ताजा अपडेट »

‘नमस्ते दर्पण’ हेर्दा

बुधबार, १७ फागुन २०७९

रुपन्देहीको शंकरनगरका बालबालिकाहरुले २०६८ सालमा नमस्ते नेपाल नामक बाल क्लब खोलेका थिए । समाजमा सोही क्लबको संयोजनमा धेरै उन्नतशील र प्रगतिशील कामहरु हुँदै आएका थिए । सो क्लबलाई नमूना बालक्वलका रुपमा धेरैले चिन्दथे ।

बालबालिकाहरु किशोरवयबाट युवा अवस्थामा चढ्दै गए । उनीहरुका समाजप्रतिको दायित्व प्रगाढ र बलियो हुँदै गयो । बालक्लव उनीहरुका लागि उमेरले सुहाउँदो भएन । तर उनीहरुमा सामाजिक काम गर्ने हुटहुटी निरन्तर जागि रह्यो । उनीहरुको नेतृत्व शैली, काम गर्ने जाँगर, निरन्तरको खटाइ र समाजिक उत्तरदायित्वपूर्ण व्यवहारले मलाई उनीप्रति सलाम गर्न मन लाग्यो । प्रसङ्गवश मैले एकदिन क्लबका अध्यक्ष अर्जुन खरेल(जसलाई फोटोपत्रकार मनीषमार्फत चिनेको थिएँ ।)लाई घरमै बोलाएर तिमीहरुले नमस्ते नेपाल नामक गैह्रसरकारी संस्था जो समाजिक संस्था र नाफारहित संस्थाका रुपमा रहने गरी जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा दर्ता गर भनें ।

नमस्ते नेपालको विधान लेख्ने काममा सहयोग गर्छु भनें । उनीहरुका उद्देश्यहरुलाई विधानमा स्पष्ट किटान गरी लेखिदिएँ । उनीहरुका बीच छलफल गराएँ अनि दर्ताका लागि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा रहेका मेरा प्रिय साथी विष्णुप्रसाद ज्ञवाली (जो अधिकृत थिए र अहिले नि छन् । )सँग अर्जुन लगायतका भाइहरुलाई भेटाइ दिएँ । मित्र विष्णु जीले भाइहरुलाई साथीको नाताले भरम्दुर सहयोग गरिदिएका रहेछन् भन्ने कुरा मैले दर्तापछि थाहा पाएँ । २०७५ सालमा नमस्ते नेपाल विधिवतरुपमा गैह्रसरकारी संस्थाको रुपमा दर्ता भयो । दर्ता भएपछि उनीहरुमा थप उर्जा प्राप्त भयो । जाँगरले जुरुक्क उचाल्यो ।

नेपाल बन्द भइ रहन्थ्यो अनि उनीहरुले बन्दलाई सिर्जनात्मक रुपमा प्रयोग गर्नका लागि नयाँ विधिहरु अपनाए । नेपाल बन्दले गरिखानेहरुलाई दुःख हुन्छ, मजदूर, ज्यामीहरुलाई मुखमा माँड लगाउन दिन्न, व्यवसायी, उद्यमीहरुलाई ढाड सेक्छ । विद्यार्थीका भविष्यमा बिर्को लगाइ दिने छ । बन्दकर्ता वा नेताहरुलाई त आफ्नो कार्यक्रम क्षणिकरुपमा सफल भयो भन्ने लाग्ला तर देश नै असफल हुँदाको परिणाम कस्तो हुने हो भनेर नमस्ते नेपाललाई चिन्ता लाग्थ्यो । युवाहरुलाई कूलतबाट जोगाउने कामहरु गरे । पाँच हजार युवाहरुलाई सोही अभियानमा सरिक गराए । मर्चवारतिर गएर पहाडी र मधेशीहरुकाबीच मेलमिलापको भावना जगाउने र संस्कृति जगेर्ना गर्ने खालका कार्यक्रमहरुको आयोजना गरे । धोती–टोपी साटासाट कार्यत्रम राखे । भावनको साटासाट गरे । निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरे । नेताहरुलाई खबरदारी गरे । चुनावमा उठ्ने नेताहरुलाई जितेपछि केके गर्ने हो भनेर बीच सडकमा नै प्रतिवद्धता जाहेर गर्न लगाए । जितेका नेताहरुले प्रतिवद्धता अनुसार काम गरे कि नाइँ भनेर मध्यावधि समीक्षा गरे । युवाहरु टाठ्ठिएर धेरै नै तगडा काम गरे ।

