बुटवल । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई टिममा समावेश गर्न अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) सँग अनुमति मागेपछि उसले पुन जवाफ मागेको छ । आईसीसीले सन्दीपलाई समावेश गर्नुको कारणसहितको जवाफ माग गरेको हो ।
नाबालिग बलात्कार आरोप लागेका उनीमाथि उच्च अदालतले लगाएको विदेश जान नपाउने आदेश बदर गर्दै सोमबार सर्वोच्च अदालतले क्रिकेट खेल्नका लागि विदेश जाने अनुमति दिएको थियो । क्यानले आईसीसीलाई सन्दीपलाई टिममा समावेश गर्नका लागि अनुमति मागेपनि थप अबाम माग भएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
‘अदालतको आदेश लगत्तै हामीले आईसीसीमा सन्दीपलाई टिममा समावेशका लागि अनुमति मागेका हौं,’ उनले भने, ‘आईसीसीले हामीसँग खेलाडी परिवर्तनको कारण माग्यो, हामीले त्यसको जवाफ पनि पठाइसकेका छौं ।’ क्यानले यसअघि विदेश भ्रमणमा रोक लागेकाले सन्दीपलाई टिममा राख्न नसकिएको र हिजो सर्वोच्च अदालतले प्रतिबन्ध फुकुवा गरेकाले उनलाई पठाउन खोजिएको जवाफ दिएको छ ।
यसको जवाफ भने आईसीसीले दिइसकेको छैन । यदी आइसीसीबाट सकारात्मक जवाफ आएमा आजै भिसा अप्लाइ गरिने पाठकले बताए । प्रतियोगिताका क्रममा कुनै देशले आफ्नो स्क्वाडमा परिवर्तन गर्नु परेमा आइसीसीसँग अनुमति लिनुपर्ने हुन्छ। नेपालको १५ सदस्यीय टिम शनिवार यूएई गएको थियो र हिजो पहिलो खेल नेपालले खेलिसकेको छ । बाँकी तीन खेलका लागि क्यानले सन्दीपलाई टिममा प्रतिस्थापन गर्न चाहेको हो । कुन खेलाडीको स्थानमा सन्दीपलाई राख्ने भन्ने निधो भई नसकेको पाठकले उल्लेख गरे ।
प्रतिक्रिया