बुटवल । काँग्रेस भित्र गुटगत राजनीतिक द्वन्दको प्रभाव यातायात मजदूर तथा व्यवसायी भलाई कोषमा पनि देखिएको छ । यस क्षेत्रकै यातायात मजदुर तथा व्यवसायीहरुको ठूलो संस्था भलाई कोषको २३ औं अधिवेशनमा नयाँ नेतृत्वका लागि उम्मेदवार छनोट गर्ने क्रममा काँग्रेसभित्रको गुटगत द्वन्द छरपस्ट भएको हो ।
काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले आफ्नो गोजिका व्यक्तिलाई नेतृत्वमा पठाउन लागेको भन्दै इतर समूहले बागी उम्मेदवार खडा गरेका छन् । विहिबार आज भलाई कोषको २३ औं अधिवेशनको उद्घाटनसत्र हुदै छ भने भोलि शुक्रबार निर्वाचन हुने कार्यतालिका छ । नयाँ नेतृत्को पदाधिकारीमा पार्टीको जिल्ला समितिबाटै खाँण निकटका २ जना व्यक्तिलाई सिफारिस गरेर पठाएपछि अर्को पक्ष असन्तुष्ट बनेको छ ।
भलाई कोषमा हाल सचिव रहेका प्रकाश नेपालाई कोषाध्यक्ष बनाउने र हाल कोषाध्यक्ष रहेका विजेश न्यौपानेलाई सचिव बनाउने गरी पार्टीबाट सिफारिस भएपछि काँग्रेसका असन्तुष्ट पक्षले बागी उम्मेदवार खडा गरेका छन् । पार्टीबाट सिफारिस भएका दुबै जना काँग्रेस नेता खाँण नजिकका व्यक्तिहरु हुन् । मजदुर नेताहरुलाई नै सल्लाह नगरी एकलौटी ढँगबाट संस्थापन पक्षले निर्णय गरेका कारण आफूहरुको असहमती रहेको काँग्रेसका मजदुर नेता कुमार केसीले बताए । ‘एमालेसँग मिलेर जाने भन्ने केन्द्रदेखि स्थानीय तहसम्मै हाम्रो नीति छैन, तर एकलौटी रुपमा जिल्ला नेतृत्वले निर्णय गराएर अघि बढ्न मिल्छ ?’–नेता केसीले भने, ‘यदी कोषाध्यक्ष र सचिवमा काँग्रेसबाट प्रतिनिधि पठाउने भए नयाँ व्यक्तिलाई पठाउनु पर्यो नि, एउटै व्यक्तिलाई तलमाथि गराएर सिफारिस गरिएको छ यसमा हाम्रो असहमति हो ।’
५ जना पदाधिकारीसहित १२ जना कार्यसमिति रहने कोषको नयाँ नेतृत्वका लागि दलहरु बीच पद बाँडफाँडमा सहमती नजिक पुगे पनि काँग्रेस भित्रकै द्वन्दका कारण चुनावी प्रक्रियामा जाने देखिएको छ । कार्यसमिति सदस्यका १२ पदमा सहमती जुटे पनि अध्यक्ष, महासचिव र कोषाध्यक्ष पदमा निर्वाचन हुने भएको हो ।
अध्यक्ष पदका लागि नेकपा एमाले निकट दिनेश फुल्लेल र काँग्रेसकातर्फबाट डिल बहादुर थापा बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यसैगरी महासचिव पदमा एमालेका तर्फबाट योग गुरुङ (योगेश) र काँग्रेसकातर्फबाट मुक्तिराम खरेलका बीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यसैगरी कोषाध्यक्ष पदमा चिरञ्जिवी पाण्डे र प्रकाश नेपालका बीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । कोषाध्यक्षका दुबै जना उम्मेदवार नेपाली काँग्रेसकोतर्फबाट रहेका छन् । पाण्डे संस्थापन इतरका हुन् भने नेपाल संस्थापन पक्षका हुन् ।
काँग्रेसको भागमा परेको कोषाध्यक्ष र सचिव गरी दुबै पदमा संस्थापन पक्षले आफ्ना व्यक्ति पठाएपछि इतर समूहले अध्यक्ष र महासचिवमा समेत उम्मेदवार खडा गरी चुनावमा जान तयार भएका हुन् । अध्यक्ष उम्मेदवार डिल बहादुर थापा, महासचिव उम्मेदवार मुक्तिराम खरेल र कोषाध्यक्ष उम्मेदवार चिरञ्जिवी पाण्डे काँग्रेसभित्र संस्थापन इतरका व्यक्तिहरु हुन् । पार्टीको निर्णय विपरित गएको भन्दै उनीहरुलाई कारबाही गर्ने नेतृत्वले चेतावनी समेत दिएको बुझिएको छ । कोषको अन्य पदाधिकारी मध्ये उपाध्यक्ष्मा एमालेका छविलाल थापा र सचिवमा विजेश न्यौपाने निर्विरोध भएका छन् । सचिवमा निर्विरोध भएका न्यौपाने यसअघि कोषाध्यक्ष थिए । उनी काँग्रेसभित्र खाँण निकटका व्यक्ति हुन् ।
प्रतिक्रिया