ताजा अपडेट »

डुम्रेको दूध

सोमबार, १५ फागुन २०७९

नेपालमा यतिबेला करिव ३० हजार सहकारी छन् भने ७३ लाख सदस्य । नेपाली अर्थतन्त्रको वित्तीय संरचनामा १८ देखि २० प्रतिशत् अंश सहकारीको छ । केही सहकारीको नीतिगत तथा व्यवस्थापकीय कमजोरी र सरकारी अनुगमन,निगमन अभावका कारण सहकारीमाथि नै नकारात्मक प्रचार भेटिन्छ । सत्यता के हो जाँच्नुपर्ने देखिन्छ ।

नेपालमा २०१३ सालदेखि सहकारी संस्था गठन भई निरन्तर चल्दै आएको भेटिन्छ । सहकारीलाई राज्यले समेत अर्थतन्त्रको तीनवटा आधारमध्ये एउटा मानेको छ । सहकारी खासमा ऐचौंपैचो हो । अर्मपर्म हो । एक आपसको आर्थिक लेनदेन हो तर व्यवस्थित । सहकारी सहयात्रा हो । सहकार्य हो । समन्वय समेत हो । नेपालमा सहकारी इतिहास करिव ६६ वर्ष पुरानो हुँदैछ । यसबाट आर्थिक लाभमात्र होइन प्रत्यक्ष,अप्रत्यक्ष सामाजिक लाभ भइरहेको छ । हजारौले रोजगार पाएका छन् । लाखौंले नेतृत्वको अवसर प्राप्त गरेका छन् । सहकारीबाट नेतृत्व गर्नेहरु अहिले स्थानीय, प्रदेश र संघीय निर्वाचनमार्फत आफ्नो क्षमता देखाउने स्थानमा पुगेका छन् ।

सहकारी हाम्रो गाउँठाउँको सहयोगीदाता हो । यसले हरप्रकारले आफ्ना सदस्यहरुलाई सहयोग गर्दै आएको पाइन्छ । देशमा अनेक प्रकारका सहकारी छन् । कोही बचत तथा ऋण सहकारी,कोही, कृषि सहकारी,कोही दुग्घ कृषि सहकारी,कोही बहुउद्देश्यीय सहकारी,कोही स्वास्थ्य सहकारी, कोही उपभोक्ता सहकारी भेटिन्छन् । अनेक छन् । यहाँ प्रसंग डुम्रे दुग्घ कृषि सहकारी संस्था लिमिटेडको छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं.६ ,डुम्रेमा रहेको उक्त सहकारी तीन दशक पुरानो सहकारी हो । यहाँ तिनाउ अनि रिब्दिकोट गाउँपालिका र तानसेन नगरपालिकाभित्रका केही वडाका गरी करिव पाँच सय घरपरिवारका तीन सय जना र समूह सहकारीका १० गरी तीन सय १० जना शेयर सदस्यहरु छन् ।

यो सहकारीले प्रदेश सरकार, स्थानीय सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा आफ्नै आधुनिक भवन निर्मााण गरेको छ भने १७ जना स्थानीयहरुलाई रोजगार समेत दिदैै आएको पाइन्छ । किसानहरुको दुई हजार पाँच सय लिटर गाई,भैसीको दूध संकलन गरी बिक्री गर्दै आइरहेको यो सहकारीले निकट भविष्यमा नै छुर्पी उद्योग खोल्ने तयारी गर्दैछ । त्यसका निम्ति लुम्बिनी प्रदेश सरकारसँग प्रस्तावना पेश गरिसकेको पाइन्छ । यहाँ कम्प्यूटर प्रणाली अनुसार हिसावकिताव समेत राख्न थालिएको छ ।

डुम्रेको दूध भनेपछि नामी मानिन्छ । यसमा कुनै अखाद्यवस्तु मिसावट गरिएका छैनन् । त्यही भएर त यहाँको दूध पिउनेहरुले सकेसम्म अन्तको दूधमा मनै लगाउँदैनन्–पशु डाक्टर तुल्सी भन्दैथिए । यो सहकारीले क्रिम,पनिर,घ्यू ,दही समेत बनाएर बिक्री गर्दै आइरहेको छ ।
गाउँमा पहिला ३९ वटा पशुफर्महरु थिए यतिबेला घटेका छन् । पहिला करिव चार हजार लिटर दूध संकलन हुने गर्दथ्यो तर यतिबेला घटेर दुई हजार पाँच सय लिटरमा सीमित हुनुपरेको व्यवस्थापक गोपाल जीसीले बताए । उनका अनुसार युवाहरु पशुपालनबाट पलायन भई विदेशतिर गएका कारण यस्तो समस्या थपिएको हो ।

