बुटवल । बुटवलमा जारी चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नाराबाजी भएको छ । आयोजकले खेल परिणाममा पक्षपात गरेको भन्दै सहभागी विद्यालयका विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।
आज शुक्रबार सञ्चालन गरिएको १०० मिटर दौडमा तेस्रो स्थानमा आएका त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थी दिपक थापालाई पक्षपातपूर्ण तरिकाले फल्ड भएको भन्दै जबर्जस्ती कालिका माविका विद्यार्थीलाई विजयी घोषणा गरेको भन्दै विद्यार्थीहरुले नाराबाजी गरेका हुन् ।
दौड प्रतियोगितामा कुनै फल्डबिना तेस्रो स्थान हासिल गरेका विद्यार्थीलाई एम्पायरले विजयी घोषणा गरेरपनि पछि पुनः फल्ड भएको भन्दै कालिकालाई तेस्रो स्थान घोषणा गरेपछि सहभागी विद्यालयका विद्यार्थीहरु आक्रोशित भएका थिए ।
रेकर्ड गरिएको भिडीयोमा पनि कुनै फल्ड नभेटीए पनि कालिकाको प्रभावमा परेर धाँधली गरिएको त्रिभुवन युनाइटेड एकेडेमीका प्रधानाध्यापक रामचन्द्र बस्यालले बताए । आजै सम्पन्न कवड्डी खेलमा १८ वर्ष उमेर समूहभन्दा माथिका विद्यार्थीहरु जर्सीमा भित्रिएपछि त्यहाँपनि केहिबेर तनाव भएको थियो । सहभागी विद्यालयले उमेर समूहको कुरा उठाएपछि कालिकासहित केहि विद्यालयका विद्यार्थीहरु आफै साइड लागेका थिए ।
प्रतियोगितामा धाँधली भएको सम्बन्धमा कालिकाका खेल शिक्षक समेत रहेका रनिङ शिल्ड प्रतियोगिताका उपसंयोजक हरिस वलीले नाराबाजीको विषयमा आफूलाई थाहा नभएको बताए । उनले निर्णायकहरुले गरेको निर्णय नै मान्य हुने भन्दै निर्णायकले गरेको निर्णयलाई सबैले मान्नु पर्ने बताए । अनावश्यक रुपमा कालिका स्कूलको नाम जोड्नु गलत भएको उनले बताए । खेलमा भएका निर्णयमाथि कुनै प्रश्न भए कालिकाको विषय नभई आयोजक र निर्णायकको विषय भएको उनले बताए । यस विषयमा भोलि छलफल गरिने प्रतियोगिताका संयोजक हरी श्रेष्ठले बताए ।
प्रतिक्रिया