घरबेटी दाइ पूर्णबहादुर थापासँग १० हजार रुपैयाँ सापटी लिएर उनले बुटवलको सुख्खानगरमा न्यू राना लेडिज टेलर्स सुरु गरिन् । बुटवलकै कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सात वर्ष अघि ३० हजार कर्जा लिएर आफ्नो टेलर्सलाई बिस्तार गरेकी थिइन् । सोही टेलर्सबाट राम्रो आम्दानी हुँदै जाँदा लिएको कर्जा एकै वर्षमा चुक्ता गरिन् । काठमाडौंमा उनले सुनिता सिलाई केन्द्रबाट एक वर्षे आधारभूत सिलाइ–कटाई तालिम लिइन् । पछि फेरि ललितपुरमा एड्भान्स सिलाई–कटाइ तालिम लिएपछि दिदीसँगै काठमाडौ र पोखरामा टेलरिङ्ग सेन्टर खोलिन् ।
काठमाडौमा बसेर सिलाइ–कटाई तालिम सिक्न आफूलाई दिदी र दाइले सहयोग पुराएको सुनाउँदैथिइन् । उनका ठूल्दाजु रुकबहादुर रानाले आफूलाई लाग्ने सिकाइ खर्च गाउँबाटै पठाइ दिने र दिदीले काठमाडौंमा बस्ने र खाने व्यवस्था गरिदिएकी रहेछिन् । उनी अर्थात् मपि राना । उनको माइती गाउँ गुल्मीको सत्यवती गाउँपालिका वडा नं.३ को ठूलो लुम्पेकमा पर्छ । त्यहाँ उनले २०६७ सालमा टेलरिङ्ग सेन्टर खोलिन् । स्थानीय गाउँलेहरुलाई सिलाइ–कटाइको सुविधा दिदैै राम्रो आम्दानी गरिन् । सीप र श्रमले गाउँलेकाबीच छिट्टै आफ्नो क्षमताको कदर हुन सकेकोमा मपि खुसी भइन् ।
स्थानीयस्तरमा सोही पेसा अपनाउँदै आएका गुञ्जबहादुर नेपाली दाइ खुबै रिसाएछन् । उनले मपिलाई फकाउँदै भनेका रहेछन्–बरु एउटा पाइन्ट सिलाएको बरु पाँच रुप्पे दिन्छु, तिम्रो टेलर बन्द गर है । उनी भन्दैथिइन्–त्यतिमात्र कहाँ हो र सोही पेसालाई रैथाने पेसाका रुपमा अपनाउँदै आएका अस्लेवाका केही दाइहरुले हाम्रो गरिखाने पेसामा सौता पसेको पो भने । हाम्रो पेसा खोसेपछि तिम्ले हामीसँगै बाजा पनि बजाउनु पर्छ अबदेखि ! त्यतिबेला हाँसेर टारें ।
ती वचनहरुले मलाई आफ्नो पेसाप्रति गर्व लाग्यो र झन् आफ्नो ज्ञान,सीप र श्रमलाई आफ्नै पेसामा लगाइरहन्छु भन्ने उत्साह जाग्यो । आँट आयो । निरन्तर आजपनि म यसै पेसामा गतिशील छु–भन्दैथिइन् मपिले । २६ वर्षको उमेरमा विहे गरिन् । अहिले ९ वर्षका छोरो अनमोललाई बुटवलकै एक संस्थागत विद्यालयमा पढाउँछिन् । श्रीमान् टेकबहादुर आले यतिबेला नेपाली सेनाकातर्फबाट शान्ति सेनाका रुपमा अफ्रिकन मुलुकमा सेवारत् छन् ।
कानुङ सहरकारीबाटै आफूले ६ महिना अघि ७५ हजार कर्जा लिएर एउटा पिको सिलाइ मेसीन र दुईटा चेरी सिलाई मेसीन खरीद गरेकी छिन् । त्यसमा एउटा इन्टरलक मेसीन अनि काँचो लुगा समेत थपिन् । तीनजना बहिनीसँगै सिलाइकटाइमा उनी तल्लीन छिन् । सिलाइ–कटाईबाट आएको आम्दानीलाई तीन भाग लगाउने र बहिनीहरुलाई एक भाग अनि आफूले दुई भाग राख्दै आएको बताइन् । त्यसो गर्दा पनि महिनामा घरभाडा, बिजुली, खाजा लगायतका सबै खर्च कटाएर महिनामा करिव तीस हजार बचाउँदै आएको उनले खुसीका साथ सुनाइन् ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, रुपन्देहीको सदस्यता लिएकी उनले सोही संस्थाले तोकेको सिलाइ दरमा आफ्नो श्रमको मूल्य लिंदा रहेछिन् । ब्लाउज, पेटीकोट, झुम्का, कुर्था, सुरुवाल, मेक्सी, ग्राउन, चौबन्दी चोलो, मिडी, लेहङ्गा लगायतका कपडा सिलाउँदै आएकी उनले सर्ट,पाइन्ट समेत सिलाउने कला आफूसँग भएको बताइन् । कपडा काट्ने उत्कृष्ट ढंग र राम्रो सिलाई कला भएकै कारण आफूहरु लुगा सिलाउन मपिकै टेलर्समा नियमित आउने सुख्खानगरकी ठमी थापाले सुनाइन् ।
कानुङ सहकारीका सचिव बेनप्रसाद थापाले आफूलाई सहकारीमा आवद्ध हुन अनुरोध गरे अनुसार आफू सदस्य भएर नियमित बचत गर्दै आएको र आवश्यकता अनुसार कर्जा लिएर आफ्नो पेसालाई दिगो र आयमुखी बनाउने अभियानमा लागेको मपिले सुनाइन् । मासिक बचत र लिएको कर्जा समयमै तिर्ने राम्रो बानी रहेकी मपि राना आफ्नो संस्थाको इमान्दार र उदाहरणीय उद्यमी रहेको भन्दै संस्थाकी कार्यालय प्रमुख कुसुम पुनले गर्व गरिन् ।
सिलाइमा सङ्घर्ष गर्दै आएकी मपिले टेलर्स सञ्चालनबाट आएको आम्दानीले घरखर्च चलाएकी छिन् । छोरोलाई महंगो स्कूलमा पढाएकी छिन् । औषधोपचार गरेकी छिन् । उनले नगरपालिकाबाट आधारभूत सिलाइ-कटाइ सिकेका बहिनीहरुलाई हात बसाल्न आफ्नै टेलर्समा तालिम दिदै आएकी छिन् । भविष्यमा आफ्नो टेलर्सलाई बिस्तार गर्ने, दिदीबहिनीलाई रोजगार दिने र सिलाई कटाई सिकाइ केन्द्र खोलेर बेरोजगार एवम् गृहणी महिलाहरुलाई तालिम प्रदान गरी स्वःउद्यमी गराउने सुन्दर रहर बुनेकी छिन् ।
प्रतिक्रिया