नगरप्रमुखहरुसँग युवा कार्यक्रम सञ्चालन गरे । युवाहरुलाई राजनीतिप्रसि आकर्षित गराउन र नगरप्रुमुखले गरेका कामहरु नगरबासीहरु समक्ष पुराउनका लागि उक्त कार्यक्रम ज्यादै फलदायी भयो । आशा र सिर्जना कार्यक्रममार्फत पुराना पुस्ता र नयाँ पुस्ताकाबीच युग,युगवोध,युवाहरुको दायित्व र पुराना पुस्ताको भूमिका सन्दर्भमा व्यापक छलफल भयो । पुराना पुस्ताले नयाँ पुस्तालाई नयाँ सन्देश दियो,आशीर्वाद दियो र कामप्रति सधैं अग्रसर हुन सन्देश प्रवाह गरेको थियो । नयाँ पुस्ताले पुराना पुस्तासँगको ज्ञान,सीप र अनुभवलाई सम्पत्तिका रुपमा ग्रहण गर्नका लागि तत्पर रह्यो ।

नमस्ते नेपालका युवाहरुलाई आफ्नो संस्थागत जानकारी गराउने,आफूहरुले राखेका उद्देश्यहरुप्रति सचेत बनाइ रहन र आफ्नो भूमिकालाई सधैं सक्रिय बनाइ राख्नका लागि संस्थागत विकासका कार्यक्रमहरु,युवाहरुलाई उद्यमी बन्ने अभ्यासका कामहरु गर्दै आइरहेको छ । आफूलाई आफ्नो कामप्रति दायित्ववोध गराइ रहेको छ । समाज चिनाउने कार्यक्रमहरु गराइ रहेको छ । आफू र आफ्नो संस्थाका बीच एकीकृत भाव जगाइ राखेको छ ।

नेपाली कला,संस्कृति र सभ्यता जोगाउनका निम्ति विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने,राष्ट्रि कलाकारहरुलाई स्थानीयहरुसँग भेटघाट गराउने,आफ्ना कलाकारितालाई प्रस्तुत गर्न फोरम निर्माण गर्ने,संस्कृतिलाई जोगाइ राख्ने कार्यक्रमहरु सञ्चालनका लागि ,देउसी,भैलो कार्यक्रममार्फत उठेको दानलाई सामाजिक कार्यहरुमा खर्चिने कामलाई पहिलो प्राथमिकता दिएको छ । संस्कृतिलाई नै सभ्यताको जननी मानेको छ ।

सडक दुर्घटनालाई न्यूनीकरण,व्यवस्थापनका लागि आफ्ना साथीहरुलाई परिचालित गर्दै ट्राफिक प्रहरीहरुसँग सहकार्य गरी सडक दुर्घटनाबाट जोगाउने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । जन्मदिनमा वृक्षरोपण गर्ने कामले उच्च प्रशंसा पाएको थियो । नमस्ते नेपालका सदस्यहरु वा अन्य व्यक्तिहरुले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्ने अभियानको थालनीले हरियाली बढाउने अनि आफूले लगाएको विरुवाको हेरचाह गर्नुपर्छ भन्ने सन्देश दिनका लागि यो अभियान वरदान सावित भयो ।