संस्थाका अध्यक्ष दुर्गाबहादुर खाँडका अनुसार बैसाखदेखि साउनसम्म भैसीको दूघ नवलपरासी,रुपन्देही र कपिलबस्तुबाट खरीद गर्नुपर्ने हुन्छ । खडेरीका बेला दूधको मात्रा घट्ने समस्याले आफूहरुलाई पिरोलेको बताउने उनले आफ्नो क्वालिटीको दूधकै कारण तानसेनदेखि पोखरासम्म बिक्रीहुँदै आएको बताए । आधुनिक मेसीनले दूधको परक्षिण गरिने,दूधमा भएको ल्याक्टोको आधारमा किसानलाई दूधको मूल्य दिइने बताइरहेका उनले किसानहरुको मर्का बुझ्ने खालको सरकार नहुँदा कहिलेकाँही दुःख पाइने बताए ।

उक्त सहकारीका शेयर सदस्य खडकबहादुर गोदारका अनुसार आफूहरुलाई सहकारीले पशुवीमा,गाईभैसी खरीद गरेर गोठमा ल्याउनका निम्ति ढुवानी खर्च,गाईभैसी सुत्केरी हुँदा पोषण खर्च,कृत्रिम गर्भाधान,सहकारीबाटै चोकर,दाना,भिटामीन तथा औषधीहरुको व्यवस्थापन भइरहेको तर त्यसलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । डुम्रेमा दूग्घ कृृषि सहकारी सञ्चालनमा आएपछि स्थानीय किसानहरुले आर्थिक उपलब्धि समेत हाँसिल गरेका छन् । घरखर्च चलाएका छन् । गर्जो टारेका छन् । किसानहरुले थोरैमोरै पैसाका लागि साहुकहाँ ऋण थाप्न जान परेको छैन । आफ्नो सहकारी हो भन्ने भावनाको विकास हुँदै गएको अध्यक्ष खाँडले बताए ।

पशुको भाउ बढ्दै गएको । दाना,औषधी,भिटामीनका भाउ आकासिएको तर सो अनुसार किसानका दूधको मूल्य समानुपातिक तरिकाले बढ्न नसकेकोमा आफू चिन्तित रहेको बताउँदै दूधमा दिदै आइएको अनुदान समयानुकूल बढाउनु पर्ने तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले सुनाए । स्थानीय सरकारले कृषिमैत्री नीतिमा जोड दिदै आएतापनि त्यो काफी नभएको र आगामी दिनमा उनीहरुका माग,आवश्यकताका आधारमा पशुपालक किसानहरुलाई राहत प्रदान गर्न आफूहरु तयार रहेको बताए ।

कठोर मिहिनेत गर्ने पशुपालकहरुका समस्याहरुलाई स्थानीय,प्रदेश र संघीय सरकारले कृषिमैत्री नीतिमा ध्यान दिनुपर्ने देखिन्छ । पढेलेखेका युवाहरु विदेशिने तथा गाउँबाट सहरतिर बसाइसर्ने चलनले गाउँमा कृषि तथा पशुपालन पेसा सोचजस्तो हुन नसकेको बताउने बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले–डुम्र्रेको दूघजन्य तथा कृषि उत्पादनलाई बढवा दिनका निम्ति बुटवल उपमहानगरपालिकाले हाटबजारमा रहेको सटरको व्यवस्थापन गर्ने बताइन् । त्यसो हुन सकेमा बजारीकरणमा सहयोग पुग्ने छ ।

उपप्रमुख अर्यालले डुम्रे दुग्ध सहकारीको अवलोकनपछि आफू अति नै प्रभावित भएको र किसानहरुलाई सक्दो सहयोग गर्न सम्बन्धित पालिकाहरुले कृषि,पशुमैत्री नीति निर्माणमा जोड दिने बताइन् ।