ताजा अपडेट »

पुनर्मिलनको सन्देश

विहीबार, ११ फागुन २०७९

२६ वर्षपछि भेट्दा कति साथीका अनुहार उस्तै, शरीरमात्र बदलिएका । केही साथीहरुलाई आँखामा राखेर जाँच्दा पनि स्मृतिमा ल्याउनै कठिन । कतिपय साथीका व्यवहार दुरुस्तै पहिलेका । कतिपय साथीको बोलीचालीमा आकास जमिनको अन्तर ! ७९ जना साथीमध्ये पाँचजना साथीहरु सदाका लागि हामीबाट बिदा भइसकेका छन् । बाँकी ७४ जनामध्येबाट ३४ जना साथीहरु भेट्ने अवसर मिलेको थियो पुनर्मिलन कार्यक्रममा । यही फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर बुटवलमा कार्यक्रम सम्पन्न भएको छ ।

पुरानो बटौलीमा हामीले सिएमए तालिम केन्द्रमा तेस्रो समूहको विद्यार्थी बनेर सिएमए पढ्ने अवसर जुटेको थियो । सो केन्द्रमा बाग्लुङ्ग,प्युठानदेखि पूर्वी नवलपरासीसम्मका साथीहरुले पढ्ने गर्थे । स्याङ्जाका विश्व, मणि, मोहदत्त र महेश नबर्सिने नाम हुन् । प्युठानका हरिबहादुर जीसी र नवराज श्रेष्ठ थिए । पूर्वी नवलपरासीका सुवास भुसाल यतिबेला आफ्नो सिएमए पढाइ थाँती राखेर लुम्बिनी डिग्री कलेजमा प्राध्यापन गर्छन् ।

सीता पराजुली, भैरहवा रणअम्बिका आँखा अस्पतालमा सेवारत् छिन् भने शुभद्रा कंडेल राष्ट्रपति चुरे तराई मदेश संरक्षण विकास समितिको एकाई कार्यान्वयन कार्यालय, बुटवलमा फरक पेसामा कार्यरत् छिन् । अर्जुन गुरुङ, नारायणघाट, पोखरा, बुटवल लगायतका सहरलाई आधार बनाएर पठाओजस्तै यातायात सेवा सेभ राइड चलाउन थालेका रहेछन् ।

हाम्रो पालाका सिएमए नेपाल टप जगदीश घिमिरे उस्तै स्वभावका, पाका, शालीन । वजनदार बोलीका धनी उनलाई देख्दा, भेट्दा आफैलाई गौरव लाग्ने । कान्छा दाइ अर्थात् ईश्वरबहादु रानाले सरकारी पेन्सन खाएर बिनाटेन्सन घरमै भाउजूको साथमा जीवन गुजारेको कुरो परिचय कार्यक्रममार्फत जानकारी प्राप्त भयो । ठूल्दाइ थिए कुलबहादुर आले । उनी पाल्पाली भएपनि गर्मी खान रुपन्देहीको तिलोत्तमा झरेका रहेछन् । नातीनतिना समेत भसक्कै प्राप्त गरेका उनलाई देख्दा खुसीले हामी सबैका मन धूरी चढेका थिए ।

कार्यक्रममा महेश चापागाइँले कार्यक्रम सञ्चालन गरेका थिए । उनी यतिबेला शिक्षा क्षेत्रमा रहेछन् । मणिग्रामको शान्ति स्कूल र कलेज पढाउँदा रहेछन् । पैसा राम्रै छापेका उनले कोर्सका केही कितावहरु समेत लेखेका रहेछन् । विष्णु क्षेत्री जागिरकै सिलसिलामा तुल्सीपुरतिर रहेछन् । ईवरी पाण्डेले आम्दा अस्पताल र दिनानाथ भण्डारीले सोही अस्पतालबाट निवृत्त भइसकेको खबरले साथीहरुको वर्तमान अवस्था हेक्का भयो ।

साथीहरुले परिचयको क्रममा सिएमए पढ्दा दुःख,सुखहरुलाई स्मृतिमा ताजा बनाए । कसैले पैसा नभएर पाडाको मम खाई सुत्नुपरेको, साहुले दुई किलो चामल नपत्याएको, तिनाउ खोलामा नुहाउन जाँदा साथीको लुगा लुकाइ दिएर भागेको, सानैमा विहे गरेर आउँदा घरको सम्झनाले पिरोलेको, सिएमए पढेर दुई महिना तुरिदाँ पनि आफूले कुन विषय केका लागि पढ्दै गरेको समेत थाहा नपाएको कुरा सुनाइ रहँदा सबैका आँखा रसाएका थिए ।

