बुटवल । रुपन्देहीको देवदहमा जारी देवदह नगर स्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । स्थानीय देवदह इङलिस माध्यमिक विद्यालय पिपलडाँडाको रजत महोत्सवको अवसरमा आयोजित भलिबलमा सोमबार पहिलो चरणका खेलहरु भएका हुन् ।
सोमबार भएको पहिलो चरणका खेलहरुमा देवदह मा विलाई २-० सेटको सोझो सेटमा कोलिया इङ्लिस बोर्डिङ स्कूल विजयी भएको छ । यस्तै दोस्रो खेलमा देवदह इंग्लिस बोर्डिङ स्कूलले न्यू लुम्बिनीलाई २-१ को सेटमा हरायो भने तेस्रो खेलमा जनप्रिय मावि भलुहीलाई र देवदह मदरटङ्सले २-० को सोझो सेटमा हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै सोमबारनै भएको चौथो खेल सरस्वती माविलाई एशियन लाइटले २-० को सोझो सेटले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको खेल संयोजक अर्पण पौडेलले बताए ।
देवदह नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयका १६ समुहहरु सहभागि भएको प्रतियोगितामा मंगलबार क्वाटर, सेमिफाईनलका खेलहरु हुने खेल संयोजक पौडेलले जानकारी दिए । मंगलबार सबैखेल भएमा फाईनल पनि मंगलबार हुने र नसकिए बुधबार बिहान फाईनल खेल हुने छन् । राष्ट्रिय भलिबल खेलाडी प्रताप खवास र आकाश बेल्बासेले प्रशिक्षकको भूमिका निभाएका छन् । प्रतियोगिताको विजेताले ५ हजार नगद, द्वितीयले ३ हजार नगद र तृतीय हुनेले २ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका संस्थापक प्राचार्य विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सोमबारदेखि सुरु भएको नगर स्तरीय भलिबलको उद्घाटन गर्दै प्रदेश खेलकूद परिषद्को सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकूदको विकास र खेलाडी उत्पादनमा संस्थागत विद्यालयको योगदानलाई बिर्सन नहुने बताए । उनले खेलक्षेत्रका समग्र विकासका लागि स्थानीय तहले संस्थागत र सामुदायिक विद्यालयहरुसँग समन्वय गरेर खेलक्षेत्रमा आशालाग्दा खेलाडी उत्पादन गर्न सघाउनु पर्ने सुझाव दिए । विद्यालयका अर्जुन कुमार रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल नेशनल प्याब्सन रुपन्देहीका अध्यक्ष पुरुषोत्तम बस्याल, सामाजिक अगुवा रामप्रसाद देवकोटा, यज्ञ तिवारी, कमल पौडेल लगायतले खेल क्षेत्रको विकासका लागि विद्यालयतहबाटै विद्यार्थीलाई खेलकुदमा रुची जगाउनु पर्नेमा जोड दिए ।
यसैबीच विद्यालयले स्थापनाको २७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न सप्ताहब्यापी कार्यक्रम गरेर रजत महोत्सव मनाउँदै छ । विद्यालयले ७ गते सरसफाई कार्यक्रम र पूर्वविद्यार्थी मिलन कार्यक्रम सम्पन्न गरिसकेको छ भने १० गते अभिभावक खेलकूद र स्वास्थ्य शिविर, ११ गते पुरस्कार वितरण कार्यक्रम तथा १२ गते मूल समारोहका साथमा रजत महोत्सव मनाउने कार्यक्रम रहेको सहायक प्राचार्य मनबहादुर क्षेत्रीले जानकारी दिए ।
प्रतिक्रिया