ताजा अपडेट »

“सिन्का पाउँरु” मा गीत र गजल

शुक्रबार, ०५ फागुन २०७९

मनको पिँढी मनैको पाली
न्हटुङ्गिने दुःखको उकाली

जीवनका सत्यकथा कमैले भन्छन् । लेखिन्छन् र देखिन्छन् । संसार सत्य वा शक्तिको भरमा अडिएको छ । मन, माया र ममता जीवनका रथ हुन् । मन कहिले पिंढीमा बस्छ, कहिले पालीमा अडिन्छ । मन, घरि उकाली लाग्छ घरि ओराली । जीवन नटुङ्गिने दुःखको उकाली रहेछ । नसकेपनि एकोहोरो चढिरहनुपर्ने ।

गीत, मनको वह हो । कहिले आफैले ,कहिले अरुलाई बकाइँदो रहेछ । मन, मस्तिष्कमा खेल्ने भावना जब शब्दमा उनिएर गीत बन्छ, संगीतको साथ पाउँछ त्यतिबेला खुसीले बयली खेल्छ । गीतले मन भुलाउँछ । मन बहलाउँछ । कहिलेकाँही दुःख बिर्सिने असली बाटो गीत हुँदोरहेछ । पिरती लगाउँदा पनि गीत । प्रेम छुट्दा नि गीत । तिर्सना र तिर्खा मेट्दा नि गीत । बिछोड र मिलनको संगम रहेछ गीत ।
ज्यान गए नि हेईं हुन्छ मन त
परदेशमा को छ र आफन्त

गीतले भावना बोल्छ । गीत साधन हो तरपनि कहिलेकाँही साध्य भइदिन्छ । प्राणजस्तै गीत भइदिन्छ । ज्यान जहाँ गएपनि गीत आफ्नै माटोमा हुर्किरहन्छ, खेलिरहन्छ ।

वनको चरी वनैमा रमाउने
मनको चरी मूलबाटो समाउने

कति अर्थपरक छ यो गीत । घर चरीलाई आफ्नो वन संसार लाग्दो हो । तर मन चरीले मूलबाटो समाएर कता हो कता कावा खाँदै गएपछि वनकी चरीले कसको आशामा जीवन गुजार्ने होला ? यो गीतले भक्कानो छुटाउँछ । मन कसेर बस्न बाध्य बनाउँछ । जीवनको लयमा लय मिसाउँदै जाँदा यो गीत कालजयी बन्न सक्छ ।

धुरु धुरु नरुनु आमाले
एउटा बाटो लगाउँछन् रामले

मानिस कमजोर हुँदै जान्छ, तब उसले अरुको सहारा खोज्छ । चाहे त्यो भौतिक होस् वा भावनात्मक । गीतले भावनाको प्रतिनिधित्व गर्छ । आफ्नो सहारा जीवनमा आफूबाहेक कोही हुनै सक्दैन । तैपनि मानिस उप्परवालाको भरोसामा जीवन गुजार्दै जान्छ । हातखुट्टा बाँधेर बस्ने अनि सफलताको आश कसरी सम्भव होला र ? भाग्यवादी चिन्तनले हामीलाई कहाँ पुराउँदैछ ? हामीले आफूलाई कसरी परिभाषित गर्दैछौं ? गीतको सार त्यही नै हुनुपर्छ ।

दाइ म त परेर भर तिम्रो
व्यर्थै आज बिगारेँ घर तिम्रो

मनकै भावना उरालिएको छ गीतमा । जानी नजानी अरुको बेशी भरपर्दा आफै बिग्रिरहेका छौं । भर पर्नु र घर बिगार्नु सामान्य कुरा होइनन् । हामी नेपालीहरु थोरै समयमा,सामान्य चिनापर्चीमा नै अरुको अधिक विश्वास गर्छौ तर त्यसको परिणाम पछिमात्र भोग्छौं । चट्टानी अडानलाई कसैका कोमल वचनले हिउँजस्तै पगाल्न थालेपछि नदी बन्नुको विकल्प हुँदैन मनको ।