बद्रीप्रसाद यादव यतिबेला कपिलबस्तुमा रहेछन् । उनी त अहिले शुद्धोदन गाउँपालिकाको वडा नं. ६ को वडासचिव रहेछन् । उनका भतिजो त वडाध्यक्ष रे सोही वडाका । एकछिन खुब हाँसोको फोहोरा छुट्यो । अंकल वडासचिव, भतिजो वडाध्यक्ष । राजेन्द्र यादव लुम्बिनी सांस्कृतिक नपाको वडा नं. ११ को वडा सचिव रे ! पालिकामा स्वास्थ्य सेवामा रहेको बेला उनलाई उता पो सारियो रे ,कस्तो चलन होला एकछिन सबैलाई सोच्ने बनायो ।

नाथुराम थारु उतिबेलाको हाम्रो समूहमा रहेर नाम कमाएका मान्छे हुन् । हामीलाई २०५२ सालतिर कपिलबस्तुको लक्ष्मणघाटमा पिकनिक ख्वाउन लगेका थिए । छोराछोरी दुबैलाई स्वास्थ्य शिक्षा दिएका रहेछन् । मणि पंगेनीले पेन्सन लिएको धेरै भएको छैन । छोराहरु डाक्टर र इन्जिनियर पढाएका उनी आफ्नै पेसामा आवद्ध रहेछन् ।

२०७४ मा भीष्मराज भुसाल, बाणगंगा नगरपालिका वडा नं. ५ को वडाध्यक्ष निर्वाचित भएका रहेछन् । हाम्रै साथी विश्व पौडेल स्याङ्जा आँधिखोला गाउँपालिकाको अध्यक्ष भएका रहेछन् । केही समय उनी सरकारी स्वास्थ्य सेवामा रहेका तर द्वन्द्वकालीन अवस्थामा तत्कालीन माओवादी र राज्यपक्षबाट समेत ११ महिना यातना भोगेपछि सदाका लागि आफ्नो जागिर छोडेका उनले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत हुँदा स्वीट्जरल्याण्डमा जाने र बस्ने अवसर पाएका रहेछन् । उनले पुनर्मिलन कार्यक्रममा कवितात्मक शैलीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सफल बनाउनका लागि भागिरथ रानाले सबै साथीहरुको नाम र फोन नम्बर संकलन गरेका थिए । आर्थिक पाटोलाई दिनानाथ भण्डारीले संयोजन गरे । मैले कार्यक्रममा हाम्रो पुनर्मिलन कार्यक्रमको औचित्य,साथै पुनर्मिलनलाई दीगो राख्न र साथीहरु सबैको आर्थिक एवम् सामाजिक विकास गर्न फाउण्डेसन बनाउने विषयमा अवधारणा पत्र पेश गरेको थिएँ ।

दुईघण्टा हामीले तीनपुस्ते परिचय कार्यक्रम गर्दा त हामी सबै खुलिसकेका थियौं । आफ्नो सम्झनालाई पुनर्ताजगी गरेका थियौं । साथीहरुले मेरो अवधारणामाथि आफ्ना विचारहरु राखे । कमाएको थोरै थोरै रकमलाई संकलन गरेर आयमुखी क्षेत्रमा लगानी गर्ने र आएको नाफालाई सामाजिक क्षेत्रमा लगानी गर्ने सोचका साथ फाउण्डेसनको अवधारणा पेश गरेको थिएँ । साथीहरु नारायण, सुन्दर, बुद्धि, भेषराज, विश्व, खिमानन्द, मदन लगायतका साथीहरुले आआफ्ना विचार प्रस्तुत गर्दै दलबहादुर गुरुङको संयोजनमा महेश चापागाइँ,सुन्दर गहतराज,विश्व पौडेल, जगन्नाथ पराजुली, शुभद्रा कंडेल, नारायण अर्याल, मदन पुन सदस्य रहने गरी फाउण्डेस निर्माणका लागि आवश्यक कागजी काम गर्ने गर्न तदर्थ समिति बनाए ।

उक्त समितिले तयार पारेको उद्देश्यसहितको कागजातमाथि सल्लाह र आवश्यक परिमार्जनसहित अनुमोदन गर्न स्याङ्जाको पर्यटकीय थलो सिरुबारीमा २०८० को बैसाख १५ र १६ गते दोस्रो पुनर्मिलन कार्यक्रमको आयोजना गर्ने गरी बिदा भएका छौं ।

पहिलो पुनर्मिलन कार्यक्रममा आउन नपाएका साथीहरु सिर्जना, रेश्मा, बिमला, एनपी पन्थी लगायतका थप साथीहरु दोस्रो पुनर्मिलन कार्यक्रममा उतै भेट्ने छौं । त्यतिबेला हामीले समूहलाई जीवन्त गराई राख्ने फाउण्डेसनको अन्तिम निर्योक्योल गर्ने छौं । जीवनमा सिकेका ज्ञान, सीपलाई फाउण्डेसनमा प्रयोग गर्नेछौं । फाउण्डेसनमार्फत सामाजिक सेवामा लाग्ने छौं ।

साथमा अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मासँगै फोटो सेसन गरेर हार्दिकतापूर्ण विदा भयौं । कहिले आउँला बैसाख १५ गते भनेर औला गनिरहेका छौं ।

मृत्युको आयु !