बुटवल । प्रदेश १ प्रदेशसभाको बैठक सुरु भएको छ । प्रदेशको नामकरण गर्नका लागि बैठक सुरु भएको हो । प्रदेशमा नामकरणका लागि ‘कोसी’ प्रदेश र ‘किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश राख्ने प्रस्ताव दर्ता भएको छ ।
काङ्ग्रेस, एमाले र माओवादी केन्द्र कोसी नाम राख्न सहमत भएका कारण ‘कोसी प्रदेश’ दुई तिहाइ बहुमतका साथ पारित हुनेछ । प्रदेशसभाले आज नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । दलहरू भुगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेशसभा भवन अगाडि ९विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म० जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरवर आज दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो । ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरू नगर्न प्रशासनले आग्रह गरेको छ ।
यसैबीच नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरणका लागि माओवदी केन्द्र ब्याक भएको बताएका छन् ।
आज बिहानसम्म माओवादीले पहिचानको पक्षमा छुट्टै प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । तर माओवादीले छुट्टै प्रस्ताव दर्ता गर्दा प्रदेशको नाम नआउने अवस्था आएपछि प्रस्ताव पेश गर्नेबाट पछि हटेको उनले बताएका हुन् । माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीले आज पहिचानसहितको नाम दर्ता गर्ने तयारी गरेका थिए । माओवादी ब्याक भएपछि नेकपा एकिकृत समाजवादी र जसपाले किरात लिम्बुवान सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया