बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री बिष्णु पन्थीले सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट नागरिकलाई बचाउन सबैको चासो र सहकार्य आवश्यक रहेको बताएका छन् । बढ्दै गएको दुर्घटनाका कारण समाज आक्रान्त रहेको भन्दै मन्त्री पन्थीले दुर्घटनाले समाजका योग्य र कुशल नागरिक गुमाउनु परिरहेकोले भयाबह अवस्था कम गर्न सबैको सहकार्य जरुरी रहेको बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको नेशनल रोड सेफ्टी काउन्सिल नेपालको आयोजना, नासा नेपाल र सुरक्षित यात्रा अभियान नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा बुटवलमा आयोजित सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामूलक कार्यक्रमा बोल्दै मन्त्री पन्थीले उक्त कुरा बताएका हुन् ।
लुम्बिनी प्रदेशका उद्योग वन बातावरण पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले दुर्घटना न्युनिकरणका लागि नागरिक सचेतना जगाउन लुम्बिनी प्रदेश सरकारले आवश्यक कदम चाल्ने बताए ।
मन्त्री यादवले सडक दुर्घटनाबाट हुने क्षती अकल्पनीय ढंगको हुने बताउँदै यसको न्यूनिकरणका लागि विद्यालय स्तरबाटै पाठ्यक्रम आवश्यक रहेकोले मन्त्रालयले सो अनुसारको नीतिगत प्रक्रिया अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले नागरिक सचेत नभएसम्म सडक र सवारीमा हुने अब्यवस्था हटाउन कठिन हुने बताउंदै नागरिकलाई दुर्घटनाका विषयमा सचेत बनाउनु पहिलो आवश्यकता भएको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नासा फाउण्डेसनका महासचिव गोबिन्द भट्टराईले सडक दुर्घटनाको अवस्था र मानवीय क्षतीको नियन्त्रण, अभियान्ता कमला आचार्यले सडक दुर्घटना न्युनिकरणमा सामाजिक संघ संस्थाहरुको भूमिका, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले लुम्विनी प्रदेशको ट्राफिक ब्यवस्थापनका समस्या र अवस्था तथा सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले दुर्घटना न्युनिकरणका लागि नागरिक स्तरबाट भएका कार्यहरु बारे प्रस्तुतिकरण गरेका थिए ।
लुम्बिनी प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रको प्रतिनिधीहरुको सहभागिता रहेको सो कार्यक्रममा पूर्वाधार नीति, कार्यक्रम तथा सुरक्षीत यातायातको दीर्घकालिन योजनाका लागी सुझावहरु प्रस्तुत भएका थिए ।
कार्यक्रमले प्रदेशसभा सदस्य तुलसी प्रसाद चौधरीको संयोजकत्वमा पुर्व प्रदेशसांसद दिपा बिश्वकर्मा, नेपाल रेडक्रस सोसाईटीका दिपक क्षेत्री न्यौपाने, यातायात व्यवसायी नारायण प्रसाद घिमिरे, दिनेश फुल्लेल, ईञ्जिनियर नवसुजित भण्डारी, अधिकारकर्मी रिमा बिसी लगायत रहेको प्रोभिन्स रोडसेफ्टी एलायन्सको सचिवालय गठन गरेको छ ।
कार्यक्रमले नेपाल सरकारले प्रतिवद्धता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गर्दै बिभिन्न १७ बुंदे बुटवल घोषणापत्र समेत जारी गरेको छ ।
प्रतिक्रिया