जिन्दगानी लिलामी बजार भो
एउटा मुटु टुक्रेर हजार भो
जिन्दगी जाने हजार हो । माने बजार हो । तर लिलामी बजार भएपछि जीवनको अर्थ बेकार हुँदोरहेछ । जब मानिसको जिन्दगी लिलामी बजारजस्तै हुन थाल्छ अनि एउटा अमूल्य मुटु पनि टुक्रेर हजार बन्दोरहेछ । आफूले आफैलाई धिकार्नु सिवाय अरु के हुन सक्छ र ? जीवन अमूल्य हुन्छ जो एकपटक मिल्दछ तर जीवनलाई ब्यर्थ ठान्नेहरुले लिलामी बजार बनाएका छन् । आफ्नै सग्लो र अग्लो जीवनलाई ध्वस्त बनाएका छन् । मुटुलाई टुक्राटुक्रा बनाएर विक्षिप्त बनाएका छन् ।

म मान्छे थिएँ जिन्दगीले सामान बनायो
घरी यता घरी उता पु¥याउँछ हैरान बनायो

क्या हृदयविदारक छ जिन्दगी,क्या पीडादायिक छ जिन्दगी । जब जिन्दगी निर्जीव सामान बन्छ अनि आफ्नै जीवन आफैलाई बोझ बन्छ । हैरान हुनुबाहेक आफूसँग अरु के पो हुन्छ ? जीवन मार्गदर्शन हो । विचारको अविचलित यात्रा हो । तर आज जीवन,कसैका निम्ति उपहारका सामान बनिरहेको छ । त्यो पनि निर्जीव ।

उल्लेखित गीतका टुक्का र गजलका शेरहरु शीतल कादम्बिनीको पहिलो तर सशक्त उपन्यास सिन्का पाउँरुबाट टिपेर ल्याएको हुँ । उपन्यास लयात्मक र काव्यात्मक छ भन्ने कुरा ती गीत र गजलहरुले सन्देश दिन्छन् । शीतल आफै गीत,गजल र कविताका पौरखी हुन् । सुगन्ध यात्रा,कादम्बिनी,शीतल र निर्झरी उनका सिर्जनात्मक पौरख हुन् ।

उपन्यासले नवीनता दिएको छ । पढ्दा सर्सती रमाइलो लाग्छ,मन छुन्छ । गुरुङ जातिका संस्कार, संस्कृति,रीतिरिवाज, परम्परा र सभ्यताहरु धेरै बुझ्न सकिन्छ । सिन्का पाउँरु सोही जातिको परम्परागत मान्यता र चलन रहेछ । जसको अर्थ ः डिभोर्स, पारपाचुुके, सम्बन्ध विच्छेद । उपन्यासमा सोही विषयको गतिलो उठान र बैठान छ । पात्रहरु सरल तर सशक्त छन् । कथा पहाडबाट तराईमात्र होइन,देशहुँदै विदेशसम्म पुगेको छ । लाहुरेको वीरताको कथा होइन,लाहुरेनीको वियोग र विरहको कथा छ उपन्यासमा । यसले कतै उमाल्छ,कतै पगाल्छ ।

यात्रा पब्लिसिङले हालसालै प्रकाशनमा ल्याएको उक्त उपन्यासले प्रकाशन हुनुेबित्तिकै पुरस्कृत हुने अवसर प्राप्त गरेको थियो । उपन्यासका विविध पक्षका सन्दर्भमा पछि चर्चा गर्दै गरौँला । यतिबेला उपन्यासमा वर्णित मन छुने खालका गुरुङ लवजमा लेखिएका गीत,गजललाई आफ्नै शब्दमा ढाल्न पाउँदा खुसीका आयत बढेका छन् । शीतल दिदीको विरहको उपन्यासमा अलिकति मुस्कान मिसाउन पाउँदा जाती मानेको छु ।