ताजा अपडेट »

ओमसतियामा कामका लागि पारिश्रमिक आयोजना सुरु

विहीबार, १८ फागुन २०७९

भैरहवा । रुपन्देहीको ओमसतिया गाउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबार देखि वडा नम्बर ५ बाट सुरु भएको छ । आर्थिक बर्ष २०७८/०७९ मा रोजगारीका लागि सुचिकृत भएका स्थानियहरुलाइ रोजगारी दिने उद्देश्य सहित आयोजना सुरु गरिएको रोजगार संयोजक अमृता पाण्डेले बताए ।

जम्मा ६३ जना सुचिकृत भएको मध्ये वडा नम्बर ५ मा २५ जनालाइ रोजगारी दिइएको पाण्डेले बताइन । छानिएका २५ जनालाइ न्युनतम एक सय दिनको रोजगारी सुनिस्चित गरिएको छ। उनिहरुलाइ दैनिक ५ सय ७७ रुपैयाका दरले पारिश्रमिक दिइने पाण्डेको भनाइ छ । छानिएका २५ जना महिला श्रमिकले दैनिक ७ घण्टा काम गर्नेछन । उनिहरुलाइ वडाकै सार्वजनिक एवम ऐतिहासिक स्थलहरुको सरसफाइ उनिहरुको मरम्मत, कुलो कुलेसो मरम्मत लगायतका काममा लगाइने ५ नम्बर वडाका वडाअध्यक्ष मदन प्रसाद पोखरेलले जनाए । पहिलो चरणमा वडा नम्बर ५, ४ र ३ का कामदार छानिएका गाउपालिका प्रवक्ता समेत रहेका पोखरेलले बताए ।

काम गर्दा स्थानिय एवम घरेलु औजार प्रयोग गरिने उनको भनाइ छ । आयोजनाको उदघाटन गर्दै ओमसतिया गाउपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पाएको रोजगारको गुनासो नआउने तरिकाले काम गर्न निर्देशन दिए । बेरोजगार अवस्थामा रहेका बिपन्न नागरिकलाइ रोजगारी दिने उद्देश्य सहित ल्याइएको यो कामको सदुपयोग गर्न समेत उनले आग्रह गरे । " तपाइहरुलाइ गाउपालिकाले सुचिकृत गरेको छ, यति एक सय दिनको लागि मात्र हैन आगामी दिनमा पनि तपाइहरुलाइ प्रयोग गर्ने पालिकाको नीति रहेको छ ।" यादवले भने " गुनासो नआउने गरि काम गर्नुहोला ।" कामका लागि पारिश्रमिक आयोजनाको सहजीकरण रोजगार प्रविधिक शैलेन्द्र गुप्ता र रोजगार सहायक मनोज कुमार गुप्ताले गरेका थिए ।