कोरोनाकालमा संसारभर सामाजिक गतिविधिहरु ठप्प रहे । केही समय नमस्ते नेपालले पनि खासै सामाजिक दायित्व निर्वाह गर्न सकेन । तैपनि सुरक्षित अवस्थामा रही कोरोनाका विरामी बोक्ने एम्बुलेन्सका चालकलाई सम्मान गर्ने काम गरेको थियो । कोरोनाको खोप लगाउनका निम्ति आम नागरिकहरुलाई सूचना प्रवाहमा सहयोग गरेको थियो । कोरोनाबाट बच्ने उपाय र जोगिनका लागि खेल्नुपर्ने भूमिका बारेमा सर्वसाधारणलाई सचेत अभियान सञ्चालन गरेको थियो ।

कोरोनाका बिरामीहरुलाई आइसोलेसन,क्वारेन्टाइनमा रहँदा आवश्यक सामग्रीहरुको प्रवन्ध मिलाउन सहयोग गरेको थियो । कोरोनाका बिरामीहरुलाई उपचारका लागि काठमाडौंसम्म निःशुल्क यातायातको व्यवस्था गरेको थियो । स्थानीय सरकार ,राजनीतिक पार्टी,बुद्धिजीवीहरुसँग कोरोनालाई कम गर्नका लागि खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भएका थिए । समग्रमा नमस्ते नेपाल,युवाहरुको नेतृत्व,संयोजन र क्रियाशीलतामा सञ्चालित सामाजिक संस्था हो । यो संस्था रुपन्देहीमा दर्ता भएतापनि पाल्पा,पश्चिम नवलपरासी,कपिलबस्तु ,अर्घाखाँची र गुल्मीमा समेत गतिशील छ । करिव चार सय युवाहरु यो संस्थामा आवद्ध छन् ।

युवाहरु नै देशको सर्वाङ्गीर्ण विकासका वाहक हुन् । युवाहरु राष्ट्रका धरोहर हुन् । युवाहरु एकजूट भएर निरन्तर गतिशील भएमा देशमा परिवर्तन सम्भव छ । यही मनोभाव बोेकेर अघि बढिरहेको नमस्ते नेपाललाई नमस्कार । संस्थाका उद्देश्यहरु अनुरुप वार्षिक कार्ययोजना निर्माण गर्दै आवश्यक वजेटको खोजी गरी संस्थागत सुशासनलाई ध्यान दिदैं र सरोकारवाला सबैसँग मिलेर निरन्तर अघि बढिरहेको यो नमस्ते नेपाल,नमूना समाजिक संस्थाका रुपमा परिचित भई तिलोत्तमा नगरपालिकाले उत्कृष्ट सामाजिक संस्थाका रुपमा पुरस्कृत समेत गरेको थियो । यो संस्थाले गत माघ महिनाको २१ गते पहिलो अधिवेशनको अवसरमा नमस्ते दर्पण प्रकाशन गरेको छ ।

सो दर्पणमा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी,संघीय सांसद बासुदेव घिमिरे लगायतले शुभकामना दिएका छन् । अमृत गिरी,राजेन्द्र कुँवर,पुस्कर भण्डारी,भुवन सुवेदी,मनीष पन्थ,सरिता श्रीस,प्रशंसा खनाल लगायतले नमस्ते नेपालका बारेमा आफ्ना अनुभव र अनुभूति अभिब्यक्त गरेका छन् ।

अध्यक्ष लगायत संस्थासँग सरोकार राख्ने सबैले आफ्नो संस्थाले गरेका कामहरुको फेहरिस्त नमस्ते दर्पणमा लगाएका छन् । उल्लेखनीय कुराहरु नमस्ते दर्पणमा दस्तावेजीकरण भएका छन् । रङ्गीन कलेवरमा शान्दार रुपमा छापिएको उक्त दर्पणलाई माया गरेर धेरै विज्ञापनदाताहरुले आर्थिक सहयोग गरेका छन् । पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका अध्यक्ष अर्जुनले आफ्नो जिम्मवारी मनीष भुसाललाई हस्तानान्तरण गरेका छन् । नमस्ते दर्पण निरन्तर प्रकाशनको आशा सबैले गरेका छन् ।