै हो । छोटकरीमाभन्दा विज्ञापन नै हो ।

यतिबेलाको बजार, विज्ञापनमा आधारित छ । जति सक्दो प्रचार गरिन्छ, त्यति नै बस्तुको विक्री हुन्छ । हामीले पनि हाम्रा पर्यटकीय गन्तव्यलाई बजारीकरण गर्नुपर्छ । प्रचारप्रसारका अनेक माध्यम अपनाएर अघि बढ्नुपर्छ । त्यसो हुन सकेमामात्र पर्यटन प्रवद्र्धन सम्भव छ ।

बुटवलहुँदै नुवाकोटबाट गणेशटोल साइकिलिङ्ग हुन सक्छ । जसको कारण हाम्रा गाउँका सुन्दरताको विज्ञापन हुने, खाजा, खाना बिक्री भइ आम्दानी बढ्ने, होटल तथा लजहरु सञ्चालनमा आउन सक्छन् । गणेशटोलमा रहेको जारकाटे ढुंगाको प्रचार गर्न सकिएमा त्यसको ऐतिहासिकता झल्किन सक्थ्यो । झिंगामाराबाट तराइका फाँटहरु हेर्न पर्यटकलाई त्यता पुराउन सकिन्छ । त्यहाँ रहेको गुम्बाले सबैको मन लोभिन सक्छ । उदाङको सुन्दरता बयान गर्न सकिएमा पर्यटक खुसी हुने छन् । कृषि र पशुपालन अनि यतिबेला रामपाटामा थालिएको कालिजपालनले त तराईका आन्तरिक पर्यटकहरु त्यता पुग्न थालेका छन् ।

कचलफाँट, त्यहाँका टेकबहादुरले थालेको ड्रागन फ्रुट, पक्कैपनि कृषि पर्यटनको गन्तव्य हुन सक्छ । बोक्से खोलाको झरना,स्थानीय लोकसंस्कृति र परम्परागत ठूलो नाच पक्कैपनि सबैका लागि मन लोभ्याउने चीज हुन सक्ला । ओखलढुंगाको ओखल, त्यहाँको मौरीपालन, अम्रिसो खेती, रिङसिङ लेक, खुर्सानेको कुटानीपिसानी मील समेत पर्यटका आकर्षण हुन सक्छन् । नून खेप्ने बाटोमा पर्ने तर यतिबेला हराएको रानीबास, मरेकको सरस्वती आधारभूत विद्यालय, लग्धुवाको फाँट, सिस्ने खोलाको असला माछा,मस्यामको हटिया बजार र त्यहाँ रहेको पुरानो मन्दिरले समेत पर्यटकलाई तान्न सक्छन् केवल यी स्थानहरुको प्रचारप्रसार जरुरी देखिन्छ ।

कोल्डाँडामा बन्दै गरेको मगर संस्कृति संग्रहालयको पूर्णताले सम्बन्धित जातिलाईमात्र होइन, सो सम्बन्धि जान्न,बुझ्न चाहनेहरुलाई समेत आकर्षित गर्नेछ । केराबारीका पुराना होटल, जोरधाराको नास्ता पसल यतिबेलाका पर्यटकहरुलाई खाना, खाजा खुवाउने गतिलो थलो बनेका छन् । भूतखोला, अर्घाछापका महिलाहरुले सामुहिक सहभागिता तर एकल तरिकाले सञ्चालन गरेका च्याउ खेतीलाई पर्यटनसँग जोड्न सकिन्छ । मितेरी गाउँ नजिकै रहेको सिद्धगुफाको प्रचार जरुरी देखिन्छ । तिनाउमा रहेका सहकारी, वन तथा धार्मिक स्थलहरु पर्यटन प्रवर्द्धनमा सहयोगी बन्न सक्छन् । साविक मस्याममा रहेको गाईपालन र त्यहाँको सहकारीले सञ्चालन गरेको दूग्ध संकलन सम्बन्धिको कार्यलाई पर्यटनसँग जोड्न सकिन्छ । सोही कुराहरु हेर्न देश, विदेशका पर्यटकहरु आउन सक्छन् । भूतखोलाको कुखुरा फर्म, हाइटेक नर्सरी, चुनुमाया स्मृति पार्क, घोडेबास नजिकैको अविरल पार्कले पर्यटकलाई तान्न सक्छन् ।

तिनाउ गाउँपालिका साधन, स्रोतको अनुपम थलो हो । त्यसको गतिलो संयोजन र सञ्चालन हुन सकेमा तिनाउलाई बचाउने र चिनाउने मुख्य आधार पर्यटन नै हुन सक्छ । पर्यटन मनोरञ्जनमात्र होइन । बरु यो त खुसी मनाउँदै आर्थिक समृद्धिको यात्रामा सहभागी हुने गतिलो माध्यम हो । पर्यटनले नै समृद्ध तिनाउ, सुखी तिनाउबासीको आकाङ्क्षा पूरा हुन सक्छ ।