२०५२ सालतिर बुटवलमा प्रकट ब्याण्डको नाम खुबै चर्चामा थियो । त्यो ब्याण्डभन्दा नि बढी चर्चा फेरि बटौलीको सेरोफोरोलाई समेटेर लेखिएको लोकपप गीतको थियो ।
तिनाउ खोला बटौलीको छेऊ
आउन माया बसेर माया गाँसिदेऊ ।
यो गीत, सबैका ओठओठमा झुण्डिएका थिए । गीत नसुन्ने सायदै थिए होलान् बटौलीवरिपरिका । गीतले मार्केट पिट्यो । त्यही गीतले उक्त ब्याण्डलाई ईश्वर गुरुङको अफरमा हङकङ पुरायो । गीतको लिड गायक थिए–सुरेश सेन्चुरी । साथमा भक्त, राकेश र भीम थिए । गीत लेख्ने र संगीत भर्नेचाँही सम्शेर गहतराज थिए ।
सुरेशले २०५१ सालमा मुना घताने, बिकसँग विहे गरेका थिए । छोरा र छोरीका बाबा बनिसकेका सुरेश यतिबेला दुईबीसे १५ पुग्दैछन् । कामले सधैं तन्नेरी । जोश, जाँगर र क्रियाशीलता उस्तै १६ वर्षे । भारत इलाहवादको प्रयाग संगीत समितिबाट संगीत प्रभाकर उपाधि हाँसिल गरेका सुरेशले भारतीय संगीत गुरु विश्वनाथ शर्माबाट शास्त्रीय संगीत सिकेका थिए । गिटार भने मदनसिंह नेपालीसँग काठमाडौंमा सिक्ने अवसर पाए । २०४५ सालमा जनज्योति माविबाट एसएलसी उत्तीर्ण गरेका उनले औपचारिक शिक्षा भने त्यतिमा नै टुंगाए ।
पागल प्रेम भिडियो फिल्ममा म तिम्रो नजरमा दोषी भएछु भन्ने आफ्नै गीतमा संगीतमात्र भरेनन् गाएर दुनियाँलाई सुनाए । गायन, वाद्यबादन उनको रुचीको विषय हो । नृत्यमा उनको दख्खल छ । सुगम संगीतमा जोड दिदैं आएका सुरेशले शास्त्रीय संगीतमा गहिरो साधना गरेका छन् । संगीतले आत्मिक आनन्दमात्र होइन शान्त बनाउने उनको भोगाई छ ।
भारतको डीआईडी लिटिल मास्टरमा सर्वोकृष्ट हुने टेरिया फौजाले सुरेशलाई गुरुदक्षिणा स्वरुप प्रख्यातिको शिखर चुमाइन् । अर्जुन कौशल, सुजाता पाण्डेय, साहिर अलि, चिरञ्जीवी भण्डारी लगायतलाई शिष्य बनाउन पाउँदाका खुसीहरु उनका अनुहारमा सजिलै देख्न सकिन्छ । सरिता पन्थी, किशोर विक, प्रेम नेपाली, मेनुका नेपाल, अनु रजाक, सुन्दर गुरुङ र जीवन मिश्रले आफ्नो जीवनमा नयाँ वहार ल्याएको ठान्ने सुरेशले त्यस्ता शिष्यहरुप्रति आफू सधैं कृतज्ञ रहने बताए ।
पहिलो पटक २०४८ सालमा उनले महेश पाल्पालीसँग बुटवलमा नारायण गोपालका केही गीतहरु गाए अनि पाए नगद ७५ रुपैयाँ । बुझेको नगद नोटलाई आमाको हातमा टक्राए । त्यतिबेला आमाको आँखामा खुसीको आँसु हाँसेको थियो । जीवनमा गाएर उनले कमाएको पहिलो कमाई नै त्यही ७५ रुपैयाँ । सुरुसुरुमा रहरका निम्ति गाउने चलनले उनलाई कलाकार बनायो ।
गीत लेख्छन् । संगीत भर्छन् । गायनबाट आफूलाई परिचय दिन्छन् सुरेश । उनकै गीत, संगीतमा भारतीय चल्तीका गायकहरु कुमार सानु, कुमार कान्छाले आवाज भरेका छन् । बुटवलमा रहेर उनले देश, विदेशमा आफूलाई चिनाएका छन् । परिचयको दायरालाई फराकिलो बनाएका छन् गीत, संगीतमार्फत ।
तिलोत्तमा नगरपालिकाले तयार पारेको नगर गानमा उनले संगीत भरेका छन्, सम्भवतः त्यो गान नै नेपालको पहिलो नगर गान हुन सक्छ । बुटवल उपमहानगरपालिकाले तयार पारेको विकासे गीत, गौतमबुद्ध मुटु अस्पतालले बनाएको स्वास्थ्य सम्बन्धी गीतमा संगीत भरेर आफूलाई योग्य एवम् दक्ष संगीतकारका रुपमा नउभ्याएका कहाँ हुन् र ?
गण्डकी प्रदेशको पर्वत जिल्लाबाट बसाइँ सरेर रुपन्देहीको तिलोत्तमा, जानकीनगरमा स्थायी बसोबास गर्दै आएका सुरेशका बाबाले भारत, गोरखपुरको कुँडाघाट लाहुरे क्याम्पमा सुन पसल थापेका थिए । सात दाजुभाइमध्येका सुरेश काइँला हुन् ।
तिम्रो माया, लण्डने नेपाली, कैदीको पत्र र ढाक्रे दाइ फिल्महरुमा सुरेशले संगीत दिएका छन् । तिलोत्तमा साहित्य, कला, संगीत प्रतिष्ठान र टेरिया फौजा फाउण्डेशनका उपाध्यक्ष रहेका उनले स्थानीयस्तरबाट पाउनुपर्ने पुरस्कार, सम्मान र प्रशंसा पाउन बाँकी छैन तर राज्यका माथिल्ला निकायबाट उनको करामतलाई देख्ने कोही भएनन् ।
आफ्नो कृति, क्षमता, प्रतिभा र पौरखबाट चिनिन रुचाउने सुरेश सेन्चुरी बुटवलमा रहेको वागेश्वरी कला तथा संगीत एकेडेमीमा प्रिन्सिपलका रुपमा कार्यरत् छन् । यतिबेला गिटार, हर्मोनियम, तबला र बाँसुरीका धूनमा विद्यार्थीका औंलाहरु दौडाइरहेका छन् । चारदिवारबाट उन्मुक्त भएर आकासमा कावा खाने पंक्षी जस्तै स्वच्छन्द भई गीत, संगीतमार्फत फराकिलो सांगीतिक संसार खोजिरहेका छन् ।
प्रतिक्रिया