भैरहवा । प्रजातन्त्र दिवसको अवसर पारेर आईतबार भैरहवामा हुने राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ आन्दोलनलाई सम्बोधन गर्न प्रमुख वक्ताको रुपमा दुर्गा प्रसाई आउने भएका छन् ।
कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भलवारीमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै अभियानका रुपन्देही संयोजक रुपसिंह थापाले अभियान मूलतः बित्तीय संस्थाहरुप्रति लक्षित रहने बताए । उनले यसलाई बित्तिय संस्थाहरुले गरेको ज्यादतीका बिरुद्ध बित्तिय आन्दोलनको रुप लिने बताए । यसको साथै नेपालमा राजतन्त्रको पुर्नस्थापना, धर्म निरपेक्षता खारेजी लगायतका मुद्दा प्रति पनि अभियानले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।
‘हालको ब्यवस्थाको कारण बित्तिय संस्थाहरुको चेपुवामा परेका समाजका पिडित नागरिकहरुको पक्षमा आवाज उठाउन अभियानले सहयोग गर्नेछ ।’– सिंहले भने, ‘यस बाहेक हाम्रो मौलिक धर्म तथा संस्कृति जोगाउन र राष्ट्रवाद संरक्षण गर्ने उद्देश्य सहित यो महाअभियान गर्न खोजेका हौ ।’
फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाह प्रमुख अतिथि भई सुरु भएको अभियान दोश्रो कार्यक्रमको रुपमा भैरहवामा हुन गई रहेको हो । यस पछि अभियान बर्दिया, धनगढी, चितवन हुदै २० गते काठमाण्डौंमा गर्ने योजना रहेको अभियानकर्मि ईशा खडकाले जानकारी दिईन ।
आईतबार दिउसो १ बजे भैरहवाको अञ्चलपुरमा आयोजना हुने कार्यक्रममा २० हजार सहभागी हुने आयोजकको दावी छ । यसको लागि सबै तयारी पुरा भएको र कार्यक्रममा सहभागी हुन समेत अपिल गरिएको छ ।
प्रतिक्रिया