ताजा अपडेट »

सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सन्दीपको मुद्दा १ नम्बरमा

आइतबार, १४ फागुन २०७९

काठमाण्डौं । बलात्कार अभियुक्त क्रिकेटर सन्दी लामिछानेसँग सम्बन्धित् मुद्दाको आइतबार सर्वाेच्च अदालतमा सुनुवाइ हुँदै छ । 

आफूलाई देश बाहिर जान रोक लगाउन उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीपले दिएको निवेदन र सन्दीपलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालतको आदेश बदरको माग गर्दै परेको पुनरावलोकनसम्बन्धी मुद्दाको सुनुवइ आइतबार सर्वाेच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा हुने भएको छ । 

अग्राधिकार दिइएका कारण उक्त इजलासको एक नम्बरमा पेसी  तोकिएको छ ।  नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो । 

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट गत बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको थियो । यता पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा छाड्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय निवेदन पेस गरेको थियो । सन्दीप र महान्यायाधिवक्ताले दिएको छुट्टाछुट्टै निवेदनमाथि आइतबार संयुक्त सुनुवाइ हुन लागेको हो ।