ताजा अपडेट »

रुपन्देहीको सिद्धार्थनगरमा कुकुरको बन्ध्याकरण

मंगलबार, ०९ फागुन २०७९

भैरहवा । छाडा चौपायाका कारण हैरान भएको सिद्धार्थनगर नगर पालिकाले नया योजना ल्याएको छ । यस अघि नगरमा रहेको गाई गोरुलाई गौशालामा लगि ब्यवस्थापन गरेको नगरपालिकाले अहिले सामुदायिक (छाडा) कुकुरहरुको संख्या घटाउन उनिहरुको बन्ध्याकरणको काम थालेका छ ।

सामुदायिक कुकुरहरुका कारण समस्या बढेपछि कार्यालयले शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण थालेको हो । नगरपालिकाले भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीको सहकार्य र हिमालयन एनिमल रेस्क्यू ट्रष्ट संस्थाको प्राविधिक सहयोगमा मंगलबार देखि तीन दिने शिविर संचालन गरी सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ । सामुदायिक कुकुरहरुको संख्यामा कमी ल्याउन र रेबिजको प्रकोप न्यूनिकरण गर्न सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि शिविर संचालन गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए ।

उनले शिविरमा खटिएको विज्ञ सहितको टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरहरुलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याइ बन्ध्याकरण लगायत उपचार गरे पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन दिनको शिविरमा एक सय ५० देखि दुई सय सामुदायिक कुकुरहरुको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको बताए । उनका अनुसार मंगलबार मात्रै ५० वटा सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरिएको छ । यसका साथै शिविरमा सामुदायिक कुकुरहरुलाई रेबिज विरुद्ध खोप समेत लगाउने गरिएको छ । नगरपालिकाको कार्यालयले सामुदायिक कुकुरहरुको बन्ध्याकरणका लागि सूचना जारी गरेर वडा÷टोलमा रहेका सामुदायिक कुकुरबारे जानकारी गराउन नगरवासीलाई आग्रह समेत गरेको छ ।

“अहिले तीनदिने शिविरमा सके जतिको बढी कुकुरहरुको बन्ध्याकरण गर्छौ” सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पौडयालले भने “फलदायी देखिएमा अर्को पटक बजेट र समयावधी बढाएर शिविर संचालन गर्ने सोचमा छौँ ।” विज्ञान प्रविधीबाट समाधान नभएको विषय कुकुरहरुबाट हुने गरिएको बताउँदै लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्सय विकास निर्देशनालयका निर्देशक डा परवेज आलम खानल कुकुरको संरक्षण गर्नुपर्ने जिकिर गरे । उनले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेर निरुत्साहित नभई व्यवस्थित गर्न खोजिएको बताए ।

हिमालयन एनिमल रेस्क्यू ट्रष्टका संस्थापक तथा संचालक खगेश्वर भट्टराईका अनुसार कुकुर बन्ध्याकरणका लागि ट्रष्टबाट तीन जना पशु चिकित्सक, दुई जना प्राविधिक सहित १२ जनाको टोली खटिएको छ । यस बाहेक नगरपालिका र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट पनि जनशक्ति खटिएको छ ।