ताजा अपडेट »

खुल्ला सीमालाई मध्यनजर गरि सुरक्षा योजना बनाउन आग्रह

विहीबार, ११ फागुन २०७९

भैरहवा । रुपन्देहीका नव आगन्तुक प्रहरी प्रमुखलाई रुपन्देहीमा रहेको खुल्ला सीमालाई मध्यनजर गरि सुरक्षा कार्ययोजना बनाउन आग्रह गरेका छन । सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघले बिहिबार भैरहवामा आयोजना गरेको प्रहरी प्रमुखको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान आर्थिक मन्दिको अवस्थामा ब्यवसायीहरु थप जोखिममा परेको बताएका हुन ।

भारतको उत्तर प्रदेश सङ्ग सीमा जोडिएको रुपन्देही प्राय भारतिय अपराधीहरुद्वारा अपराध गरिने कारण भारतिय चुनौतीलाई ध्यान दिन प्रहरी प्रमुखलाई सुनचाँदी ब्यवसायीहरुले आग्रह गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्माले बिगतका दिनमा रुपन्देहीमा सबै भन्दा बढी सुनचाँदी ब्यवसायी नै लुटिएको बताए । उनले ब्यवसायीहरुको बहुमुल्य समान लुटिएको र केही घटनामा बाहेक धेरै घटनामा चोरहरु नसमातेकोमा चिन्ता ब्यक्त गरे । अधिकांश लुटेराहरु भारतबाट आउने गरेको कारण यसमा नियन्त्रणको प्रयास गर्नु पर्ने उनले बताए ।

यस बाहेक सुरक्षा निकायले ब्यवसायीहरुमाथिको दृष्टिकोण पनि परिवर्तन गर्नु पर्ने वक्ताहरुको आग्रह थियो । नेपाल सुनचाँदी ब्यवसायी समिती केन्द्रिय परामर्श समितिका सदस्य श्याम कुमार विश्वकर्माले प्रहरीले सुन चोरकै नजरले ब्यवसायीलाइ समेत हेर्ने गरेको गुनासो गरे । अहिलेको अवस्थामा चोर र सज्जनको पहिचान गर्न कठिन परिरहेको उनको भनाइ छ । कतिपय अवस्थामा चोरहरु बिल सहित नै समान बेच्न आउने गरेको विश्वकर्माको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका प्रहरी उपरीक्षक भरर बहादुर विश्वकर्माले खुल्ला सीमाका कारण हुने अपराधमा सजग भएको बताए । यसका लागि सुरक्षाका अधिकतम उपायहरु अपनाइएको उनको भनाइ थियो । विश्वकर्माले रुपन्देहिको शान्ती सुरक्षा एवम अपराध अनुसन्धानमा शून्य शहनशिलता अपनाउने बताए । जिल्लाको शान्ती सुरक्षाको लागि उनले ब्यवसायी एवम नागरिकको सहयोगको खाचो रहेको बताए । जोखिमबाट जोगिन ब्यवसायलाइ सुरक्षित र मर्यादित बनाउनु पर्ने विश्वकर्माको भनाइ छ । ‘आफ्नो ब्यवसायको सुरक्षाको लागि भए पनि आफू वरिपरिको वातावरण एवम क्रियाकलापमा निगरानी गर्न आवश्यक छ ।’ उनले भने ‘ प्रत्येक पसलम सीसीटीवी भए नभएको यकिन गरि नभएको ठाउमा राख्न सहयोग गर्नुहोला ।

सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष दिपक कौशलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय परामर्श समितिका संयोजक प्रेमकुमार सेन्चुरी, लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्मा, बुटवल सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष मिलन सुनार, रुपन्देही सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रदेश सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष बिक्रम सुनारले सुनचाँदी ब्यवसायीका समस्याहरुका बारे बोलेका थिए । कार्यक्रम संघका महासचिव सुनिल सेन्चुरी एवम स्वागत मन्तब्य उपाध्यक्ष राजन विश्वकर्माले गरेका थिए ।